काठमाडौं - काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको शङ्खरापुर नगरपालिका २०७१ सालमा १५ वटा वडामा विभाजन गरिएको भएपनि २०७३ सालमा भएका स्थानीय तहको पुनर्संरचना पश्चात साबिकको इन्द्रायणी, पुखुलाछी, बज्रयोगिनी, लप्सेफेदी, सुनटोल र नाङ्लेभारे गाविस मिलाएर ९ वडा रहेको नगरपालिका बनेको हो ।
यो नगरपालिका ऐतिहासिक रुपमा करिव ३३०० वर्ष अगाडि जोगदेव बज्राचार्यले कलिगत सम्बत १८०१ मा योजना बनाई शङ्खको आकारमा साँखु सहरको परिकल्पना गरी बनाएको हुँदा यो नगरको नाम शङ्खरापुर नगरपालिका राखिएको हो । कुल ६०.२१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगरपालिका भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे तथा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकासँग जोडिएको छ । नेपालको राजधानी रहेको जिल्लामा रहेको नगरपालिका भए पनि ग्रामीण बस्ती र भौगोलिक रुपमा विकट रहेको यस नगरको मुख्य स्थानमा ऐतिहासिक साँखु शहर तथा बज्रयोगिनी र शालिनदी रहेका छन् । नगरपालिकाको कुल जनसङ्ख्या २७ हजार रहेको छ ।
तामाङ, नेवार, ब्राम्हण, क्षेत्री गुरुङलगायत जातजाति बसोबास गर्ने यस नगरमा बज्रयोगिनी जात्रा, शालिनदी मेला, मणिचुड मेला, माधव नारायण स्वस्थानी व्रत, दशैं जात्रा, इन्द्रायणी जात्रा तथा अन्य जात्रा प्रमुख संस्कृति मानिन्छ ।
इतिहासमा शङ्खरापुर
‘साँ दयाँ क्वे’ अर्थात् तिब्बतमुनिको देश भनेर पहिले यस नगरपालिकाको साँखु शहरलाई चिनिन्थ्यो । ऐतिहासिक रुपमा यो ठाउँलाई पहिले साँक्व भनिन्थ्यो, पछि बेलायतीहरूले नक्सा बनाउँदा साँखु भनेर बनाए भन्ने मान्यता रहेको छ । तिब्बती सम्राट स्रङचङ गम्पो र भृकुटीको बिहे पनि साँखुको बज्रयोगिनी मन्दिरमा भएको बताइन्छ । छैटौं शताब्दीतिर भृकुटीसँग बिहे गरेपछि स्रङचङ गम्पोले दाइजोमा बौद्धधर्म यहीँबाट लिएर गएको मान्यता रहँदै आएको छ । साथमा कालिगड पनि लिएर गएका थिए । बाटोमा जुन ठाउँमा वास बस्यो, त्यहीँ गुम्बा बनाउँदै गएका थिए ।
साँखु बजारका चार ढोका
साँखु बजारमा चार ढोका छन् । यी ४ ढोकाको छुट्टै ऐतिहासिक महत्त्व रहेको छ । हरेक ढोकाको फरक अर्थ र काम छन् । उत्तर पश्चिमको देव ढ्वाखा नामको ढोका देउता ल्याउन र लैजान मात्र प्रयोग हुन्छ । विशेषगरी, जात्राको समयमा देवता हिँडाइन्छ । उत्तरपूर्वको सिढ्वाखा नामको ढोकावाट मुर्दा लैजानेबाहेक अरू काम गर्न बर्जित छ । दक्षिण पश्चिमको भौ ढ्वाखा नामको ढोकावाट दुलहीलाई स्वागत गरिन्छ । दक्षिणपूर्वको म्हे ढ्वाखाबाट छोरी अन्माएर पठाइन्छ । चार ढोकाभित्रको बस्तीमा लगभग हजार घर छन् । यो ठाउँलाई हजार घरको देश पनि भनिने गरिएको यहाँका बुद्धिजीवीहरुको भनाइ छ । साँखुवासीको जात्रा मनाउने तरिका आफ्नै किसिमको छ । साँखुको परम्परा पाटन र भक्तपुरभन्दा फरक रहेको छ । जात्राका वेला ऋण उठाउन पाइन्न । झगडा गर्न पनि पाइन्न ।
साँखुलाई स्कन्द पुराणले ‘लावण्य देश’ पनि भनेको छ । साँखुको निर्माण विदुषी बज्रयोगिनीले गरेको विश्वास छ । जुन कुरा नेवारी मनिशैल महावदान (बज्रयोगिनीको उत्पत्तिको इतिहास)मा उल्लेख छ । मनिशैल महावदानमा भनिएको छ, ‘शङ्खरापुर बन्नुभन्दा अलिमाथि बज्रयोगिनी विदुषी बस्ने ठाउँमा एक मानसपुत्र जन्मिए । बज्रयोगिनीले राजालाई दिने सबै कुरा दिँदै आइन् र राज्य समृद्ध र मजबुत बनाउने काम पनि भयो ।’ त्यही समयमा बनेको राजकुलो अहिलेसम्म पनि छ । पृथ्वीनारायण शाहको समयमा कुलो हेर्नेलाई पनेरू भनिन्थ्यो । साँखुमा अहिले पनि कुलो हेर्ने कुलैया छन् । पानी पहिले हरेक घरको सामुन्ने पुग्थ्यो । भूकम्पपछि भने धेरै ठाउँमा कुलो बिग्रियो ।
साँखुमा आठको अनौठो संयोग पनि छ । यहाँ आठवटा टोल, आठवटा बाटो, आठवटा कुलो, आठवटा डबली, आठवटा विहार, अष्टभैरव र अष्टविनायक छन् । बज्रयोगिनीका आठ बहिनी थिए । उनीहरूलाई चारैतिर राखेकाले सबै आठ बनाइएको विश्वास छ । यसरी बज्रयोगिनीले सबै बन्दोबस्त गरेपछि देशको नाम शङ्खरापुर र राजाको नाम शङ्खदेव राखिएको मनिशैलमा लेखिएको छ ।
शङ्खदेव एक भाइ मात्र थिए । उनका एक मात्र छोरा मानदेव भिक्षु बने । उनी बज्रयोगिनीमै गएर लीन भएको विश्वास गरिन्छ । त्यसपछि राजगद्दी खाली भयो । अहिले पनि साँखुवासी प्रधान चुन्छन् । माधवनारायण भगवानलाई जसले बोक्छ, उही प्रधान चुनिन्छ । राजाको प्रतिनिधि भएर बस्छ । माधव नारायण स्वस्थानी व्रत एक महिना सम्म शालिनदीमा चल्ने मेला हो । माधवनारायणलाई पानीमा डुबाएपछि व्रत सुरु हुन्छ । एक महिनासम्म माधवनारायण शालिनदीमा बस्ने विश्वासका साथी त्यहीँ राख्ने परम्परा छ ।
प्रतिक्रिया दिनुहोस