१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

पुर्खाले छाडेको पुरानो घर, त्यहिँ छ पर्यटकको लहर



  • आफ्नै खबर
  • ३१ असार २०८१ आईतबार (५ महिना अघि)
  • पाठक संख्या ६३८
  • कास्की/  फेवाताल सिरानको हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ निरबाने गाउँ । प्रकृतिको काखमा सजिएको निरबाने आफैमा चित्रमय लाग्छ । ताल, हिमाल, खोलानाला र वनपाखा त्यहाँका आकर्षण हुन् । त्यही गाउँको बीचमा छ ५३ वर्ष पुरानो एउटा ढुङ्गेनी घर । जहाँ ३८ वर्षीय लक्ष्मण पराजुली सपरिवार बस्नुहुन्छ । 

    २०६८ सालतिरको कुरा हो । वैदेशिक रोजगारीका लागि उहाँ दुबई पुग्नुभयो । ९ वर्ष उतै बिताउनुभयो । काम र कमाई ठिकै थियो । एक्कासि उहाँले दुबई त्यागेर घर फर्कने निधो गर्नुभयो । ‘१२ घण्टा कामको बोझ र तनाव सहन कठिन भएपछि गाउँमै केही गर्ने सोच लिएर स्वदेश फर्के’, परदेशको दुःख सम्झदै उहाँ भन्नुहुन्छ, ‘गाउँ आएपछि बुबाले बनाएको पुरानो घरलाई प्रबलीकरण गरेर क्याम्पिङ र ‘होमस्टे’ व्यवसाय सुरु गरेँ ।’

    २०७६ सालमा नेपाल फर्कनुभएका पराजुलीले सोही वर्षदेखि पर्यटन व्यवसायमा हात हाल्नुभयो । सुरुमा विदेशी पर्यटकलाई लक्षित गरी क्याम्पिङ सेवा सुरु गर्नुभयो । उहाँ थप्नुहुन्छ, ‘खर्चिला र सौखिन पर्यटक बस लिएर क्याम्पिङका लागि हामीकहाँ आउँथे, कोभिड महामारीपछि त्यसमा कमी आयो अनि होमस्टेतिर लागेँ ।’ होमस्टे पनि उहाँले कोभिडकालमै सुरु गर्नुभयो । 

    २०७८ सालदेखि सञ्चालनमा आएको घरबास (होमस्टे) अहिले आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय बनेको छ । ‘ढुङ्गे घर लेक भ्यू क्याम्पिङ एन्ड होमस्टे’ सेवामार्फत उहाँले पाहुनालाई लोभ्याइरहनुभएको छ । २०२८ सालमा उहाँका बुबा गोविन्द पराजुलीले बनाएको ढुङ्गा, माटो र काठको घर जीर्ण भइसकेको थियो । पराजुलीका बुबाआमा बेँसीमा रहेको नयाँ घरमा बस्न थाल्नुभएको थियो । 

    उहाँ विदेशबाट फर्केपछि त्यही पुरानो घरको संरक्षण र साजसज्जातिर लाग्नुभयो । करिब ८ लाख रुपैयाँ खर्चेर घरलाई पुरानै स्वरुपमा मर्मतसुधार गरेको पराजुलीको भनाइ छ । घरमा उतिबेलै बनेका झ्यालढोका छन् । पाली र छानो ढुङ्गाकै छ । आँगनमा पनि ढुङ्गा ओछ्याइएको छ । रङ्गरोगन पनि पहाडे शैलीको छ । त्यहाँ पुग्दा विशुद्ध गाउँले परिवेश भेटिन्छ । बढीजसो घरबास (होमस्टे) को आतिथ्यता रुचाउने पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

    पाहुनालाई घरको भान्छामा जे पाक्छ त्यही खुवाउने गरिएको पराजुलीले बताउनुभयो । रैथाने जातको चामल, मकै, बारीमै उब्जेको तरकारी, यामअनुसार निउरो, तामा, च्याउलगायत परिकार बनाउने गरिएको उहाँको भनाइ छ । माछामासुमा पनि स्थानीय जात प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो । होमस्टेमा सादा खानासहित एक रात बिताएको प्रतिव्यक्ति १ हजार १ सय रुपैयाँ र मासुखानासहित १ हजार ३ सय रुपैयाँ तोकिएको छ । 

    उक्त प्याकेजमा बिहानको खाजा पनि समावेश छ । अतिरिक्त सेवा लिएमा भने छुट्टै पैसा तिर्नुपर्छ । पारिवारिक वातावरण हुने भएकाले होमस्टेमा पर्यटक लोभिने गर्छन् । ‘पर्यटकीय याममा त व्यवसायमा भ्याइनभ्याइ हुन्छ, वनभोजका लागि यहाँ आउने पनि उत्तिकै हुन्छन्’, पराजुलीले भन्नुभयो, ‘वनभोजका लागि आवश्यक पर्ने सबै बन्दोबस्त हामीले नै उपलब्ध गराउँछौँ, कतिपयलाई ठाउँ मात्र भाडामा दिने गरेका छौँ ।’ फेवाताल, माछापूछ«े, अन्नपूर्णलगायत हिमशृङ्खला नजिकबाट अवलोकन गर्न पाइने हुँदा उक्त स्थललाई पर्यटकले रुचाउने गरेका हुन्

    पोखरा महानगरपालिका–२३ मा अवस्थित निरबाने फेवा किनारको हल्लनचोकबाट २५ मिनेटको मोटर यात्रामा पुग्न सकिन्छ । पदयात्रा गर्न रुचाउनेहरु पनि फेवाताललाई देब्रे पारेर खपौदी, पामे हुँदै निरबाने पुग्न सक्छन् । पर्यटकले सहरको कोलाहल छलेर छिनभरमै प्रकृतिको आनन्द लिन सक्छन् । पराजुलीले होमस्टेको क्षमता विस्तार गर्ने योजना बनाउनुभएको छ । अहिले दैनिक २० जना पाहुना राख्ने क्षमता रहेको उहाँले बताउनुभयो । 

    ‘सुरुमा परीक्षण गरी हेरौँ भनेर होमस्टे सुरु गरेको थिएँ, बर्सेनि व्यवसाय झन्भन्दा झन् राम्रो भएपछि यसलाई विस्तार गर्ने सोचमा छु’, उहाँले भन्नुभयो, ‘आफू जन्मेको घरमा सपरिवार बसेर व्यवसायमा रमाइरहेको छु, जुन लगावले यसमा जोडिए, त्यसमा सन्तुष्ट छु ।’ व्यवसायमा परिवारका सबै सदस्य खट्छन् । उहाँका अनुसार अहिलेसम्म बाहिरी कर्मचारी राख्नुपरेको छैन । 

    युवाहरुको विदेश पलायन तीव्र बनिरहेका बेला छोरा गाउँ फर्केर घरको चहलपहल बढाएकामा बुबा गोविन्द पनि मख्ख हुनुहुन्छ । बूढेसकालमा सबै परिवार सँगै हुन पाउनु पनि खुसीको कुरा रहेको उहाँले बताउनुभयो । ‘२५ रुपैयाँ ज्यालामा कर्मी लगाएर बनाएको घर हो, यही घरलाई अहिले छोराले जोगाएर राखेको छ, सबैले मन पर पराएका छन्’, उहाँले विगत सम्झनुभयो, ‘बिरमकुनाबाट १० रुपैयाँमा ढुङ्गा बोकाएर छानो छाएको हो ।’ 

    नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएका बेला पराजुली विदेशबाट आफ्नै थातथलो फर्केर जीवनमा आशा जगाइरहनुभएको छ । उहाँ गाउँका अरू युवाका लागि प्रेरणा बनिरहनुभएको छ । 

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?