
दाङ/ तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण गर्ने उद्देश्यले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सुरु गरेको सहलगानीअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउन सञ्चालित आयोजना ६ महिना भित्रमा सम्पन्न हुने भएको छ ।
हालसम्म आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडान तथा होमकनेक्सनलगायत काम बाँकी रहेकाले थप ६ महिना समय लाग्ने संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन वर्ष पहिले सुरु भएको उक्त आयोजना पछिल्लो चरणमा निर्माणको जिम्मा पाएका ठेकेदारले निर्माण सामग्रीको मूल्य बढेको भन्दै काम रोकेकाले केही समय ढिलाइ भएको हो ।
अध्यक्ष भण्डारीले भन्नुभयो, ‘हामीले निर्माण कम्पनीलाई काम सञ्चालन गर्न ताकेता गरिरहेका छौँ । सम्भवत अब यथाशीघ्र कामले निरन्तरता पाउने छ ।’
उहाँका अनुसार ५६ करोड ८० लाख २४ हजार रुपैयाँ लागतमा उक्त आयोजना सम्पन्न हुनेगरि काम अघि बढेको हो । आयोजनाअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुर ल्याइने छ ।
हालसम्म पानीका लागि नयाँ पाइप जडान, विभिन्न ठाउँमा एक दर्जन बढी ट्याङ्की निर्माणलगायत काम सम्पन्न भइसकेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । तुलसीपुरमा एउटा भण्डारण ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ । पुराना पाइपलाइनको मर्मत पनि सम्पन्न भइसकेका छन् ।
आयोजना पूरा भएपछि एक सय लिटर प्रति सेकेन्ड पानीको आपूर्ति सम्भव हुने अध्यक्ष भण्डारीले उल्लेख गर्नुभयो । जसले तुलसीपुरस्थित नयाँ बसपार्क, रानीजरुवा, तुलसीपुर उपमहानगरपालिका–६ का विभिन्न गाउँलगायतका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी संस्थाले खानेपानीको प्रमुख मुहान रहेको क्षेत्रहरू मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाख्रे, छरछरे र पहरेमा हुने अनधिकृत उत्खननलाई रोक्न तथा मुहानको संरक्षणका लागि पहल गरिरहेको उपाध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार संस्थाले रक्षाचौर ट्रिटमेन्ट प्लान्टमा रहेको पुरानो बालुवा तथा गिट्टी प्रतिस्थापन गरेको छ ।
उहाँले भन्नुभयो, ‘रक्षाचौर क्षेत्रमा सेडिमेन्टेसन प्रविधिमार्फत पानीको फिल्टरिङ भइरहेको छ । यो प्रविधि भनेको पानीलाई ट्याङ्कीमा केही समय स्थिर राखिन्छ । पानीका कणहरू विस्तारै ट्याङ्कीको फेदमा थुप्रिन्छन् । अनि माथिल्लो भागको सफा पानी अर्को चरणमा पठाउने गरिन्छ ।’ यो कार्य पूरा भइसकेकाले अब वर्षायाममा धमिलो पानीको समस्या नहुने उहाँले बताउनुभयो ।
संस्थाले विभिन्न स्थानमा रहेका करिब एक सय खानेपानी वितरण च्याम्बरहरू निर्माण गरी पूर्ण रूपमा सुरक्षित बनाएको छ । जिआइएस प्रविधि तथा मोबाइल एप प्रणाली लागू गरेर सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कार्यअघि बढाएको उपाध्यक्ष शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी दिनमा स्मार्ट मिटर जडान गरी उपभोक्तालाई पारदर्शी बिलिङ प्रणाली उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
संस्थाले करिब १२ हजार धारामार्फत ७५ हजार बढी जनसङ्ख्यालाई खानेपानीको सहज व्यवस्थापन गरिरहेको छ । बबई नदीको पानी लिफ्टिङ गरेर कहिले आउँछ भन्ने प्रतिक्षामा नागरिक छन् । बढ्दो गर्मीका कारण खानेपानीका मुहान सुक्न थालेपछि पानी वितरणमा समस्या भइरहेको छ ।
तुलसीपुर क्षेत्रका केही गाउँका धारामा पानी आउन छाडेपछि खानेपानी संस्थाले ट्याङ्करबाट बोकाएर दिनहुँ निःशुल्क पानी वितरण गर्दै आएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस