१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

छातीभरि पर्यटकीय स्थान र सम्भावना बोकेर बसेको चौबिसे गाउँपालिका



  • आफ्नै खबर
  • ७ चैत २०८० बुधबार (९ महिना अघि)
  • पाठक संख्या ८५
  • धनकुटा जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित छ चौबिसे गाउँपालिका । सामुद्रिक सतहदेखि दुई सय ५० मिटरदेखि दुई हजार पाँच सय ५० मिटरसम्म रहेको मध्यपहाडी भेगमा रहेको यो गाउँपालिका नेपाल सरकारको ०७३ फागुन २७ को नेपालको पुनर्संरचनाको निर्णयअनुसार साबिक सातवटा गाउँ विकास समितिलाई समेटेर स्थापना गरिएको हो । बुधबारे, मुढुवास, कुरुले तेनुपा, बोधे, राजारानी, मौनाबुधुक र वसन्तटार गरी साबिकका सात गाविस समेटेर गठन गरिएको यो गाउँपालिकाको केन्द्र साबिक राजारानी गाविसको केन्द्र राजारानी बजार (पाटीबजार) लाई कायम गरिएको छ । १४७.६ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो पालिकाको जनसंख्या १७,६७७ रहेको छ ।

    सामाजिक वातावरण
    यो बहुजाति बसोवास भएको गाउँपालिका हो । त्यसैले विविध किसिमका संस्कृति–परम्परा पाउनु स्वाभाविकै हो । यस गाउँपालिकामा सबैभन्दा बढी लिम्बू जातिको बसोवास रहेको छ । त्यसैगरी, अन्य जातिमा मगर, राई, नेवार, ब्राह्मण, क्षेत्री, याखा, दलित (कामी, दमाईं, सार्की, सुनार) माझी, तामाङ, गुरुङ, भुजेलको बसोवास रहेको छ । यहाँका अधिकांश मानिस कृषि पेसामा संलग्न रहेका छन् । कृषिका अतिरिक्त केही मानिस सरकारी तथा गैरसरकारी सेवामा संलग्न रहेका छन् भने केही व्यापार–व्यवसायमा संलग्न छन् । त्यसैगरी, ज्याला–मजदुरी गरेर गुजारा गर्ने परिवार पनि रहेको यो गाउँपालिकाका धेरै युवाशक्ति भने वैदेशिक रोजगारीमा गएका छन् ।

     
    जातीयतामा विविधतासँगै धर्ममा पनि विविधता रहेको पाइन्छ । यस क्षेत्रका धेरै मानिसले हिन्दुधर्म मान्ने गरेको तथ्यांक छ । त्यसपछि किराँत धर्मावलम्बीको संख्या आउँछ । बौद्ध र क्रिश्चियन धर्मावलम्बी पनि प्रशस्त रहेका छन् । सबै जातिको आ–आफ्नो संस्कृति भए पनि यस क्षेत्रमा लिम्बू जातिको पालाम र धाननाच, मगर जातिको हुर्रा अनि राई जातिको ढोलकनाच उल्लेख्य रहेको पाइन्छ । धर्म विविध भए पनि दसैँ, तिहारजस्ता पर्वहरू भने यस क्षेत्रका सबैजसो बासिन्दाले रमाएर मनाउने गर्दछन् । 


    प्रमुख उत्पादनहरू 


    यस गाउँपालिकाका ८५ प्रतिशतभन्दा बढी मानिस कृषि पेसामा संलग्न भएको पाइन्छ । यस क्षेत्रको कृषक मूलतः मकै, धान, कोदोजस्ता अन्नबाली, तेलहन, दलहनजस्ता खेती लगाउँछन् । पछिल्लो समयमा आएर कृषक नगदेबालीतर्फ उन्मुख भएको भने पाइन्छ । खासगरी फलफूल तथा तरकारी खेतीमा कृषक बढी आकर्षित भएको देखिन्छ । सुन्तला, कागती, अम्बा, नास्पाती, केरा, जुनार आदि यस क्षेत्रमा उत्पादन हुने प्रमुख फलफूल हुन् । गाउँपालिकाको वडा नम्बर ६ र ५ लाई सुन्तलाको पकेट क्षेत्रको रूपमा लिइन्छ ।

    यातायात पहुँच तथा बजार केन्द्र
    चौबिसे गाउँपालिका धनकुटा जिल्लाको दक्षिण–पूर्वमा अवस्थित छ । यस गाउँपालिकाको सबै वडामा सडक सञ्जाल पुगेको छ । कोशी राजमार्गअन्तर्गत भेडेटारबाट पूर्व करिब १९ किलोमिटरको दूरीमा अवस्थित राजारानीबाट यो गाउँपालिका प्रारम्भ हुन्छ । धरानदेखि भेडेटार, डाँडाबजार, राजारानी हुँदै मौनाबुधुक, बोधे, आइतबारे, मुढेवास, ६ नं. बुधबारे, शुक्रबारे, कुरुले नियमित यात्रुवाहक बस सञ्चालन हुने गर्दछ । यस गाउँपालिकाका मुख्य बजार केन्द्रहरू राजारानी (पाटी) बजार, मौनाबुधुक (चाँदनी चौक), बुधबारे, शुक्रबारे, गडीगाउँ, देउराली हुन् । यी बजारबाट गाउँपालिकाका कृषकले उत्पादन गरेका वस्तुहरू धरान निकासी गर्ने गरिन्छ ।

    प्रमुख पर्यटकीय स्थान


    चौबिसे गाउँपालिले पर्यटन विकासको प्रचुर सम्भावना बोकेको छ । स्थानीय पर्यटन तथा लामो समयको घुमघामका लागि समेत यो ठाउँ उपयुक्त छ । राजारानीमा रहेको रानीताल (मावारक), नागवेली पार्क तथा पुण्य माविपरिसर, मौनाबुधुकको सिद्धदेवी, बोधेगढी, हम्बे दरबार, हाँसेमालुङ, थाक्केलुङ, त्रिवेणी, बुधबारेमा रहेको मिक्लाजुङ पर्वत, चमेरे ओडार, मुढेवासमा रहेको सिंहदेवीस्थानलाई प्रमुख पर्यटकीय स्थलको रूपमा लिइँदै आएको छ । त्यस्तै, लामो यात्राका लागि भेडेटार हुँदै नाम्जेको आत्माघर, ओख्रेको टावर, डाँडाबजारको ध्वजेडाँडा र एसियाकै ठूलो वरको रुख भ्रमण गरेर चौबिसे गाउँपालिका प्रवेश गर्न सकिन्छ । चौबिसे गाउँपालिकाको प्रवेशसँगै राजारानीको नागवेली पार्क र रानीतालको भ्रमण गर्न सकिन्छ । त्यसपछि मौनाबुधुकको सिद्धदेवी मुढेवासको सिंहदेवीस्थान हुँदै बुधबारेको मिक्लाजुङको रमाइलो भ्रमण गर्न सकिन्छ । यहाँका र यहाँबाट देख्न सकिने ठाउँहरूको रमाइलो दृश्यावलोकन गर्न सकिन्छ । बुधबारेबाट पाँचथर हुँदै पहाडी यात्रा तय गर्न सकिन्छ भने मोरङ हुँदै तराईको । यसरी हलुका सवारीसाधनबाट दुईदेखि तीन दिनम्मको भ्रमण गरी भरपूर आनन्द लिन सकिन्छ ।

    श्रोत ः चौबिसे गाउँपालिका

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?