सिर्जना शक्ति व्यवहारमा उतार्न वा शक्ति र सामर्थ्यलाई प्रयोगमा ल्याउन दबाबको पनि आवश्यकता पर्दो रहेछ । आफैँमा निहित वा अन्तर्गर्भित शक्ति प्रदर्शन गर्न
नसकेर उल्टै अरुको आश्रय खोजिरहेका मानिसहरू पनि देखिएका छन् । कतिपय मानिसहरू आफूले आफैंलाई बुझ्न नसकेर भड्किरहेका पनि छन् । केही बुझेर पनि बुझाइलाई व्यवहारमा उतार्न विवादित भइएला भनेर खुम्चिएका पनि छन् । कोही भने क्षमता प्रदर्शन गरी शान्त र निष्कृय जीवन बिताउन लालायित पनि देखिन्छन् ।
महेन्द्र चालिसे के थिए वा छन् ? उनले आफूलाई चिन्ने वा समाजमा कसोगरी चिनिने भनेर सूक्ष्म अध्ययन पनि गरेकै छन् ! तथापि उनलाई चिनिनकै लागि सूत्र पहिल्याउनु आवश्यक छैन । पिताको नामबाट मात्र होइन, उनी स्वयं चिनिइसकेका छन् । बाल साहित्य लेखनमा आफ्नो अव्बलपन प्रस्तुत गरिसकेका छन् ।
देश विदेश घुमेर वा यात्रा निबन्ध लेखेरै यात्रा साहित्यको क्षेत्रमा परिचित भइसकेका छन् । यसकारण पनि उनलाई नाम कमाउनका लागि प्रदर्शन गर्नैपर्ने आवश्यकता छैन । चर्चा बटुल्नका लागि चालबाजी चलाउनुपर्ने पनि आवश्यकता छैन ।
हो, वास्तवमा प्रखर समालोचक युवराज मैनालीले नयाँ सोचको हावा कानमा नभरिदिएको भए महेन्द्रको मस्तिष्कमा यस्तो सोच आउने थियो कि थिएन ? बद्री पौडेलले मैनालीको बोलीमा लोली नमिलाएको भए उत्साहको आवेग अकासिने थियो कि थिएन ? प्रतीक र आलोकहरूले बारम्बार चिमोटिनरहेको भए उनको मनमा बेचैनीले सताउने थियो कि थिएन ?
जाउँ न त जाउँ, तपाइँकी माताको जन्मगाउँ र तपाईँका पिताले कृतिगत कच्चा पदार्थ संकलन गरेको ठाउँ हेर्न पनि श्रीमतीले कचकच नगरेको भए महेन्द्रको हृदयको आवाज झङ्कृत हुने थियो कि थिएन थाहा छैन ! सायद यी सबैको संयोजनले एकीकृत शक्तिको रूप लियो र यात्राको विस्तृत योजना बन्यो होला भन्ने अड्कल काट्दैछु म ।
पुस १३ गते बिहानको सात बजे चाबहिल चोकको चौबाटोमा उभिनु कम चुनौतीपूर्ण थिएन, ७० नाघेको रामप्रसादलाई । तर म भाग्यमानी पात्र थिएँ त्यस यात्राको । घरबाट निस्किएर पाँचै मिनेटमा चाबहिल चोकमा पुग्ने पात्र म भन्दा अर्को थिएन । त्यसै भएर मैले प्रस्थान गर्नुभन्दा ५ मिनेट अघि फोन गर्नु भनेर प्रतीक घिमिरेलाई अह्राई सिरकमा गुटमुटिएर समयको प्रतीक्षा गरिरहेको थिए । यो मेरो लागि सुखद संयोगै थियो ।
***********
म चाबहिल चोक पुग्दा रोचक घिमिरे, के के कर्माचार्य, विजय चालिसे, श्रीओम् श्रेष्ठ ‘रोदन’, किशोर पहाडी, देविका तिमल्सिना, गोपी मैनाली, ठाकुर शर्मा भण्डारी, वेदमणि घिमिरे, बाजुराम पौडेल, शङ्कर भारती, विप्लव ढकाल, प्रोल्लास सिन्धुलीय, कात्यायन, विनोद नेपाल, सिताराम उप्रेतीलगायत मेरा अग्रज एवं अनुज पुस्ताका साहित्यिक मित्रहरूको सघन उपस्थिति भइसकेको थियो
हामीलाई बोकेर गन्तव्यमा पुऱ्याउनका लागि ३ वटा बस र ३ वटै कार प्रतीक्षारत थिए । म विजयजी, श्रीधर, किशोरसंगै गन्तव्यसम्मका साथीमा परें ।
हामीलाई बोकेको सवारी साधनहरू साँखुको सालिनदी नाघेर पालुबारी, कात्तिके हुँदै नगरकोटको डाँडोका पुगेका थिए । त्यो तेर्सो उकालो बाटो, त्यो जङ्गल, त्यो बस्ती, ती घुम्ती र मोडहरू मैले १८ वर्षअघि देखेको थिएँ । त्यसवेला २ वटा मोटरसाइकलमा सवार ४ जना साथीहरू काभ्रेको नालाबाट उकालो लागेर नगरकोट पुगेका थियौं र त्यहाँबाट ओरालो झरेर सालिनदी ओर्लेका थियौँ । त्यसवेला ट्रयाक मात्र खोलिएको थियो । ४ पाँग्रे साधन गुड्ने अवस्थानै थिएन ।
तर, अहिले भने साँखु नगरकोट बससेवा नै चल्दोरहेछ । जङ्गल मासिँदै गएर उजाड भएछ । सूर्यका किरण नपर्ने खोल्साहरू पनि प्लटिङ गरेर घडेरीमा रूपान्तरण गरिएछन् । हामी बिच चर्चा पनि भयो, नेपालमा केही विकास भएको छ भने बाटो र सञ्चारको विकास भएको जस्तो छ । सँगै विकासले विकृति पनि ल्याएको छ । गाउँ रित्याएको छ र विदेश पलायन गराएको छ ।
***********
म सोच्दै थिएँ अब हामी यतै कतैबाट पल्लो पाखोतिर ओर्लेर इन्द्रावती किनार पुग्ने छौँ । त्यसैबेला हाम्रो मोटरले भक्तपुर मार्गलाई छोडेर नगरकोटको पल्लो पाखोतिर लाग्यो । हो, यो मार्ग मेरा लागि नौलो थियो, बिल्कुल नौलो ।
ओरालो लाग्ने बाटोको मुखै डरलाग्दो ! साँघुरो र ठाडो ओरालो । अगाडिको बाटो कस्तो होला ! खुल्दुली जाग्यो मनमा । दुई चार घुम्ती त डरलाग्दा नै रहेछन् । अगाडि बढ्दै जाँदा भने बाटोले आफ्नो आकार लियो । दोहोरो गाडी चल्न सक्ने पक्की मार्गका घुम्तीहरूमा सावधानी अपनाउने हो भने भयभीत हुनुपर्ने अवस्था देखिएन ।
डोरा डोरा परेका कान्लाहरू देखिँदैछन् तलतल । पुच्छरतिर तुवाँलो छाएको छ, स्पष्ट देखिंदैन भू सतह । गहिरो अदृष्य भूखण्डपारि धेरै टाढा कहीं पहाड र हिमलस्करहरू देखिएका छन् । हामी ठाडै नओर्लिएर तेर्सो तेर्सो खोल्सा, डाँडा, खोला र पाखा पखेरा हुँदै अगाडि बढ्दै छौँ । घना बस्ती पनि छैन र घना जँगल पनि छैन ।
डाँडा पाखाहरुमा साल, चिलाउने, सल्ला, बाँस, निगाला र घाँसे रूखहरू छन् । सबैभन्दा धेरै त बाटोको तलमाथि अम्लिसोका गाँज देखिँदैछन् । र खोलाहरूमा उत्तिसका रुखहरुको सघन उपस्थिति छ ।
हाम्रा अगाडि क्रमशः नालुम, साठी कुरिया, मकैबारी, सिँगे, रोहिणी, गुरुङ गाउँ, छेडा, खस्रे, तल्लोसिंगे, बयरबोट, ढाइटारका स–साना बस्तिहरु भेटिएका छन् । कुन्ताबेसी आउने सङ्केत बाटो छेउका पक्की पिलर घरहरूबाट मिल्न थालेको छ । यस अघि नै सुनेजस्तो लाग्दैछ मलाई कुन्तावेसीको नाम । केही प्रसिद्धि नपाएको भए कुन्तावेसी आउने सङ्केत परैबाट दिइने थिएन भन्ने आत्मबोध पनि भइरहेको छ मलाई । मनमा कुरा खेलाउँदा खेलाउँदै आइपुग्यो कुन्ता बजार ।
***********
कुन्ताबेसी पुगेपछि पो मेरो चेत खुल्यो– यस बजारको बाटो हुँदै म त दुई तिन पटक मेलम्ची यात्रा गरिसकेको रहेछु । पाँचखालको जिरो किलोबाट मोडिएर मेलम्चीतिर लाग्दा बिचमा भेटिने बजार कुन्तावेसी । तर यतिविधि फैलिएको थिएन २०–२५ वर्ष अघिको कुन्तावेसी । फैलिने ठाउँ भएपछि र मानिसको घनत्व बढ्दै गएपछि वस्ती बजार बन्छ । बजार शहरमा परिणत हुन्छ । यस्तै भएको देखें कुन्तावेसी बजार ।
हामी अलिकति मेलम्ची मार्गमा कुद्यौं र हिँगुवापाटी, रायोबारी हुँदै जोगीटार पुग्यौँ । जहाँ किताब लोकार्पणको कार्यक्रम राखिएको थियो । मैले जिज्ञासा राखें, ‘खोइ त इन्द्रवती नदी ? खोइ त त्यसका किनारमा रहेका माझी वस्ती ?’ जुन किनारका झुप्राहरूमा माछा मारेर जीविका गर्ने माझी जातिको अध्ययन गरेर रमेश विकलले अविरल बग्दछ इन्द्रावती उपन्यास लेखे । जसलाई आधार बनाएर टेलिचलचित्र निर्माण भयो र सोचे भन्दा वढी ख्याति कमायो !
सँगै उभिएका विजयजीको अभिव्यक्ति सुनेँ, ‘जोगिटारको यो पुरै वस्ती नेपालहरूको । मेरा मावली नेपाल थरका । पहिले चण्डेनी थियो मावली, अहिले उ......त्यो घना वस्ती बिचमा पर्छ । अहिले मामाका छोराहरू बस्छन् त्यहाँ । पहिलेको त्यही ससुराली घरलाई वासस्थान बनाई करिव डेढ कोश ओर्लेर इन्द्रावती किनारमा बाबाले झण्डै एक महिना माझी जातिको जीवनपद्धति अध्ययन गर्नुभयो । अव हामी यसै टारको पल्लो छेउबाट ओर्लेर इन्द्रावती किनार पुग्ने छौं र माझी वस्ती हेर्नेछौँ ।’
अभिव्यक्ति सुनेर मेरो मनमा थप कौतुहलता जाग्यो । हामी दोलालघाट जोड्ने त्यस पक्की मार्गलाई छोडेर कच्ची बाटो, लावालस्कर हुँदै जोगिटारको डिलमा पुग्यौँ । ओरालो लाग्यौँ, इन्द्रावती किनार तिर । ओरालोको आधाआधिमा भेटियो एउटा चौतारो र त्यसै चौतारोमा अनुबन्ध भएर उभिएका देखिए विशाल आकारका बर र पीपलहरू ।
स्थानीय बुढापाका भन्दै थिए, ‘रमेश विकल माझी वस्तीबाट उक्लेर यही चौतारोमा बस्थे अनि टिपोट गर्थे ।’ हो, त्यही चौतारीमा हामी पनि घेरा हाली उभियौँ र इन्द्रावती माथि दृष्टि फिँजायौँ । सुन्दर देखियो इन्द्रावतीको दृष्य ।
***********
साँच्चै भनुँभने अविरल बगिरहेको इन्द्रावती पारिको दृष्य पनि कम मनमोहक थिएन । तर, तीनपाखे भनिने त्यस पहाडी घना जङ्गलको बिचबाट बगेको मध्यपहाडी लोकमार्गले प्राकृतिक सुन्दरतामा ऐँजेरु उम्रेजस्ता अनुभूत गरायो मलाई ।
विकास निर्माणका कामहरू गर्दा सुन्दर प्रकृतिलाई कुरूप बनाउने प्रवृत्तिबाट हामी कहिले मुक्त हुन सकेनौँ । त्यसै भएर हामीले प्राकृतिक प्रकोपको सामना गरिरह्यौं र गरिरहेका छौँ ।
यस्तै दृष्य परिदृष्यमा निमग्न भइरहेका वेला निबन्ध आचार्यले हाम्रो ध्यान भङ्ग गरे । घुम्ती कविगोष्ठीको ब्यानर निकालेर पीपलको फेदमा टाँग्दै भन्न थाले, ‘आज घुम्ती कविगोष्ठीको पनि दिन हो । इन्द्रावती किनारमा आउनबाट पनि वञ्चित हुन भएन र घुम्ती कविगोष्ठीको निरन्तरता पनि भङ्ग गर्नु भएन । त्यसैले अव हामी नौ दश जना कविका कविता सुन्नेछौँ र आजको मुख्य कार्यक्रममा सहभागिता जनाउनेछौँ ।’
मैले तत्काल प्रतिवाद गरेँ, ‘तपाईंले भने अनुसारको कविगोष्ठी हुन सक्दैन । हामीले समयको सम्मान गर्न सक्नुपर्छ । मुख्य कार्यक्रमलाई छायाँमा पार्न मिल्दैन । त्यसकारण तपाईंले तीन जना कविहरू छान्नोस् र कविता वाचन गराउनुस् ।’
सरल स्वभावका निबन्धले जिद्दी गर्न सकेनन् । उनले पुरुष र महिलाको प्रतिनिधित्व मिलाएर वासुदेव गुरागाईं, सुष्मा आचार्य ‘अंशु’ र शुकदेव उपाध्यायको नाम लिए । हामीले तीनवटा मात्र कविता सुन्यौँ ।
घुम्ती कविगोष्ठीको एउटा नियम के रहेछ भने, कार्यक्रममा सहभागी हुनेहरूको उपस्थिति क्रम अनुसार तेस्रो व्यक्तिलाई क्रम सङ्ख्या बोल्न लगाउने र उल्लेखित क्रमको व्यक्तिलाई पुरस्कार दिने । त्यसवेला उपस्थित व्यक्तिहरू मध्ये अग्रज देखिनुभयो विजय चालिसे ।
आग्रह मुताविक छान्नुभयो अङ्क २५ । उपस्थित मध्ये २५औं नम्बरमा रहेछ मेरै नाम र भाग्यशाली नम्बरको रुपमा मैले पाएँ दुई सय रुपैयाँ पुरस्कार । ताली पड्काउँदै ओइराइएको बधाईको पात्र बनेँ म ।
इन्द्रावतीको पानी बगरको पल्लो छेउबाट बगेको थियो । त्यसैले आधा किलोमिटरजती तल ओर्लेर लामो बगरमा पदचाप छाड्दै पल्लो तटमा पुगी जलस्पर्श गर्ने पक्षमा अधिकांशको सहमति भएन । तथापि जाँगरिला केही युवाहरूले आफ्नो इच्छा पुरा गरे ।
***********
मण्डन देउपुर नगरपालिका–१० का वडा सदस्य रामकुमार माझीको पनि उपस्थिति थियो चौतारोमा । उनको मुखबाट हामीले केही जानकारी लियौँ, ‘एक सय २४ घर परिवार माझीहरू भएको इन्द्रावती किनारको यस माझीटारमा पहिले जस्तो माछा मारेर मात्र जीवन निर्वाह गर्ने अवस्था छैन । अहिलेका अधिकांश माझी युवाहरू गिट्टी कुटेर वा बालुवा चालेर जीविका चलाइरहेका छन् । केही कृषिमा निर्भर छन्, केही वैदेशिक रोजगारमा छन् त केही शैक्षिक पेशामा पनि आवद्ध छन् । तर, कुनैपनि माझीले माछा मार्ने पेशामात्र अवलम्बन गरेका छैनन् ।’
अबभने हामी मुख्य लक्ष्यमा केन्द्रित हुने बेला भयो । केही कदम अगाडि बढ्दा रोचक घिमिरे, श्रीओम् श्रेष्ठ ‘रोदन’, देविका तिमल्सिना र शङ्कर भारतीहरू भेटिए । उनीहरू चढेको मोटर कारले बाटो बिराएछ र साँखुबाट जहरसिं पौवा तिर लागेछ । उनीहरू डाँडे डाँडो ओर्लेर नगरकोट आउँदा यात्रा निक्कै नै लामो परेछ । त्यसै भएर ढिलो गरी आएका ।
जे होस्, हामीले चौतारोमा उभिएर वा बसेर संयुक्त फोटो लिन चुकेनौँ । साथै, जोगीटारमा रहेको कमल नेपालको होटेलमा करिव एक घण्टा लगाएर पालै पालो साकाहारी स्थानीय उत्पादनले भरिभराउ भएको खाना खायौँ । त्यसपछिको गन्तव्य त्यहीँको पाटी गुठीको भवन थियो । स्थानीय जनता र नगरपालिकाको संयुक्त लगानीमा बनेको त्यो भवन भर्खर सम्पन्न हुने खुड्किलामा पुगेको रहेछ ।
***********
सुमन नेपालको संयोजन र अर्जुन राधा फाउण्डेसनको आयोजनामा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व फाउण्डेसनकै संस्थापक संरक्षक अर्जुन नेपालले गर्नु सामान्य र आवश्यक पनि थियो । प्रमुख अतिथि रोचक घिमिरे रहेको उक्त कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सुमनको न्यानो बचनको स्वागत पाइयो ।
मुख्य कुरो महत्वपूर्ण हुन्छ । त्यही मुख्य कामको पालो आयो । अर्थात, महेन्द्रको सिर्जना ‘लेकवेशीका सुगन्ध’ नियात्रा सङ्ग्रहले समाजको हातमा पुग्ने औपचारिकता ‘लोकार्पण’ पुरा गर्यो । कृतिको चिरफार गरे ठाकुर शर्मा भण्डारी र गोपी मैनालीले ।
शुभकामना मन्तव्य दिँदै नियात्राकार दाजु विजय चालिसेले भने, ‘यो भूमि नेपाल थर भएका मानिसहरूको भूमि मात्र नभएर मेरी आमाको जन्मथलो पनि हो । यो भूमि हाम्रा बा ले ‘अविरल बग्दछ इन्द्रावती’ लेखेका आधारभूमि मात्र नभएर झण्डै एक वर्ष खेलेको मेरो मावली गाउँ पनि हो ।
म बाल्यकालमै रानीपोखरीबाट लहरी चढेर भक्तपुर पुगेको छु । त्यहाँबाट बनेपा, धुलिखेल, पाँचखाल हुँदै चाखोला तरेर जैसीथोकको दुई घण्टा उकालो उक्लेर मावली गाउँ चण्डेनी पुगेको छु ।
चण्डेनी माथि चुलिएको थाना डाँडाको टाकुरो चढेर काठमाडौंको धरहरा हेरेको छु । चण्डेनीबाट लगातार एक घण्टा हिँडेर यही वेशीसम्म आएको छु । अनि, डुँगामा इन्द्रावती तरेको छु । यस्तो भूमिमा आएर कृति लोकार्पण गर्ने भाइ महेन्द्रको चाहनालाई म सराहना गर्दछु ।’
कृतिका लेखक महेन्द्रले आफ्नो मन्तव्य धन्यवादमै सीमित गरे । उनले सहभागी साहित्यकार, आयोजक, व्यवस्थापक र परिवारजनलाई नबिराई धन्यवाद दिए । पिताकै कारणबाट पुस्ता नै साहित्यतर्फ आकर्षित भएको, पारिवारिक वातावरण नै साहित्यमय भएको र चार पुस्ता समेटिएको संयुक्त कथा सङ्ग्रह समेत प्रकाशित भइसकेकोमा गर्व गरे ।
***********
कुन्तावेशीको जग्गामा खेतीपाती हेर्न आउने क्रममा ४० वर्ष अघि नै म यस ठाउँमा आएको भन्ने संस्मरण गर्दै रोचक घिमिरेले मेरा मित्र रमेश विकलको ससुराली गाउँ हेर्न पुनः आउन पाएकोमा प्रसन्नता व्यक्त गरेर भने, ‘पिताकै बाटोमा लागेका महेन्द्रले ‘पुत्रात इच्छेत् पराजयम्’ लाई साकार पारे ।’
सुमन नेपालले आभार व्यक्त गरे, ‘२०३८ सालमा करिव एक महिना बसेर विकलले कृतिको प्रारूप तयार गरि प्रकाशन गरेको ‘अविरल बग्दछ इन्द्रावती’को छायाँकन २०५७ सालमा भएपछि कृतिको सार्थकता अझै अघि बढ्यो । यसको श्रेय हामीले पनि पाएका छौँ । कालान्तरमा उहाँकै कनिष्ठ सुपुत्र महेन्द्रले यहाँका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका व्यवस्था गरेर मावली गाउँको मायालाई अरु उजागर गर्नुभएको छ ।’
सुमनकै अभिव्यक्तिबाट थाहा भयो, ‘विजय र महेन्द्रका ममेरा भाइबुहारी अर्जुन र राधा नेपालको नाउँमा सुपुत्र सुमनले उक्त फाउण्डेसन स्थापना गरेका रहेछन् । त्यस संस्था मार्फत विभिन्न सामाजिक गतिविधि गरिँदो रहेछ । यसैको निरन्तरता रहेछ आजको कार्यक्रम ।
हो, वास्तवमा मैले यस यात्राबाट थुप्रै अनुभव र अनुभुति सँगाल्न पाएँ । चार मण्डन र चार देउपुर मिलेर बनेको यस मण्डन देउपुर नगरपालिकामा प्रायः नेपालहरूको वर्चश्व रहेको छ । प्रदीप नेपाल, माधव नेपालहरुको पैतृक थलो पनि यही भूमि रहेछ ।
यो साहित्यिक यात्राले धार्मिक, सांस्कृतिक एवम् आन्तरिक पर्यटनको अनुभुति गरायो । जहाँ सीमान्तीकृत अल्पसङ्ख्यक माझी जातिका युगीन उत्पीडनका घटनालाई केन्द्रमा राखेर विकलले गहन अध्ययन गरे । दनुवार र घर्तीका वर्गलाई पनि समेटेर एउटा कालजयी कृति लेखे । जुन कृतिले नेपाली समाजमा एउटा तरँग ल्यायो र नेपाली साहित्यमा अमरत्व प्राप्त गर्यो ।
हामीले कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउने प्रयास गर्यौं । थालनी भएको दुई घण्टा भित्रै कार्यक्रमको बिट मारियो । तीन बजे फिर्ती प्रस्थान गरेका हामी दुई घण्टामा ५० किलोमिटर पार गर्दै काठमाडौँ आइपुगेछौँ ।
इतिः
प्रतिक्रिया दिनुहोस