२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

फक्ताङलुङको गहना बन्दै ‘सिङ्जेमा ताल’

प्राकृतिक दृश्य, पहाडी रोमाञ्चकता र २ दिनको पैदल यात्रा समेटिएको पर्यटकीय गन्तव्यको रूप लिँदै 



  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या ४३१
  • ताप्लेजुङ/ जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालबारे विभिन्न माध्यमबाट प्रचार हुन थालेपछि यो ताल जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा चिनिन थालेको हो । 

    मुख्य–मुख्य चाडपर्वमा यो ताल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ । आउँदो नयाँ वर्ष २०८१ को अवसरमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा बढ्ने उनीहरू बताउँछन् । गएको दसैँ–तिहारको अवधिमा झन्डै ५ सय आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा ताल क्षेत्रको भ्रमण गरेको फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन लामाले बताउनुभयो ।

    हाल निर्माणाधीन तमोर करिडोर सडक ओलाङचुङगोला जोडिने भएपछि सिङ्जेमा ताल घुम्न आउने पर्यटकको संख्या वृद्धि हुने वडाध्यक्ष लामाको अनुमान छ । उहाँका अनुसार पूर्वको विभिन्न जिल्लाका साथै काठमाडौंलगायतका ठाउँबाट सिङ्जेमा क्षेत्रमा पर्यटक आउने गर्छन् । नयाँ वर्षमा करिब ६ सयको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने स्थानीयवासीको अनुमान छ ।

    फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलामा पर्ने यो ताल ओलाङचुङगोलाको बस्तीबाट १ दिनको पैदलदूरीमा रहेको छ । सामुद्रिक सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको यस तालकोे क्षेत्रफल र गहिराइ भने अझै मापन भएको छैन । ताललाई १ फन्को लगाउन १ घण्टाभन्दा बढी समय लाग्छ । प्राकृतिक रूपमा मनोरम मात्रै नभई स्थानीयले यस ताललाई धार्मिक महत्वको रूपमा पनि लिने गरेका छन् । तालमा भाकल गरी पूजा गर्दा मनोकांक्षा पूरा हुने स्थानीयको विश्वास छ ।

    तालसँग जोडिएका केही पुराना किंवदन्ती छन् । स्थानीयका अनुसार यस तालको किनारमा १ जना स्थानीय भोटे बसिरहेको बेला तालबाट एउटा चौँरी निस्कियो । त्यो चौँरीको गोबर भोटेले घरमा लगेपछि उनी धेरै सम्पन्न भएका थिए । स्थानीय फुजुङ शेर्पाका अनुसार धेरै वर्षअघि त्यस तालको छेउमा भेडीगोठ बस्दा पोखरीबाट एउटा भेडाको थुम्बा निस्केर बगालमा मिसियो । त्यसलाई गोठालाले मारेर खाए । त्यसपछि फेरि तालबाट २ वटा भेडा निस्किए । ती दुई भेडाले बगालको सबै भेडालाई सुँघे । त्यसपछि बगालको सबै भेडा तालमा पसेर हराए ।

    तालको उत्तरतिर पूजा गर्न एउटा थान बनाइएको छ । यस थानमा त्यहाँ पुग्ने जोकोहीले भाकल गर्ने चलन छ । तालमा जाँदा बिहान चोखो मुखमा जाने र आफूसँग जे छ त्यही चढाउने चलन छ । त्यसैले प्रायः दर्शनार्थीले पूजाथानमा गरगहना, घडी, औँठी, चुरालगायतका सामान चढाएको देखिन्छ । कसैले सुन, चाँदी, पैसा, नगद सिक्का चढाउने गरेका छन् । तर, ती भेटी, गहनाको संकलन र उचित व्यवस्थापन हुन सकेको छैन । 

    कसरी पुग्ने ?

    सिङ्जेमा ताल पुग्न ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि तमोर करिडोरको कच्ची सडक भएर गाडीमा ओलाङचुङगोलासम्म जान सकिन्छ । ओलाङचुङगोलामा वास बसेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा २–३ घण्टामुनिको छेर भन्ने ठाउँको चौँरीगोठमा वास बस्न पुग्नुपर्दछ । तालक्षेत्र जाने बाटोमा होटेल, चिया पसलजस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । आवश्यक सामग्री आफैँले बोक्नुपर्दछ । चौँरीगोठमा खाना, चिया र सुत्नका लागि सामान्य व्यवस्था हुन्छ । त्यसैले पनि यो यात्रा रोमाञ्चक हुन्छ ।

    चौँरीगोठबाट भोलिपल्ट ३–४ घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ । तालको अवलोकन र दर्शनपश्चात् गोठमा आइपुगेर खाना खाई ओलाङचुङगोलासम्म फर्किन सकिन्छ । व्यवस्थित यात्राका लागि टेन्ट, स्लिपिङब्यागलगायतका सामग्री लिएर जान सकिन्छ । 

    तालक्षेत्रमा जाने उपयुक्त मौसम वैशाख अन्तिमदेखि असोज पहिलो सातासम्म हो । वैशाखदेखि असोजसम्म यस क्षेत्रमा गोठ बस्ने भएकाले वास बस्ने ठाउँ पाइन्छ । अरू बेलामा गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुने गर्दछ । यस तालको दर्शन गर्न जाने परम्परा धेरै पुरानो हो । तर, त्यतिबेला यहाँ पुग्नेहरू ओलाङचुङगोला आसपासका मात्रै हुन्थे । लेलेप, तापेथोक, लुङथुङ, हेल्लोक, इखाबु, लिङखिम, खेजेनिम क्षेत्रका मानिस तालको दर्शनमा जाने चलन थियो । यो तालबारे ती स्थानीयबाहेक अरूलाई थाहा थिएन । तर, पछिल्लो समय सिङ्जेमा तालको दर्शनमा जानेको संख्या बढ्दो छ । 

    स्थानीय गोठवाला तेम्बा शेर्पाले पर्यटकीय यामको बेला दैनिक ६ देखि १२ जनासम्मलाई खाना र वास दिँदै आएको बताउनुभयो । पैदल हिँड्ने बाटोमा जम्मा ३ वटा चौँरीगोठ मात्र रहेका छन् । गोठवालाले ताल घुम्न आउने पर्यटकलाई लक्षित गरी चामल, तरकारी, नुन, तेल, मसला र ओढ्ने–ओछ्याउनेको व्यवस्था गरेका छन् । एउटा गोठमा १० जनासम्मलाई वास दिन सकिने स्थानीय गोठाला फुजुङ शेर्पाले बताउनुभयो । विगतमा साउन र भदौमा मात्रै ताल घुम्न आउने भए पनि अहिले तालको प्रचारप्रसार भएसँगै वैशाख लाग्नुअघिदेखि पर्यटकको आगमन हुन थालेको स्थानीय तेम्बा शेर्पाको भनाइ छ ।

    ओलाङचुङगोलावासीका अनुसार युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले तालको प्रचार गरेपछि पर्यटक त्यस ठाउँप्रति आकर्षित हुँदै गएका हुन् । ताल भ्रमण गर्न वार्षिक कति पर्यटक आए भन्ने तथ्यांक राखिएको छैन । सिङ्जेमा ताल कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने भएकाले यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो । 

    सिङ्जेमा तालमा पछिल्लो समय चलचित्र छायांकन, वृत्तचित्र बनाउनेको संख्या बढेको छ । यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न परिषद्को स्वीकृति अनिवार्य रहेको छ ।
    रासस