१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

ज्येष्ठ नागरिकलाई परम्परागत सीप हराउने चिन्ता



  • आफ्नै खबर
  • १४ चैत २०८० बुधबार (८ महिना अघि)
  • पाठक संख्या ११०
  • काभ्रेपलाञ्चोक/ हरेक मानिसलाई आफ्नो रीति, परम्परा, संस्कृति, परम्परागत सीपको माया नहुने भन्ने हुँदैन । आफ्नो पुस्तामा प्रचलित संस्कृति र सीप हराउने पो हो कि भन्ने चिन्ता उमेर बढ्दै जाँदा थपिँदै जाने देखिन्छ ।

     
    पनौतीका ज्येष्ठ नागरिक पनि यो चिन्तामा परेका छन् । त्यसैले त्यहाँका ज्येष्ठ नागरिकले नयाँ पुस्तालाई परम्परागत सीप सिकाउन थालेका छन् । पनौती नगरपालिका– ७ की ९२ वर्षीया गणेशमाया देउला एक सातादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहनु भएको छ । नेवार समुदायमा गरिने कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गर्नु भएको हो । 

    नयाँ पुस्ताका महिलाले पनि परम्परागत सीप सिक्ने इच्छा राखेको उहाँको भनाइ छ । त्यसैकारण आफूले जानेको सीप सिकाउन सुरु गरेको र यसले परम्परागत सीप नहराउनेमा उहाँ दंग हुनुहुन्छ । ‘सिक्न मन लागेको भनेर मन गरेपछि मिम्चा, ढकिचा, पिचा, खंैचा, कलालीलगायत सामग्री बुन्ने सीप सिकाइरहेकी छु,’ उहाँले भन्नुभयो, ‘सिक्ने भनेर इच्छा व्यक्त गर्नेहरू भेटेपछि खुसीका साथ आफूले जानेको सीप सिकाएकी हुँ ।’


    परम्परागत सीप सिकाउने गणेशमाया मात्र होइन । उनलाई ८६ वर्षीया आशामाया देउला र ८५ वर्षीया दिलमाया देउलाले पनि साथ दिइरहनु भएको छ । 


    सीप सिक्न आएकी पनौती– ७ की ललिता नापितले आमाहरूपछि परम्परागत सीप नै हराएर जाने अवस्था भएकाले चोया काट्ने र बुन्ने सीप सिक्न थालेको बताउनुभयो । ‘पहिला त निकै गाह्रो भएको थियो, सिक्दै जाँदा सहज हुने रहेछ,’ बुनेको मिमिचा देखाउँदै उहाँले भन्नुभयो, ‘यो हाम्रो नेवार समुदायका बालबालिकाको बेलविवाह गर्ने, व्रतबन्ध गर्ने र पूजा गर्ने बेलामा सामग्री राख्नका लागि नभइहुँदैन, यसको आवश्यकता पूरा गर्न अब आफैँ बुन्न सक्ने भएकी छु ।’

    परम्परागत सीप हस्तान्तरणका लागि पनौती पर्यटन विकास केन्द्रले तालिमको आयोजना गरेपछि यहाँका महिलाले सो अवसर पाएका हुन् । एकातिर जन्मदेखि मरणसम्म आवश्यक गर्ने सामग्री बनाउने सीप सिक्न पाउनु र अर्काेतिर सजावट तथा कलात्मक सामग्री बनाउने तालिम लिन पाउनु खुसीको कुरा भएको सहभागीको भनाइ छ । 
        

    सीप सिकेसँगै यसलाई व्यावसायिक रूप दिने सम्भावनासमेत देखिन थालेको छ । ‘सामग्री देख्दा कसरी बुन्ने र उत्पादन गर्ने होला भन्ने खुल्दुली लागिरहेको थियो, अहिले आएर घरमा नै बसेर सिक्ने अवसर मिल्यो,’ पनौती– ७ की मेरिना सैँजूले भन्नुभयो, ‘यसले अब परम्परागत सामग्री बनाउनेसँगै व्यावसायिक बन्ने बाटो खुल्ने आत्मविश्वास बढेको छ ।’ हरेक पसल, होटेल, घर र बजारमा सजाएर राखेको सामग्री देखेर यसले व्यावसायिक रूपमा अगाडि बढ्न मद्दत पुग्ने विश्वास बढेको उहाँले बताउनुभयो । 


    तालिमबाट सिकेको सीपमार्फत उत्पादन हुने सामग्री पर्यटन विकास केन्द्रले खरिद गर्ने र त्यहीँबाट बिक्री गर्ने योजनामा विकास केन्द्र रहेको छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?