आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

नेपालका तीन विश्वविद्यालयले प्राज्ञिक सहकार्य गर्ने


  • आफ्नै खबर
  • २०८२ चैत्र २६, बिहिबार १ महिना अघि
  • १४० पाठक संख्या
  • कञ्चनपुर/  नेपालका तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिपक्षीय समझदारी भएको हो ।

    सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमका अनुसार विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा तीनै विश्वविद्यालयका उपकुलपतिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमले सहमतिपत्रमा हस्ताक्षर गरेको बमले जानकारी दिनुभयो ।

    कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राडा विनोद लेखकले यो समझदारीले विश्वविद्यालयबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो

    ‘उच्च प्राज्ञिक जनशक्तिको अभावलाई डिजिटल माध्यमबाट पूर्ति गर्दै दक्ष जनशक्ति व्यवस्थापनमा यो सम्झौता कोशेढुङ्गा सावित हुन्छ’, उहाँले भन्नुभयो, ‘यो समझदारीले शिक्षक तथा विद्यार्थीहरूको अध्ययन र अनुसन्धान कार्यलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरेका छौँ ।’

    तीन विश्वविद्यालयबीच शैक्षिक स्रोत, अनुसन्धान, प्रविधि र अनुभव आदानप्रदानलाई संस्थागत गर्ने लक्ष्य राखेको छ ।

    विशेषगरी ‘डिजिटल प्लेटफर्म’ मार्फत संयुक्त कक्षा सञ्चालन, अनुसन्धान सहकार्य र प्राध्यापकहरूको साझा उपयोगजस्ता कार्यक्रम अघि बढाइने छ । यो सहकार्यले उच्च शिक्षामा गुणस्तरवृद्धि, स्रोतको प्रभावकारी उपयोग तथा आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीको विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु