दाङ/ बबई गाउँपालिका– ५ मा पर्ने पुरन्धरा झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । ४५ फिट उचाइबाट झर्ने झरनाको मनमोहक दृश्यका कारण यो स्थान आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुन थालेको हो ।
पहिले यस झरनाबारे कुनै चासो नभए पनि पछिल्लो समय सामाजिक सञ्जालबाट प्रचार हुन थालेपछि दैनिक पर्यटकको भिड लाग्न थालेको छ । झरनामा पुग्ने जोकोही एकैपटकमा झरनाको आकर्षणबाट मोहित हुने स्थानीयको भनाइ छ । बढ्दो गर्मीयामसँगै झरनाको फेदीमा सेल्फी खिच्ने र पौडी खेल्नेको संख्या बढेको छ । दाङ र अन्य छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेको गाउँपालिकाका कर्मचारी कुलबहादुर बुढाले जानकारी दिनुभयो । बुढा झरनामा पार्किङ व्यवस्थापनका लागि बबई गाउँपालिकाले खटाएको कर्मचारी हुनुहुन्छ । उहाँका अनुसार दैनिक तीनदेखि चार सयसम्म आन्तरिक पर्यटक झरना अवलोकन तथा वनभोज खान आउने गर्छन् ।
बिदाको दिन झरनाको अवलोकन गर्न आउनेको संख्या बढी हुने गर्छ । उहाँका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइलको ३० रुपैयाँ, कार तथा जिपको दुई सय र बसको दुई सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
पहिले झरनामा कर्मचारीको व्यवस्था नभए पनि हाल संरक्षण तथा पर्यटकको सुविधाका साथै सुरक्षाका लागि कर्मचारीको व्यवस्था गरिएको छ । सवारी पार्किङ शुल्कको आम्दानीले कर्मचारी व्यवस्थापन र पूर्वाधार निर्माणमा सहयोग पुगेको छ । झरनाको अवलोकन गर्न तुलसीपुरबाट पहिलोपटक आउनुभएका २५ वर्षीय श्याम चौधरीले झरना आकर्षक भएको बताउनुभयो । ‘यति राम्रो झरना होला भनेर सोचेको पनि थिइनँ,’ उहाँले भन्नुभयो, ‘यसलाई अझै व्यवस्थित रूपमा संरक्षण गरी वरपरको वातावरण सफा राख्नुपर्छ ।’
अर्का आन्तरिक पर्यटक तुलसीपुर उपमहानगरपालिका– ६ रजौराकी राधा रजौरेले झरना संरक्षण तथा संवद्र्धन गरी भौतिक पूर्वाधार निर्माण गर्न सके पश्चिम दाङको मुहार फेरिने बताउनुभयो । दंगीशरण गाउँपालिका– ३ का ओमभक्त चौधरीले दश वर्षअघि पञ्चकुलेबाट ६ घण्टा पैदल हिँडेर झरना हेर्न आएकामा अहिले गाडी चढेर आउन पाउँदा खुसी लागेको बताउनुभयो ।
तुलसीपुर–हापुरे–सुर्खेतखण्डको टवाङ खोलाबाट आठ किलोमिटर दक्षिण–पश्चिममा पर्ने उक्त झरनासम्म पुग्ने बाटो पक्की बनाउन सके बाह्रै महिना पर्यटक ल्याउन सकिने स्थानीयको भनाइ छ । झरनावरपर कुनै बस्ती छैन । सयौँ वर्षको इतिहास बोकेको सो झरना क्षेत्रमा पहिले घनघोर जंगल र जंगलको बीचमा सानो बाटो थियो । स्थानीयवासी गाईवस्तु चराउन, घाँस दाउरा काट्न झरना आसपासमा गोठ बनाएर बस्थे ।
झरनादेखि एक सय मिटरको दूरीमा सिद्धेश्वर महादेवको मन्दिर छ । त्यस मन्दिरमा शिवरात्रिमा ठूलो मेला लाग्ने गर्दछ । झरनासँगै जोडेर पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जंगली जनावर, चराचुरुंगी र जीवजन्तु अवलोकन गराउन सके आन्तरिक तथा बाह्य पर्यटक थप आकर्षित गराउन सकिने यहाँ आइपुगेका पर्यटक बताउँछन् ।
बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले झरनाको विकासका लागि गुरुयोजना बनाई पूर्वाधार निर्माणको काम थालिएको बताउनुभयो । झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनाउन पहल भइरहेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस