७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

नेपालमा कलाकारिताबाट बाँच्न सहज छैन, वैकल्पिक स्रोत भए मात्र आउनुस्



  • आफ्नै खबर
  • ३ हप्ता अघि
  • पाठक संख्या ५२३
  • काठमाडौंको पूर्वी भेग मुलपानी गजुरेलडाँडामा जन्मिएका कुमारमणि गजुरेल टेलिभिजन/चलचित्र कलाकारको रुपमा आफ्नो कला पस्कँदै आइरहेका छन् । उनको छिमेकमै कला साधना गरिरहेका ‘काजी बा’ अर्थात् रामचन्द्र अधिकारी, अविरल बग्दछ इन्द्रावती नामक चिरस्मरणीय टेलिशृंंखलाका नायक ‘सोबिते’ अर्थात् उपेन्द्र तिमल्सिना सँगै दिनरात नभनी कलाक्षेत्रमा लागिरहेका छन् ।  

    रहरैरहरमा अभिनय सुरु गरेका उनै कुमारमणि गजुरेलले रहररहरमै आफ्नो जीवन नै अभिनयमा अर्पिए । अनुशासनलाई सबैभन्दा अभिन्न अंग मान्ने उनी विद्यालयमा साना बालबालिकालाई अनुशासन सिकाउँदै अभिनयमा होमिइरहे । मनोरञ्जन र सूचनाको संसारमा टेलिचलचित्रहरूको सर्वेसर्वा चलिरहेको समयमा थोरै भए पुगिसरी, सुनौलो संसार, प्रहरी अनुरोध, तितो सत्य, मेरी बास्सै, जिरेखुर्सानीजस्ता टेलिशृंखला र विभिन्न सडकनाटक, नाटक, टेलिचलचित्रदेखि ठूलो पर्दाको चलचित्रमा पनि आफ्नो अभिनय कलाकारिता पस्किएर एक युगका दर्शकमा अभिनयको छाप छोडिसकेका गजुरेलसँग आफ्नै खबरले कला क्षेत्रकै विषयमा केन्द्रित रहेर गरेको भलाकुसारी :

    कुमारमणि गजुरेललाई उसको अभिनय हेर्ने दर्शकले कसरी चिन्ने ?
    सबैभन्दा पहिले त म कलालाई माया गर्ने मान्छेमध्येको एक हुँ भन्ने लाग्छ । कला क्षेत्रबाट समाजमा भएका विकृति–विसङ्गतिलाई जस्ताको तस्तै प्रस्तुत गर्नुपर्छ र वास्तविकताबाट कसैलाई पनि टाढा राख्नुहुन्न भन्ने मान्छे । सत्य पस्कँदा कतिलाई नमिठो लाग्न सक्छ । तर, उनीहरू पनि बिस्तारै वास्तविकतासँग अभ्यस्त हुन्छन् नै । अहिले पनि म मेरो कलालाई समाजसँग एउटै हलोमा नारेर अघि बढ्ने प्रयासमै छु । 

    तपाईंको कलाकारिताको सुरुवात संयोग, परिबन्द वा तपस्याको फल ? 
    मेरो कलायात्रा ०५६ बाट सुरु भयो । नेपाल टेलिभिजनमा तितो सत्य टेलिशृंखला चर्चाको शिखरमा हुँदा सबैले ट्वाँकेन्द्र्र भनेर चिन्ने गोपाल अधिकारी मेरा त्यतिबेलाकै मित्र । उहाँ त्यतिबेला नेपाल टेलिभिजनबाट प्रसारित हुने ‘थोरै भए पुगिसरी’ भन्ने शृंखलाको प्रोडक्सन म्यानेजर हुनुहुन्थ्यो । त्यसको निर्देशक सविन बास्तोला हुनुहुन्थ्यो । 

    मैले एक दिन संयोगले गोपाललाई भेटेँ । त्यो वेला मलाई टिभीमा देखिने ठूलो रहर थियो । कौतूहल पनि थियो । एक दिन उनीहरूलाई सुटिङका लागि काठमाडौंको इन्द्रायणी जाँदै गरेको भेटेँ । त्यसपछि आफूलाई पनि अवसर दिन अनुरोध गरेँ । 

    उनीहरूले सल्लाह गरेर हेल्थपोस्टको अहेव अर्थात् स्वास्थ्य स्वयंसेवकको भूमिका रहेको, तर मेरो कपालको कारण नमिल्ने बताए । म वर्षौँ लगाएर पालेको एक हात लामो कपाल काट्न तुरुन्तै तयार भएँ । मैले धेरै माया गरेको र स्याहारेको त्यो कपाल मेरो कलाकार बन्ने सपनाको बलि चढ्यो भन्नुपर्छ । त्यहीँबाट मेरो कलायात्रा सुरु भयो । अरूभन्दा फरक व्यक्ति हुने चाहना थियो । टिभीमा देखिने रहर तीव्र थियो । कला क्षेत्रमा सबैभन्दा महत्व संवाद कसरी बोल्छ भन्नेमा हुन्थ्यो । म सफल भएँ । त्यसैले पनि कलाकारिता यात्रा सुरु भयो भनौँ । समग्रमा यसलाई तपस्या नै भनेर तपस्याको अपमान नगरौँ । तर, लगातार लागिपरेको नतिजा हो भन्ने लाग्छ । 

    २५ वर्षअगाडि फर्केर हेर्दा त्यसबेलाको कलाकारिता र अहिलेकोमा के फरक लाग्छ ?
    त्यसबेला चलचित्रमा खेल्ने मान्छे हामीभन्दा फरक हो भन्ने लाग्थ्यो । उनीहरू भिआइपी, अर्कै हैसियतका, उनीहरूसरह हामी पुग्नै सक्दैनौँ भन्नेजस्ता कुराहरू सोचिन्थ्यो । आफूले गर्न नसक्ने हो कि भन्ने चिन्ता लाग्थ्यो । त्यस शृंखलामा धेरै काम गरेपछि तितो सत्यमा मौका पाएँ । पाँच सय भागसम्म समय–समयमा अभिनय गरिरहन पाएँ । दीपक दाइ, दीपा दिदि, गोपाल अधिकारी, निर्मल शर्माहरूसँगसँगै हिँड्न–बस्न पाएँ । बिस्तारै उहाँहरूको छनोटमा पर्न थालेँ । मलाई सुहाउने भूमिका आउनेबित्तिकै मौका पाउन सुरु भयो । 

    शिक्षकले विद्यार्थीलाई बलात्कारपछि हत्या गरेको एउटा सत्य घटनामा आधारित भएर तितो सत्यमा एउटा भाग बन्यो । त्यसमा मैले एउटा नकारात्मक भूमिका निभाउन पाएको थिएँ । त्यो हेरेपछि सर्वसाधारणले मलाई त्यही व्यक्ति ठान्न थाले । 

    भनेको मतलब, कलाकारको क्षमता हेरेर कथा लेखिने होइन ? 
    होइन, त्यसबेला खसिबोका छानेजस्तो गरी कलाकार छानिन्थ्यो । २०–२५ जना अभिनयका आकांक्षी हुन्थे । उनीहरूलाई यसो मुख हेर्यो, को सुहाउँछ जस्तो लाग्छ, उसैलाई डाइलग बोल्न लगायो । राम्रो डेलिभरी दियो भने राख्यो । अर्कोपटक फेरि ऊ त्यही भिडमै मिसिएर अवसर कुर्ने हो । त्यसमा निर्माताको पनि प्राविधिक समस्या थियो । ठूला कलाकारलाई धेरै दिन बोलाउँदा खर्च बढ्थ्यो, तोकिएको समयमै सुटिङ, सम्पादनलगायतका सबै काम सकेर टिभीमा बुझाउन भ्याउनुपर्थ्यो । त्यसैकारण पनि साना र छोटा भूमिका भएकाहरूमा त्यसैगरी छानिन्थ्यो । त्यसबेला रहरैरहरमा लागियो । अहिले अवस्था फरक भएको छ । मेरा लागि भनेर पहिले नै रोल छुट्टिन्छ र बोलाइन्छ भन्ने लाग्छ । 

    नयाँ प्रयोग, नयाँ अवधारणा, नयाँ कथाको मोडेल अर्थात् समाजमा तरंग ल्याउने गरी कला क्षेत्र अघि बढ्न सक्दैन ?
    त्यो ल्याउन ठूलो आँट र धराशयी हुन तयार रहने हिम्मत चाहिन्छ । त्यहाँभित्र पनि हरेक कुराको संरचना छ । जसले ब्रेकडाउन गर्न खोज्छ, उसलाई एक्ल्याइन्छ । म अरूभन्दा फरक हुन्छु वा सोच्छु भनेर जसले प्रस्ताव राख्छ उसलाई आफूभन्दा जान्ने हुन खोजेको आरोपमा निकालिन्छ । त्यसैले परिवर्तन सहज छैन । 

    कला क्षेत्रको प्रसंग निस्केपछि तपाईंलाई पहिलो याद कसको आउँछ ?
    कलाभन्दा पहिले जीवन हो । त्यसैले पहिले बुबा, आमा र त्यसपछि कला क्षेत्रमा भनेको । जसले मलाई पहिलोपटक मौका दिएर यो क्षेत्रमा आउने ढोका घरक्क उघारिदिनुभयो, उहाँलाई नै सम्झन्छु । गोपाल अधिकारी ‘ट्वाँकेन्द्र’ले मलाई सहयोग गर्नुभयो । थोरै भए पुगिसरीमा पाएको मौकाले मेरो कला क्षेत्रमा जन्म भयो । त्यसपछि उहाँले मौका दिएर तितो सत्यसम्म ल्याउनुभयो । त्यसमा सविन बास्तोलाको नाम बिर्सियो भने पाप लाग्छ । तितो सत्यमा आउनु मेरो कलाकारिताको किशोरावस्था हो । त्यसबेला मैले परिचय बनाउन सकेँ । 

    दीपकराज गिरी र दीपाश्री निरौलाले तितो सत्यमा पर्याप्त मौका दिनुभयो । जसले मलाई कलाकारिताको युवावस्थामा ल्याइपुर्यायो । त्यससँगै अहिलेसम्म काम गरेका सहृदयी अन्य मित्र तथा सहकर्मीहरूलाई पनि बिर्सन मिल्दैन । 

    कलाकारिताको क्रममा सबैभन्दा खुसी लागेको दिन ?
    शिक्षकले विद्यार्थीलाई बलात्कारपछि हत्या गरेको एउटा सत्य घटनामा आधारित भएर तितो सत्यमा एउटा भाग बन्यो । त्यसमा मैले एउटा नकारात्मक भूमिका निभाउन पाएको थिएँ । त्यो हेरेपछि सर्वसाधारणले मलाई त्यही व्यक्ति ठान्न थाले । 

    त्यस्तै, ०६२ तिरको एउटा शृंखलामा रिसाहाको पात्र बनेर एउटा बालकलाई जिउँदै पुर्नुपर्ने दृश्य थियो । त्यो प्रसारण भएको भोलिपल्टै म काठमाडौं उपत्यकानजिककै एउटा गाउँमा पुगेको थिएँ । मलाई त्यहाँका बासिन्दाले वरिपरिबाट घेरेर दुर्व्यवहार गर्न थाले । त्यो मेरो अभिनयका कारण भएको थियो । त्यसले निर्देशक, निर्मातालाई मेरो अभिनयप्रति थप विश्वास जाग्यो । त्यहाँका बासिन्दाले मलाई अभिनयमा उत्तीर्ण गराइदिनुभयो भन्ने लाग्छ । 

    सामाजिक सञ्जालमा आएका १५ सेकेन्डका अभिनयले एक सय ५० मिनेटका चलचित्र सुकेका छन् । कुपोषणमा परेका छन् । कलाको साधक मरेको छ । उट्पट्याङ कलाकारिता फस्टाएको छ ।

    चित्त दुःखेको ?
    पहिला सुरुसुरुमा रहरले गइयो । त्यसबेला जसले जे भने पनि सहनै पर्यो । मुटुमाथि ढुंगा राखी सहियो पनि । संघर्षको समयमा यो सामान्य पनि हो । 

    तर, गरेको कामलाई गरेकै छैन भन्ने, दिन्छु भनेको चिज नदिनेजस्ता घटना भोगेको छु । कलाकारिता क्षेत्रको समस्या भनेकै भुक्तानीको हो । त्यो समस्या पहिले पनि थियो । अहिले पनि छ । नाम चलेका कलाकारले समेत मलाई कति ? भनेर सोध्न सक्दैनन् । प्रश्न गरेमा उनीहरूको भूमिका काटिन्छ । तर, म यो मामलामा केही भाग्यमानी हुँ । मैले थोरै–थोरै भए पनि पाएको थिएँ । 

    भनेपछि कलाकारिता भनेको रहर मात्र हो, दोस्रो पेसा छैन भने बाँचिँदैन भनेर भन्न सकिन्छ ?
    हन्ड्रेड पर्सेन्ट । त्यो त मेरो जीवनको पनि तितो सत्य हो । तपाईं आफ्नो खुट्टामा उभिएर आउनुभएको छैन र कलाकारिता गरेरै खान्छु भन्ने सोच भएका मानिस नआउँदा राम्रो हुन्छ । 

    सामाजिक सञ्जालको प्रभाव कस्तो छ ?
    सामाजिक सञ्जालमा आएका १५ सेकेन्डका अभिनयले एक सय ५० मिनेटका चलचित्र सुकेका छन् । कुपोषणमा परेका छन् । कलाको साधक मरेको छ । उट्पट्याङ कलाकारिता फस्टाएको छ । कला साधकहरू मुर्झाएका छन् । चितुवा धेरै कुद्छ । सबैलाई थाहा छ । तर, सवारीका लागि घोडा नै चाहिन्छ । चितुवा चढ्न खोजेर हुँदैन । अहिले निर्माताहरू पनि दुई दिन उट्पट्याङ अभिनयले भाइरल भएकालाई लिएर फिल्म बनाउन खोज्छन् । त्यसले राम्रो नतिजा दिन्छ भन्ने मलाई लाग्दैन । 

    अबका अपेक्षा र योजना के ?
    कलाकारितामार्फत राम्रा कुराको प्रचार गर्दै विकृतिको पर्दाफास गर्न सधैँ सफल हुन सकुँ र कलालाई अघि बढाउन सकुँ भन्ने अपेक्षा हो । स्वर्गीय कलाकार विष्णुभक्त फुँयाललाई सम्झन्छु । तितो सत्यमा उहाँले निभाउनुभएको ‘यु माई लभ’ भन्ने भूमिकामा उहाँ जसरी जम्नुभयो, जसरी अभिनय गर्दा गर्दै मञ्चमै चिरनिद्रामा जानुभयो । मलगायत सबैजना जसले आफूलाई कलाकार भनेर चिनाउन चाहनुहुन्छ, त्यसैगरी लाग्नुपर्छ । त्यसैले सकेसम्म निरन्तरता दिने योजना हो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?