२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

पृथ्वीकै उत्कृष्ट उपहार फक्ताङलुङ गाउँपालिका



  • आफ्नै खबर
  • १६ चैत २०८० शुक्रबार (१ बर्ष अघि)
  • पाठक संख्या १५३
  • फक्ताङलुङ प्रदेश नम्बर १ अन्तर्गत ताप्लेजुङ जिल्लाको उत्तरी भेगमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र कुम्भकर्णको काखमा अवस्थित गाउँपालिका हो । प्राकृतिक रूपमा संसारलाई नेपाल चिनाउन सफल हिमालदेखि ऐतिहासिक महत्व बोकेको फोक्लेनदेखि ओलाङचुङगोला र कञ्चनजंघा संरक्षण क्षेत्रसमेत यही गाउँपालिकामा समेटिएको छ । 
    त्यस्तै, नेपाल तथा विश्वकै उत्कृष्ट नेत्रविशेषज्ञ डाक्टर सन्दुक इरुत राईको जन्मथलोसमेत यसै गाउँपालिकामा पर्दछ । विविध सांस्कृतिक सम्पदाको धनी यो गाउँपालिका साबिकका सवादिन, खेजनिम, लिङखिम, इखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोला गरी सातवटा गाउँ विकास समिति समायोजन भएर बनेको हो ।

    भौगोलिक अवस्थिति
    ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङदेखि उत्तरमा अवस्थित यो गाउँपालिका समुद्री सतहदेखि १४४२ मिटर औसत उचाइ र १८५८.५१ वर्गकिलोमिटर क्षेत्रफलमा विस्तारित छ । यस गाउँपालिकाको पूर्वमा ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका, पश्चिममा मिक्वाखोला गाउँपालिका, उत्तरमा चीन तथा दक्षिणमा फुङलिङ नगरपालिका पर्दछन् । 

    प्राकृतिक उत्कृष्टता 

    कञ्_चनजंघा हिमाल (लेलेप)
    कञ्_चनजंघा हिमाल (लेलेप)


    तत्कालीन सरकारले पृथ्वीको उपहार भनेर १९९७ मा घोषणा गरेको कञ्चनजंघा संरक्षण क्षेत्र यसै गाउँपालिकामा पर्दछ । ताप्लेजुङ जिल्लाको उत्तरी भेगमा अवस्थित एक असाधारण प्राकृतिक परिदृश्य, अद्वितीय वनस्पति र जीवजन्तुको बाहुल्य, विश्वप्रसिद्ध कुम्भकर्ण हिमाल र कञ्चनजंघा हिमालको मनमोहक प्राकृतिक सौन्दर्यले भरिएको फक्ताङलुङ गाउँपालिका वास्तवमै पृथ्वीकै उत्कृट उपहारका रूपमा रहेको छ ।
    विश्वमा दुर्लभ मानिने जीवजन्तु, वनस्पति, रेडपान्डा, चरीबाघ, जरायो, एसियन कालो भालु तथा विभिन्न लोपोन्मुख वनस्पति यस गाउँपालिकामा पाइन्छन् । त्यसैले यस गाउँपालिकालाई ‘होम अफ लियोपार्ड’ भनेर पनि चिनिन्छ । 

    नामकरण
    स्थानीय लिम्बू भाषामा कुम्भकर्ण हिमाललाई फक्ताङलुङ भनिने र कञ्चनजंघा हिमशृंखलाअन्तर्गत कुम्भकर्ण हिमाल यसै गाउँपालिकामा पर्ने हुनाले यस गाउँपालिकाको नामकरण फक्ताङलुङ गरिएको हो । ०६८ सालमा भएको दुःखदायी हेलिकोप्टर दुर्घटना पनि यसै गाउँपालिकाको लेलेप भन्ने स्थानमा भएको थियो जसमा नेपालका सुप्रसिद्ध भूगोल तथा योजनाविद्का रूपमा प्रसिद्धि प्राप्त डा. हर्क गुरुङलगायत आठजना संरक्षणविद्को ज्यान गएको थियो । 

    धरातलीय अवस्था
    फक्ताङलुङ गाउँपालिकाको धरातल विविधतापूर्ण रहेको छ । यहाँ कञ्चनजंघा हिमचुचुरा (८,५८६ मिटर) देखि तमोर नदीको किनार (८६० मिटर) सम्म र हिमालपारिको गाउँ ओलाङचुङगोलादेखि जिल्ला सदमुकाम फुङलिङ नगरपालिकाको सिमानासम्म फैलिएर रहेको छ । 

    नदीनाला
    जलस्रोतका हिसाबले यो गाउँपालिका धेरै सम्पन्न देखिन्छ । यहाँ उच्च हिमाली क्षेत्रमा हिमनदीदेखि लिएर तमोरजस्तो ठूलो नदीको उद्गमस्थलसमेत पर्दछ । यहाँ छिजिमे र रामदाङजस्ता महत्वपूर्ण हिमनदीहरू छन् भने घुन्साखोला र थासाखोलाजस्ता ठूला खोला पनि यहाँ रहेका छन्, जसबाट जलविद्युत्लगायत अन्य सम्भावना रहेको देखिन्छ । 

    सांस्कृतिक उत्कृष्टता 
    फक्ताङलुङ गाउँपालिका किराँत संस्कृति र मूल्य–मान्यताको सङ्गमस्थल रहेको छ । स्थानीय मौलिक लिम्बू भाषा बोलीचालीको भाषाका रूपमा भए तापनि नेपाली भाषाको प्रयोग बढी हुने गरेको पाइन्छ । धार्मिक रूपमा हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको बाहुल्य रहेको यस क्षेत्रमा मनाइने चाडपर्वहरूमा माघेसंक्रान्ति, पञ्चमी, चैतेदसैँ, भैलो, साउनेसंक्रान्ति, दसैँ, तिहार, भुवो, जनैपूर्णिमाजस्ता चाडपर्व मनाइने गरिन्छ । 
    धार्मिक तथा भाषिक रूपमा करिब एकरूपता रहेको यस क्षेत्रमा चाडपर्वका समयमा गरिने विभिन्न क्रियाकलापले यहाँको सामाजिक र सांस्कृतिक उत्कृष्टता झल्काउने गर्दछन् । यसरी विभिन्न जातजाति र सांस्कृतिक विविधता रहेको यो गाउँपालिका सांस्कृतिक रूपमा प्रसिद्ध रहेको छ । 

    विकासका सम्भावनाहरू
    फक्ताङलुङ गाउँपालिका क्षेत्रभित्र विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक पूर्वाधारको अवस्थाको आधारमा विकासका सम्भावनाहरू प्रशस्त रहेका देखिन्छन् । त्यसैले यस गाउँपालिकाको नारा नै फक्ताङलुङको पहिचान ः अलैँची, जडीबुटी, जलविद्युत् र पर्यटन रहेको छ । 

    धार्मिक तथा पर्यटकीय क्षेत्र

    घुन्सा गाऊँ
    घुन्सा गाऊँ


    यो गाउँपालिकामा धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरू प्रशस्त रहेका छन् । यहाँका चर्चित धार्मिक क्षेत्रहरूमा गारुजुरे, पाक्चेयक्मा, ज्योदाङ छ्योसाङ, वाग्मा पोखरी, किराँत मन्दिर, पाथीभरा मन्दिर, नागथान, माङझिङगा, इम्बिरी थाङवामा किराँत माङहिम, फक्ताङलुङ, दिकिह्योलिङ गुम्बालगायत रहेका छन् । त्यस्तै, पर्यटकीय महत्व बोकेका माङझांगा, मुरिङला, कञ्चनजंघा, कुम्भकर्ण हिमाल यहाँ रहेका छन् । यहाँ आउने पर्यटकलाई सेवाका लागि पालिकाका धेरै ठाउँमा पर्यटकस्तरीय होटेल, रिसोर्ट तथा रेस्टुरेन्ट पनि प्रशस्त रहेका छन् ।