काठमाडौं– सरकारले टिकटकमा प्रतिबन्ध लगाएपनि साइबर अपराधको रुपमा उजुरी पर्न भने घटेको छैन । अहिले पनि महिनामै १ सय भन्दा बढी टिकटकसम्बन्धी उजुरी पर्ने गरेको छ ।
साढे ६ महिनाको अवधिमा टिकटकसम्बन्धी ६ सय ६७ वटा उजुरी प्रहरीमा दर्ता भएका छन् । आधुनिक प्रविधि र सामाजिक सञ्जालमा सर्वसाधरणको आकर्षण बढ्दै गर्दा समग्र साइबर अपराध बढिरहेको प्रहरीको निष्कर्ष छ । समग्र साइवर अपराधसम्बन्धी उजुरी दैनिक ६५ भन्दा वढी हुने गरेको प्रहरीले जनाएको छ ।
गत साउनदेखि २३ माघसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन ३० वटा निवेदन दर्ता भएको प्रहरी प्रवक्ता डिआईजी भीमप्रसाद ढकालले बताए । त्यसमा करिब ८५ प्रशिशत सामाजिक सञ्जालसम्बन्धी छन् । सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार २५ र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध १ हजार ९ सयभन्दा बढी निवेदन प्रहरीमा दर्ता भएका छन् । जसमध्ये साइबर अपराधमा ५१ वटा मुद्दा मात्र अदालतमा पुगेको छ । न्यून स्रोत साधन, जनशक्ति र पहुँच नहुँदा धेरै निवेदनमा अनुसन्धान गर्न कठिन भइरहेको प्रहरीको भनाइ छ ।
विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने जस्ता उजुरी धेरै परेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख हैरानी दिने, सरकारी तथा अन्य संघ संस्थाहरूको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने साइबर अपराध पनि छन् ।
सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको प्रहरी प्रवक्ता ढकाल बताउँछन् । उनी भन्छन्, ‘प्रविधिको विकाससँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । अपराधीहरूले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी साइबरजन्य अपराध गर्ने गरेका छन् । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ । यस्ता अपराध हुन नदिन नेपाल प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानूनी दायरामा ल्याउने र साइबर ब्यूरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारवाहीलाई तीव्रता दिने अभियान चलाएको छ ।’
प्रतिक्रिया दिनुहोस