१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

ऐतिहासिक महत्वले भरिपूर्ण रतुवामाई नगरपालिका



  • आफ्नै खबर
  • १२ चैत २०८० सोमबार (८ महिना अघि)
  • पाठक संख्या ७४
  • मोरङ जिल्लामा रहेको रतुवामाई नगरपालिकाको नामकरण यसको पूर्वतर्फ पर्ने रतुवाखोलाको आधारमा भएको हो । रतुवाखोलालाई अघि रत्नमातृका भनिन्थ्यो । यसको अपभ्रंश भई रतुवामाई हुन पुगेको हो । जसको कारण नगरपालिकाको नाम पनि रतुवामाई रहन गयो । यहाँ रत्नलाई तुवा भनियो भने माईलाई आमाका रूपमा यथावत् राखेर रतुवामाई बनाइएको हो । रत्नमातृका नदी ऐतिहासिक कालमा निकै प्रख्यात थियो । किनकि यसको किनारी भागमा थुप्रै बस्तीहरू थिए । बुद्ध, अशोक, चिनियाँ यात्री ह्वेनसाङहरूले यस भेगको भ्रमण गरेको ऐतिहासिक प्रमाणहरू पाइएका छन् । यस नगरपालिकाको पश्चिमतिर भने बक्राहाखोला पर्दछ । 


    यो नगरपालिकाको सबै भूभाग सम्म परेको तराई क्षेत्रमा अवस्थित छ । मोरङको सिजुवा, बरडंगा, गोविन्दपुर, झुर्किया, महादेवा र इटहरालगायतका क्षेत्रलाई मिलाएर यो नगरपालिका स्थापना गरिएको हो । यस भेगमा धेरै पहिलेदेखि मानिसको बसोवास भएको देखिन्छ । अघि मोरङ क्षेत्र झाडीका रूपमा रहँदा पनि यस भेगका खोलाकिनाराहरूमा स्थानीय आदिवासीको बसोवास थियो । यस नगरपालिकाभित्रका विभिन्न भागमा अहिले पनि त्यस्ता पुराना बसोवासको केन्द्रका अवशेष पाउन सकिन्छ । 


    अघि रतुवामाई क्षेत्र विभिन्न रजौटाहरूको अधीनमा थियो । कुनै बेला यो स्थान प्राग्ज्योतिषपुरमा पर्दथ्यो । पछि गएर यो भेग मत्स्य देशभित्र पर्न पुग्यो । त्यसबेला रतुवामाई क्षेत्र विराज राजाको अधीनमा थियो । यसैगरी यो प्रदेश इसापूर्व कालमा नै पुण्डुवर्धनको महत्वपूर्ण क्षेत्रका रूपमा रह्यो भने मध्यकालताका यस भेगमा मुरेहाङको अस्तित्व रह्यो । त्यसपछि धनपाल, सुनवर्षी महाराज र अन्य राजौटाहरूको अधीनमा पर्दै रतुवामाई क्षेत्र पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । पाल्पाली सेनहरूले विजयपुरलगायतका क्षेत्र एकीकरण गर्दा यो भेग तिनको अधीनमा परेको हो । नेपाल एकीकरणको अभियानपछि भने सम्पूर्ण विजयपुर बृहत्तर नेपालमा गाभियो र यो भेग पनि स्वतः बृहत्तर नेपालमा पर्न पुग्यो । त्यसपछि यो भेग केही समयका लागि साँगुरीगढीबाट प्रशासित भयो । कालान्तरमा यस नगरपालिका क्षेत्रको प्रशासन मोरङ गोश्वाराबाट गर्न लागियो । यसको केन्द्र रंगेली थियो । १८७२ सालमा यस भेगको सदरमुकाम साँगुरीगढीबाट रंगेलीमा सारिएको हो । पछि जिल्ला विभाजनका क्रममा रतुवाखोलालाई सिमाना बनाएर यो क्षेत्र मोरङभित्र परेको हो ।

     
    यो नगरपालिकामा विभिन्न जातजातिका मानिसको बसोवास छ । ७५ जातजातिको बसोवास रहेकोमा सबैभन्दा बी जनसंख्या पहाडे ब्राह्मणको रहेको छ । त्यसपछि क्षेत्री, ताजपुरिया र मुस्लिम आदि जातजातिका मानिसको बसोवास रहेको छ ।

     
    यो नगरपालिकामा अनेक प्रकारका मेला र चाडपर्व मनाउने गरिएको छ । विशेषगरी यहाँका आदिवासीले ग्रामथानमा पूजाआजा गर्दछन् । यहाँ ग्रामथानहरूमा वैशाख महिनामा पूजाआजा हुने गरेको छ भने जेठ–असारमा असारे पूजा हुने गरेको छ । सुनवर्षी पोखरी क्षेत्रको ग्रामथानमा वैशाख १ मा मेला लाग्ने गर्दछ । 

    भल्खुवा पर्यटक स्थल


    यो नगरपालिका क्षेत्रमा ठूला पर्यटकीय क्षेत्रको अभाव भए पनि सुनवर्षी पोखरी, शिवनाथ मन्दिर, ओमकारेश्वर शिवालायजस्ता धार्मिक पर्यटकीय स्थल भने नभएका होइनन् । तर, यसको प्रवद्र्धनको अभावले चर्चा भने आवश्यकताअनुसार पाउन सकेका छैनन् । 


    रतुवामाई नगरपालिकाको सबैजसो जमिनमा खेती गर्ने गरिएको छ । यहाँको जमिन खेतीयोग्य भएको तथा विभिन्न खोलाबाट पानीका लागि नहर बनाइएको हुँदा यहाँँ खेतीपाती गर्ने मानिसको संख्या निकै बढी छ । सबै जमिनमा वर्षैभरि सिँचाइको सुविधा नभए पनि यो नगरपालिका खेतीपातीको लागि भने उचित भूबनोट भएको पालिका हो । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?