१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

मातृभाषा सिक्दै दुरा समुदाय



  • आफ्नै खबर
  • २१ चैत २०८० बुधबार (८ महिना अघि)
  • पाठक संख्या ८१
  • तनहुँ/  लमजुङबाट बसाइँ सरेर तनहुँको व्यास नगरपालिकामा बसोवास गरिरहेका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । लमजुङको दुराडाँडाबाट र कुन्छाबाट बसाइँ सरी तनहुँसुर चिसापानीमा बसोवास गरिरहेका १५ जना लाई जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजले संयुक्त रूपमा मातृभाषा सिकाउन थालेका हुन् । 

    दुरा जातिले आफ्नो मातृभाषा बिर्सिएकाले तालिमकै आयोजना गरेर सिकाउन थालिएको दुरा सेवा समाजका सदस्य दिलु दुराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक जातिले आफ्नो भाषा, संस्कृति जोगाउनुपर्नेमा मातृभाषासमेत बिर्सँदै गए । त्यसैले भाषा संरक्षणका लागि तालिम आयोजना गरेका हौँ ।’ दुरा सेवा समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार देव दुराले भाषा आयोगको नमुनाअनुसारका पाठ्यसामग्री समावेश गरेर सुरु गरिएको तालिम चैत २६ गते सकिनेछ । 

    दुरा जातिले आफ्नो भाषा बिर्सिँदै गएकाले मातृभाषा तालिम सञ्चालन गरेर उदाहरणीय प्रयास भएको व्यास नगरपालिका– ११ का वडाध्यक्ष दलबहादुर दुराले बताउनुभयो । सोही वडाका सदस्य गोकुल दुराले भाषा सिकेर नै पहिचान जोगाउन सकिने धारणा राख्नुभयो । 

    दुरा सेवा समाज तनहुँका अध्यक्ष कृष्णबहादुर दुराले यसअघि व्यास नगरपालिका– १ र ४ मा बसोवास गर्ने दुरा समुदायलाई मातृभाषा सिकाइएको जानकारी दिनुभयो । तालिममा मुक्तिनाथ घिमिरे र कमला दुराले भाषा सिकाइरहनुभएको छ । 

    दुराडाँडाको गणेश माध्यमिक विद्यालयमा अध्यापन गराउँदा त्यसै क्षेत्रमा दुरा भाषाको शब्द संकलन गरेको प्रशिक्षक घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुराडाँडामा दुरा जातिको बाक्लो बस्ती छ । त्यहाँका बुढापाकासँग मैले शब्दहरू संकलन गरेँ । अहिले पछिल्लो पुस्ताले दुरा भाषा बिर्सिँदै जान थालेपछि उनीहरूलाई भाषाबारे जानकारी र तालिम दिन सहज भएको छ ।’ 

    तनहुँका विभिन्न ठाउँमा लमजुङको दुराडाँडाबाट बसाइँ सरेका दुरा जातिका व्यक्ति बसोवास गरेको पाइन्छ । नेपालमा दुराहरूको संख्या करिब पाँच हजार चार सय रहेको बताइएको छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?