१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

लेक भ्यू पार्कमा अजिमाँ जात्रा

नियात्रा



  • आफ्नै खबर
  • ६ जेठ २०८१ आईतबार (६ महिना अघि)
  • पाठक संख्या ६६०
  • भीमनारायण श्रेष्ठ

    “माँ जात्रा हेर्न जाने हो ?” विनयले शान्तालाई सोधे ।

    “जात्रा हेर्ने रे ! कहाँ ?” अचम्म मान्दै शान्ताले सोधिन् ।

    “के को जात्रा ? कहाँ जाने ?” जात्रा भन्नासाथ मेरो मनमा कौतूहल जाग्यो । उत्सुकताकासाथ मैले पनि पुत्र विनयसँग सोधेँ ।

    “अजिमाँ द्यः को जात्रा । लेक भ्यू पार्कमा” पुत्रबधु निभाले भनिन् । श्रृष्टिले उनलाई खबर गरेकी रहिछन् । श्रृष्टि निभाकी मिल्ने साथी हुन् ।

    जात्रा त पक्का पनि नेवाः समुदायले नै गर्न लागेको होला भन्ने सोचेँ। जात्रा भनेपछि सानैदेखि हुरुक्कै हुन्थेँ म । अहिले त झन् अमेरिकामा जात्रा हेर्न पाउने भएपछि किन पछि पर्थें र । एकैछिनमा हामी (म, पत्नी - शान्ता, विनय, निभा, र दुई वर्षीय नातिनी नील) जात्रा हेर्न तयार भयौँ ।

    विनयले कार हाँकेर अगि बढ्यो । यतिखेर हामी टेक्सास राज्यको डेनटन काउन्टीअन्तर्गतको लेविसभिल्ल नगरमा छौं । हामी बसेको ठाउँबाट त्यो पार्क १६ माइलको दूरीमा छ । उक्त दूरी पार गर्न २५ मिनेट जति समय लाग्दोरहेछ । २०–३० माइलको बाटो भनेको यहाँको लागि नजिकैको गन्तव्य मानिन्छ ।

    यत्तिकैमा नेवाः समुदायको सांस्कृतिक जात्रा झलक्क सम्झेँ । तर यहाँ कसले, केको अवसरमा जात्रा गरिँदै रहेछ भन्ने सोचेँ । अजिमाँ द्यः जात्रा भनेकोले गैह्र नेवाः समुदायको जात्रा त पक्कै हैन होला भन्ने अनुमान लगाएँ । जे भए पनि नेपाली संस्कृति विश्वभर फैलिनु खुसीको कुरा हो । तर आजको जात्रा कस्तो होला ?  उत्सुक थिएँ ।

    काठमाडौंमा पाहाँचःह्रे र बालाचःह्रेमा अजिमाँ द्यःको भव्य पूजाआजा गरिन्छ । खटमा राखेर जात्रा पनि गरिन्छ । यहाँ पनि त्यस्तै दिन पारेर अजिमाँ द्यः जात्रा गर्न लागेको हो कि भन्ने मनमा लाग्यो । अहिले पाहाँचःह्रे आउने समय पनि हो, तर आज पाहाँचःह्रे त हैन ! हत्पत मोबाइल झिकेर पात्रो हेर्न थालेँ । पाहाँचःह्रे आउन त अझै ७-८ दिन बाँकी नै रहेछ । अनि कुन उपलक्ष्यमा जात्रा गर्न लागेका रहेछन् भन्ने मनमा खुलदुली बढ्यो ।

    मेरो मानसपटलमा लिच्छवी राजा गुण्कामदेवले कलिगत ३९२५ मा कान्तिपुर देश बनाउँदा स्थापना गरेका च्याम्ह अजिमाँ द्यः (अष्टमातृकाहरु) घुम्न थाले । खड्ग आकारआउने गरी परिधि बनाइएको कान्तिपुरको सुरक्षा प्रदान गर्न तान्त्रिक शक्तिबाट विभिन्न दिशामाच्याम्ह अजिमाँ प्रतिष्ठापन गरेका थिए । उनको पालादेखि नै च्याम्ह अजिमाँ प्रसिद्ध भएको हो । आठ दिशामा प्रतिष्ठापित शक्तिपीठ एक एक गरी सम्झिनथालेँ ।

    उत्तर पूर्वदिशा (ईशान कोण) को सुरक्षाका लागि स्थापित ब्रह्मायणी शक्तिपीठलाई ‘पासिक्वं अजिमाँ’ भनिन्छ । यो तीनधारा पाठशाला पछाडि रहेको छ । त्यस्तै पूर्व दिशामा अवस्थित माहेश्वरी शक्तिपीठलाई ‘लुँमरि अजिमाँः’भनिन्छ । सिंहदरवार अगाडिको भद्रकालीलाई नै लुँमरि अजिमाँ भनिन्छ ।

    दक्षिणपूर्व (आग्नेय कोण) को दिशा सुरक्षाका लागि स्थापित कौमारी शक्तिपीठलाई ‘फिब्व अजिमाँ’ भनिन्छ । यो अजिमा नेपाली सैनिक मुख्यालय परिसरभित्र परेको छ । त्यस्तै दक्षिण दिशाको सुरक्षा गर्न स्थापित वैष्णवी शक्तिपीठलाई ‘नै अजिमाँ’ भनिन्छ । यो टेकुस्थित पचलीमा रहेको छ ।

    दक्षिणपश्चिम (नैऋत्य कोण)को सुरक्षा गर्न स्थापित इन्द्रायणी शक्तिपीठलाई ‘कंग अजिमाँ’ भनिन्छ । यो विष्णुमतीको किनारामा अवस्थित छ । त्यस्तै पश्चिम दिशाको सुरक्षा गर्ने बाराही शक्तिपीठलाई ‘लुँति अजिमाँ’ भनिन्छ ।

    उत्तरपश्चिम (वायव्य कोण) को सुरक्षा गर्न स्थापित चामुण्डा शक्तिपीठलाई ‘थँबही अजिमाँ’ भनिन्छ । त्यस्तै उत्तर दिशामा अवस्थित महालक्ष्मी शक्तिपीठलाई ‘चन्द्रलखु अजिमाँ’ भनिन्छ । यो नारायणहिटी राजदरवारभित्र रहेको छ ।

    यसरी खड्ग आकारको परिधिमा अवस्थित कान्तिपुरलाई तान्त्रिक शक्तिबाट सुरक्षा प्रदान गरिरहेका च्याम्ह अजिमाँको आफ्नै मौलिक संस्कृति र महत्व छ । अजिमाँको गोप्य रुपमा गरिने तान्त्रिक शक्तिपूजाले शक्ति उत्पन्न हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    अहो ! यतिका अजिमाँमध्ये यहाँ जात्रा गर्न लागेको अजिमाँ कुन हो त ? मनमा अनेक तर्कना पैदा हुन थाल्यो । जे भएपनि काठमाडौंका स्वबासी नेवाःहरु जहाँ जता गएपनि आफ्नो संस्कृति साथैमा लिएर जाने गर्छन् भन्ने सुनेको थिएँ । त्यसैले यहाँ पनि अजिमाँ द्यः जात्रा गरेर आफ्नो सांस्कृतिक सम्पदा उजागर गर्न लागेको पाउँदा मन प्रफुल्लित छ ।

    काठमाडौं उपत्यका मूलथलो भएका नेवाः समुदाय एउटा भाषिक समुदाय मात्र होइन । विकसित सिङ्गो समाज पनि हो । सांस्कृतिक रुपले अति सम्पन्न नेवाः समुदायको आफ्नै भाषा र लिपि छ । आफ्नै मौलिक कला, संस्कृति र सांस्कृतिक सम्पदा पनि छ । यसैले विभिन्न माध्यमबाट नेवाः समुदायको कला, संस्कृति र सांस्कृतिक पहिचान विश्वभर उजागर हुँर्दै आएको छ ।

    आज मार्च महिनाको अन्तिम शनिवार ३० तारिख । हलिं (विश्व) नेवाः अर्गनाइजेसन दिवस भनेर थाहा भएकै हो । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । यो संस्था विश्वको कुनाकाप्चामा समेत फैलिसकेको छ । अमेरिकाको वासिङ्टन डिसी,  सियाटल, न्यूयोर्क,  शिकागो, टेक्सास,  मेरिल्याण्ड लगायत अन्य राज्य र विभिन्न मुलुकहरुमा समेत विस्तार भइसकेको छ ।

    सोही दिवसको उपलक्ष्यमा कार्यक्रम गर्न लागेको होला भनेर मनमनै सोच्दै थिएँ । हामी अपराह्न २.३० बजेतिर लेक भ्यू पार्कमा पुग्यौं । त्यहाँ गाडी पार्क गर्ने ठाउँ पाउन नै मुश्किल भयो । भाग्यले एउटा ठाउँ खाली भेट्टायौं ।

    गाडीबाट ओर्लनासाथ विनयले रिजेनलाई फोन गर्‍यो । उनीहरु त नजिकै बसिरहेका रहेछन् । रिजेन, श्रृष्टि (रिजेनकी पत्नी) र इनाया (छोरी–४ वर्ष) संग भेट भयो । उनीहरु विनय र निभाका साथीहरु हुन् । साथै रिजेनका अरु साथीहरुसँग पनि चिनापर्ची भयो । तर मेरो कौतूहल साम्य भएको थिएन ।

    लेक भ्यू पार्कमा हामी एक हप्ता अघिमात्र गएका हौँ । त्यो दिन मौसम सफा नभएकोले घामको झुल्को पनि देख्न पाइएन । त्यतिखेर साँझ पर्न लागिसकेको थियो । खासै मान्छेहरुको चहलपहल पनि देखिएको थिएन । हामी त्यहाँ पुग्दा तालको सिरेटो जमगाइसकेको पायौं । त्यहाँको स्याँठ खानुभन्दा फर्कनु नै वेस भनेर हामी तुरुन्तै फर्केका थियौं ।

    अहिले झलमल्ल घाम लागिरहेको थियो । टेक्सास राज्यको ग्रेपभाइन नगर अन्तर्गत पर्ने लेक ठूलै रहेछ । उक्त जलाशयको किनारामा अवस्थित त्यो पार्कको नाउँ लेक भ्यू पार्क रहेछ । खुल्ला मैदानमा एउटा बाल उद्यान पनि रहेछ । मिराकल प्ले ग्राउन्ड नाउँको उक्त पार्कको खेलमैदानको संरचना ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको निमित्त बनाएको रहेछ ।

    पार्कमा वनभोजमा रमाउनेहरुका लागि निर्दिष्ट ठाउँको पनि व्यवस्था गरेको छ । पार्कसँगै जोडिएको जङ्गलमा सफर गरेर रमाउनेहरुका लागि पैदलपथ (हाइकिङ ट्रेल) पनि रहेछ । जङ्गल र जलाशयको छेउमा अवस्थित लेक भ्यू पार्क व्यवस्थित र रमणीय थियो ।

    प्राकृतिक सौन्दर्यमा रमाउँनेहरुका लागि मनग्गे ठाउँ रहेछ । जलयात्रामा रमाउनेका लागि नौकाविहार गर्न पनि पाइन्छ । स्वचालित डुङ्गा आफै हाँकेर मनग्गे सफर गर्नेहरु पनि थिए । जे होस् प्रकृतिसँग रमाउनका लागि यथेष्ट वातावरण तयार रहेछ ।

    समुद्री सतहबाट ५७२ फिटको उचाइमा अवस्थित सो जलाशय ४६.२४ वर्गमाइल क्षेत्रफलमा फैलिएको छ । ह्वाइट बास, ब्लु क्याटफिस, स्पोट बास, लार्गमाउथ बास, च्यानल क्याटफिस आदि प्रकारका माछाहरुको लागि त्यो जलाशय प्रख्यात रहेछ ।

    बाल उद्यानमा साना नानीहरुको लागि २ वटा पिङ टोकरी जस्तै बस्न मिल्ने बनाएका छन । अरु दुईवटा पिङ भने अलि ठूला केटाकेटीका लागि सामान्य खालका बनाएका छन् । ती चारै वटा पिङ लस्करै राखेका छन् । चिप्लेटी र अन्य खेल संरचनामा रमाउनेहरु पनि छन् । त्यहाँ आउने केटाकेटीहरु मज्जाले रमाइरहेका थिए ।

    बाल उद्यानमा नीलः र इनाया निकै रमाए । बाल सुलभ चञ्चलता कति हिस्सी परेको ! उनीहरु खेल्ने संरचना चिम्लेटी, भर्याङ, पिङ र खुल्ला मैदान भएकाले मनग्गे रमाए । यति भएपछि उनीहरुलाई पुगिहाल्यो । कहिले यता कहिले उताको दौड । उफ्री उफ्री खेल्न पाएकाले खुसीको सीमा नै थिएन । अझ पिङमा झुल्न पाएकोले कति खुसी । नील पिङ छोड्न मानेकै होइन । बल्ल फकाएपछि मात्र पिङ छोडिन् । 

    जात्राको लागि तयार गरिराखेको खट वरिपरि घुइँचो भइरहेको थियो । अजिमाँले दर्शनार्थ बोलाइरहनु भएको भान हुन्थ्यो । रिजेन भेट्नासाथ हत्तारिँदै खट नजिकै पुगेँ । दुई हात जोड्दै नमन गरेँ अजिमाँलाई । खटभित्र सिंहासनमा विराजमान अजिमाँले मुस्कुराउँदै आशिष दिनुभएको भान भयो । अजिमाँको फोटो खिच्न “मिल्छ” भन्ने जानकारी पाउनासाथ मोबाइल झिकेर दुई चार वटा फोटो खिचेँ ।

    पहेँलो धातुले मोडिएको उक्त खटमा ३ वटा गजूर राखेका छन् । अजिमाँको ठूलो मूर्ति र सिंहासन समेत धातुबाट बनाएको रहेछ । अजिमाँको मूर्ति र सिंहासन उत्कृष्ट कलाकृत्तिको नमूना नै मान्नु पर्छ। भीषण आकृतिका अजिमाँ आठै हातमा विभिन्न हातहतियारबाट सुसज्जित थिइन्  । अझ अजिमाँको दायाँतिर गणेशसहित ५ वटा र बायाँतिर अर्को ५ वटागरी १० वटा मूर्तिहरु पनि राखिएका थिए। खट बोकेर जात्रा गर्न मिल्ने गरी दायाँबायाँ नोल बाँधिएका थिए ।

    अझैसम्म पनि खटमा विराजमान अजिमाँ द्यः अष्टमातृका मध्ये कुन होला भन्ने जिज्ञासा साम्य हुनसकेको छैन । अजिमाँको प्रतिमूर्ति हेरेर थाहा पाउन सकिएन । आज विश्व नेवाः अर्गनाइजेशनको स्थापना दिवसको अवसरमा अजिमाँ द्यः को पनि जात्रा गर्न लागेका रहेछन् । त्यहाँ वर्ल्ड नेवा अर्गनाइजेसन, युएसए लेखेको एउटा व्यानर पनि टाँगिएको थियो । तर कुन अजिमाँ भनेर कहीँ पनि संकेत गरेको देखिएन ।

    मेरो मनको उत्कण्ठा अझैसम्म ज्युँका त्युँ नै थियो। यही माहोलमा अकस्मात काठमाडौं न्ह्योखा निवासी बासव जुजु राजोपाध्यायसँग चिनापर्ची भयो । उहाँ नेवाः संस्कृतिका जानकार व्यक्ति हुनुहुँदो रहेछ । उहाँले नेवाः संस्कृतिको बारेमा तयार पारेको भिडियो पोष्ट फेसबुकमा हेरेको पनि थिएँ । त्यसैले उहाँबाट मेरो कौतूहल मेटिने भो भनेर ढुकक भएँ । यहाँका नेवाः समुदायले परम्परागत सांस्कृतिक पूजाआजा गराउन उहाँलाई बोलाएका रहेछन् ।

    कुराकानीको क्रममा उहाँले “यो ङ्यत अजिमाँ द्यःहो, पहिलो पटक यहाँ जात्रा गर्न लागेकोहो” भन्नु भयो । बल्ल मेरो मनको उत्कण्ठा साम्य हुन पुग्यो । काठमाडौं ङ्यत (नरदेवी) स्थित अजिमाँलाई ङ्यतभुलु अजिमाँ र श्वेतकाली पनि भनिन्छ। पाहँचःह्रेमा विशेष पूजाआजा र जात्रा हुन्छ । मातृका गणसहित नाच पनि हुन्छ भन्ने कुरा मलाई थाहा थियो ।

    सानो छँदा बुबाले पाहाँचःह्रेमा नरदेवीको चोकमा मलाई पिठ्यूँमा बोकेर अजिमाँको नाच देखाउनु भएको थियो । अहिलेसम्म पनि बालापनको सम्झना ताजै छ । बुबाको मामाघर नरदेवीमा भएकोले हामी जात्रा हेर्न गएका थियौं । नरदेवीस्थित आयुर्वेद अस्पतालकै लाइनमा पूर्वतर्फ पर्छ मामा बाजेको घर । वहाँका नातिहरु प्रदीप र मञ्जिल दाइहरुले सायद अहिले चिन्नु हुन्न ।

    उहाँलाई अलि हतार पनि भइसकेको रहेछ । आजै मेरिल्याण्ड जाने हवाई टिकट निश्चित रहेछ । छोटो कुराकानीकै क्रममा उहाँलाई भावलहर (कविता सङ्ग्रह) र चन्द्रागिरि अनुशीलन (सांस्कृतिक पक्ष) गरी दुई वटा पुस्तक हस्तान्तरण गर्न भ्याइयो । उहाँ पनि खुसी हुनुभयो । फोनमा कुरा गर्ने सहमतिमा छुट्टियौं ।

    जात्रा आयोजक परिवारका सदस्यहरु खुसीले रमाउँदै भोज खान थाले । आफ्नै गाउँमा होलीमा साथीहरुसँग चउरमा लस्करै बसेर भोज खाएको सम्झेँ । कति रमाइलो थियो,  त्यसरी चउरमा बसेर भोज खाँदा । अरु बेला साथीहरुसँग पिकनिकमा जाँदा पनि त्यति रमाइलो हुँदैनथ्यो । त्यसैले नेवाः भोजको परिकारमा लस्करै बसेर भोज खान नलोभिने को होला र ?

    एकैछिनमा धिमे बाजाको तालमा खट जात्रा सुरु भयो । केटीहरुले धिमे बाजा बजाएको साह्रै राम्रो लाग्यो । धिमेबाजाको तालमा खट जात्रा रमाइलै लाग्यो । यहाँ ङ्यत अजिमाँको जात्रा हेर्ने साइत जुरकोमा सबैप्रति हार्दिक नमन गरेँ ।

    शनिवारको दिन भएकोले होला, चउरभरि नै बिदा मनाउनेहरुको चहलपहल थियो । जात्राको रथ पनि बिसाइयो । त्यो रथ लिएर जानको लागि एउटा ट्रक पनि तयार रहेछ । सजिलो उपाय गरेर खटलाई चक्का जडित गाडामा गुडाएर गाडीभित्र हाले । गन्तव्यमा लिएर जानको लागि अपनाएको उपाय राम्रै लाग्यो । तर ती खट र अजिमाँ द्यः कहाँ राख्दा हुन् थाहा भएन ।

    जात्रा पनि सकियो । विस्तारै चहलपहल पनि पातलिँदै गयो । जलाशय किनारामा अवस्थित पार्क भएकाले समय ढल्किँदै गएपछि हावाको बहाव पनि बढ्दै गयो । हामी पनि फर्कने तर्खरमा लाग्यौं । जात्राको अवसरमा हाम्रैमा रमाइलोका साथ खाजा खाने भनेर रिजेनको परिवारसहित त्यहाँबाट फर्क्यौं । विनयले गाडी हाँक्दै लेउइसभिल स्थित गन्तब्यमा पुर्यायो । अजिमाँ जात्राको उपलक्ष्यमा मिठो परिकार खाँदै हामी पनि रमायौँ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?