सप्तरीको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने अग्निसाइर कृष्णासवरन साबिकका पाँचवटा गाविसहरू कुनै पूरै तथा कुनैका केही वडाहरू मिलाई स्थापना गरिएको गाउँपालिका हो । ती गाविसहरूमा जण्डौल, सीतापुर, हरिहरपुर, प्रसवनी र बकधुवा रहेका छन् ।
नामकरण
गाउँपालिकाको नाउँ सुन्दा लामो जस्तो लागे तापनि धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित यस गाउँपालिकाको नाम देवस्थलको नामबाट राखिएको हो । दुई ठूला शक्तिपीठसरह महत्व रहेका मन्दिर अग्निसाइर देवस्थल र कृष्णासवरन मन्दिरको नाममा गाउँपालिकाको नामकरण भएको हो ।
अग्निसाइर देवस्थलको मन्दिर सप्तरी जिल्लाको महेन्द्र राजमार्गको चाँदनी चोकदेखि तीन किलोमिटर उत्तर चुरे जंगलमा अवस्थित रहेको छ । करिब २० पुस्ताअघि अग्निसाइर देवताले वरिपरिका गाउँमा दुःख दिन थालेपछि मानिस प्रतिकारमा उत्रिए । त्यसपछि अग्निसाइर देवताले सपनामा प्रकट भई आफ्नो पूजा आराधना नियमित रूपमा नगरेकाले गाउँलेलाई दुःख दिने गरेको बताएको जनश्रुति छ । त्यसपछि यहाँका बासिन्दाले अग्निसाइर देवस्थलमा प्रत्येक वैशाख १ गतेको दिन भव्य रूपमा पूजा–अर्चना गर्ने प्रचलन आइरहेको छ । हाल आएर सो देवस्थलको पूजा–अर्चनालाई नियमितता दिन पूजा समिति पनि गठन गरिएको छ । पूजा समितिको मूल पुजारी अग्निसाइर कृष्णासवरन गाउँपालिका– २ भुर्की टोल बस्ने लक्ष्मण चौधरी हुनुहुन्छ । १४–१५ पुस्तादेखि अग्निसाइर देवतालाई पूजा–अर्चना गर्दै आइरहेको यहाँका मानिसका साथै पुजारी बताउनुहुन्छ ।
यहाँका बासिन्दामा आफ्ना घर–परिवारमा भएको रोगव्याधि र समस्या अग्निसाइर देवस्थलमा आएर भाकल गरियो भन्ने यथाशीध्र निको हुने तथा आफूले राखेको मनोकामना पूरा हुने विश्वास गरिन्छ । त्यसैले यो देवस्थललाई धार्मिक पर्यटकीय स्थलको रूपमा चिनाउन स्थानीय तहबाट समयमा नै राम्रो तरिकाले व्यवस्थापन गर्न पहलको आवश्यकता देखिन्छ ।
त्यस्तै, कृष्णासवरनको पौराणिक मान्यताअनुसार किसन यादव र सवरन यादव नाम गरेका दुईजना दाजुभाइ यस क्षेत्रमा बसोवास गर्थे । यदुवंशी समुदायका उनीहरू आफूसँग भएको भैँसी चराउन चुरे क्षेत्रतर्फ जाँदा एक दिन बाटोमा बोटबाट ज्यामिर झर्यो र बोट देखेर उनीहरू पनि थप ज्यामिर टिप्न बोटतिर जाँदा अचानक आएको सलहेशको हात्तीको आक्रमणमा परी दुवै भाइको मृत्यु भएको थियो । तत्पश्चात् उक्त स्थानलाई कृष्णासवरन नामकरण गरि धार्मिक स्थल बनाइएको जनश्रुति छ । महुली बजारदेखि १५ किलोमिटर उत्तरतिरको दूरीमा रहेको उक्त मन्दिर अग्निसाइर कृष्णासवरन गाउँपालिकाको वडा नं. १ मा पर्छ । सो मन्दिरमा दुवै दाजुभाइको अहिले पनि कंकाल यथावत् नै रहेको छ । सो मन्दिरमा स्थानीय तथा विभिन्न ठाउँबाट मानिस दुध, खिर तथा घिउलगायतले पूजा–अर्चना गर्ने गर्छन् । यस मन्दिरमा सोमबार, बुधबार र शुक्रबार बढी भिडभाड तथा पूजा–अराधना हुने गर्छ । सुत्केरी हुँदा आमाको दुध नआएमा वा आमाको दुध बच्चालाई नपुगेको खण्डमा यस मन्दिरमा भाकल गर्दा पुग्ने तथा सन्तान नहुनेले सन्तानका लागि भाकल गरे सन्तानसमेत हुने मान्यता रहिआएको छ ।
अन्य धार्मिक पर्यटनका क्षेत्र
यस गाउँपालिकाको वडा नम्बर १ मा पर्ने कैली खोला उत्तरबाहिनीको समेत अनौठो प्रकृति रहेको छ । खोलानालाहरू उत्तरबाट दक्षिण बग्ने गरे तापनि यो खोला ठ्याक्कै उल्टो बग्ने गरेको छ । अर्थात् यो खोला दक्षिणबाट उत्तर बग्ने गरेको छ । साउन र भदौ महिनामा मानिस बोलबमका लागि समेत यस खोलाको पानी लिई जाने गरेका छन् ।
वडा नम्बर ४ मा रहेको कजरादह मन्दिरसमेत रमणीय स्थानमध्ये एक पर्दछ । पौराणिक मान्यताअनुसार सो क्षेत्रमा कुनै समय ठूलो बस्ती रहेको थियो । ठूला–ठूला भूकम्पले गर्दा सो क्षेत्र गहिरो हुँदै गयो र उक्त क्षेत्रको बस्तीहरूसमेत पुरियो । हाल पनि यो क्षेत्र खन्दा पुराना इँटाहरू, भाँडाकुँडाहरू निस्कने गरेको छ । यसै वडामा रमानन्दप्रसाद सिंह र दुर्गानन्दप्रसाद सिंहले निर्माण गरेका बौद्धधर्महरूका लागि बौद्ध विहारमा समेत बर्सेनि नेपालका सबै क्षेत्रबाट बौद्धधर्म मान्ने मानिसलगायतको बाक्लो भिड हुने गरेको छ । सोही वडामा रहेको कटाहा भेडियामा वैशाख ३० गते लाग्ने मेलामा हजारौँ बलि चढाउने तथा हजारौँको भिड हुने गरेको छ ।
वडा नम्बर ६ अन्तर्गत रहेको गुरमुराइन मन्दिरको मान्यता फरक छ । यस क्षेत्रमा एकपटक एउटै जातिभित्र थारूहरूको विवाह हुँदा ठूलो भुइँचालो आएको र विवाहमा सहभागी सबैजना पत्थर भएका थिए भन्ने जनश्रुति छ । यो क्षेत्र कुनै समय जंगल रहे तापनि हाल करिब दुई वर्षदेखि मन्दिर निर्माण भएर वार्षिक रूपमा वैशाख १ गते ठूलो मेला लाग्ने गरेको छ ।
स्थानीय उत्पादन
यस गाउँपालिका दुधले समेत नेपालमै परिचित रहेको छ । महुलीको दुध भनेर परिचित यस गाउँपालिकाबाट उत्पादित दुध नेपालको कुनाकुनासम्म पुग्ने गरेको छ । आ.व. ०७३/७४ को तथ्यांकअनुसार ११ लाख ३ सय लिटर दुध यस क्षेत्रबाट मात्र उत्पादन भएको थियो । उष्ण प्रदेश भएकोले यहाँ आँपको उत्पादन पनि प्रशस्त हुन्छ ।
जातीय जनसंख्याको आधारमा यस क्षेत्रमा थारू, यादव, सदाय, मुस्लिम, साह, बनियाँ, ब्राह्मण, खत्वे मण्डल, धानुक मण्डल, राम, सरदार, पासवान, कियोट, भेरियर, डोमलगायत विभिन्न जातजातिसँगै पहाडी समुदायको समेत बाक्लो बसोवास रहेको छ ।
श्रोत : अग्निसाइर कृष्णासबरन गाउँपालिका, तस्विर : भ्वाईस अफ थारुज
प्रतिक्रिया दिनुहोस