नवलपरासी/ नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भिड लाग्न थालेको छ ।
डाँडामा रहेको तीनकन्या माईको दर्शन गर्न आउनेको संख्या बढेको देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताउनुभयो । चैतेपूर्णिमामा यहाँ पूजाका लागि ठूलो संख्यामा भक्तजन आउने गर्दछन् । उक्त दिन तीनकन्या माईको पूजा हुने गर्दछ । थारू समुदाय यस दिन शिरथान कुमारवर्ती माईका रूपमा पूजा गर्न देवचुली डाँडा आउँछन् ।
सोमबारको चैतेपूर्णिमाका दिन पूजाका लागि एक हजार ५५ जना दर्शनार्थी देवचुली डाँडा आएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
थारू समुदायका मानिस देवचुली– ६ को कीर्तिपुरमा पहिलो दिन वास बसेर माईको आराधना गरी दोस्रो दिन इन्द्रसोत पुगेर वास बस्ने गर्छन् । तेस्रो दिन अर्थात् पूर्णिमाको दिन देवचुली डाँडामा पुगेर पूजा गर्ने चलन छ । पूर्णिमाको दिन अन्य समुदायले आफ्नो मनोकाङ्क्षा पूरा होस् भनी पूजा गर्ने चलन छ ।
पूजा गर्न आउने श्रद्धालु भक्तजनको सहजताका लागि यसपटक देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले स्वयंसेवक परिचालन गरेको थियो । समितिका अध्यक्षका गिरीका अनुसार भिडलाई व्यवस्थापन गर्न सिर्जना सामुदायिक वन समूह कीर्तिपुर र चुलीबोझा मगर होमस्टेले स्वयंसेवक परिचालन गरेका थिए । पूजामा भक्तजनले भेडा, पाठापाठी, परेवा चढाउने मूल पुजारी गुनबहादुर गुरौले बताउनुभयो । समुद्री सतहदेखि १ हजार ८ सय मिटर अग्लो ठाउँमा रहेको गुफाभित्र माईको पूजा गरिन्छ ।
तीन कन्यामाईमा पूजा गर्ने प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देवचुली नगरपालिका– ६ का वडाध्यक्ष एवं देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिका सदस्य मीनबहादुर सोतीले बताउनुभयो । १९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमशृंखला, दक्षिणतर्फ सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ । द्वापरयुगमा पाँच पाण्डव द्रौपदीसहित केही समय गुप्तवास बसेको किंवदन्तीका कारण यस गुफाको धार्मिक महत्व छ ।
कसरी जाने ?
पूर्व–पश्चिम राजमार्गको दलदलेदेखि मुन्डे हुँदै देवचुली नगरपालिकाको कीर्तिपुरबाट ५ किलोमिटिरको दूरीमा देवचुली डाँडा पर्छ । कीर्तिपुरबाट पैदल हिँडेर करिब ३ घण्टामा देवचुली पुग्न सकिन्छ । सवारीसाधनमा जाने र पहाड पनि घुम्न रुचाउनेहरू बुलिङटार– ४ को बोझापोखरी हुँदै पूर्वतर्फबाट पनि चुली जान सक्छन् । कीर्तिपुर र बोझा पोखरीबाट पैदल आउनेहरू चुलीको फेदीमा भेट हुन्छन् ।
पैदलयात्रुका लागि देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले सिँढी तथा रेलिङ निर्माण गरेको छ । दलदले–बोझापोखरी–कोखेटार सडक, मुन्डे–कीर्तिपुर सडकको निर्माणले पर्यटक यहाँ आउन सहज भएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस