ताप्लेजुङ/ ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारबाट ७ घण्टामै चीनसँगको सीमा ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहुँच पुगेसँगै ओलाङचुङगोला पुग्न सहज भएको हो ।
विगत वर्षमा सदरमुकाम फुङलिङबाट ३ दिन यात्रा गरेपछि मात्र ओलाङचुङगोला पुग्न सकिन्थ्यो । बिस्तारै तमोर करिडोर सडकको ट्रयाक खुलाउने कार्यसँगै ओलाङचुङगोला पुग्न सहज हुँदै गएको थियो । केही समय अघिसम्म इलाडाँडासम्म यातायात पुग्ने गर्दथ्यो । इलाडाँडाबाट पैदलमार्ग हुँदै एक दिनमा ओलाङचुङगोला पुग्ने गरिन्थ्यो ।
अहिले भने गाडी ओलाङचुङगोलासम्म नै पुग्ने गरेको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन लामाले बताउनुभयो । लामाका अनुसार ताप्लेजुङको सदरमुकाम फुङलिङबाट करिब ७ घण्टामा ओलाङचुङगोला पुग्न सकिन्छ ।
भारतसँगको सिमाना विराटनगरको रानीबाट धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङलिङ–ओलाङचुङगोला–टिप्तालासम्म सडकको दूरी २ सय ९९ किलोमिटर
ओलाङचुगोला क्षेत्र हुँदै टिप्ताला नाका क्षेत्र, पर्यटकीय क्षेत्र सिङ्जेमा ताल क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायीको भनाइ छ । ओलाङचुङगोला हुँदै ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न निस्कनेका लागि समेत सहज भएको छ ।
तमोर करिडोरले ओलाङचुङगोला हुँदै छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लेलेप–ओलाङचुङगोला खण्डमा बाँकी रहेको ट्रयाक निर्माणको काम सम्पन्न भएसँगै तमोर करिडोरले ओलाङचुङगोला हुँदै चीनलाई जोडेको हो । तमोर करिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरी भएको सडकका रूपमा लिने गरिएको छ ।
तमोर करिडोरको सदरमुकाम फुङलिङ–ओलाङचुङगोला खण्डमा ०७४ फागुनदेखि ट्रयाक निर्माण सुरु भएको थियो । कोरोना महामारी र अन्य अवरोधका कारण ट्रयाक निर्माण सुरु भएको ६ वर्षपछि मात्र काम सम्पन्न भएको हो ।
निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्रयाक निर्माण सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिप्तालालाई सडकले जोडेको छ । उहाँका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलबाट ओलाङचुङगोलातर्फ ३७ किलोमिटर दूरीबराबर ट्रयाक निर्माण गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो ।
उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयमार्फत ट्रयाक निर्माण भइरहेको छ । ओलाङचुङगोलाबाट टिप्तालानाकासम्म ट्रयाक जोडिए पनि पहिले निर्माण भएको टिप्तालासम्मको करिब २४ किलोमिटर दूरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनर्निर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो ।
टिप्तालाबाट ओलाङचुङगोला हुँदै जंगिननजिकसम्म स्थानीयवासीले रकम संकलन गरी ट्रयाक निर्माण गरेका थिए । ओलाङचुङगोला बस्ती, मौवाटार–टिप्तालासम्म सडक मर्मत तथा पुनर्निर्माण गर्न करिब २ महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ ।
ओलाङचुङगोलाबाट टिप्तालासम्म भने ट्रयाक मर्मतका साथै पुनर्निर्माणको काम सम्पन्न भएपछि हिउँद मौसमभर यातायात सञ्चालन हुन सक्ने बताइएको छ । वर्षातका समयमा भने तमोर नदीसहित दर्जनौँ अन्य साना–ठूला खोलामा पुल आवश्यक पर्ने भएकाले मोटर गुड्ने पुल निर्माण नभएसम्म यातायात सञ्चालन नहुने सडक योजनाले जनाएको छ ।
नेपाल, भारत र चीन जोड्ने सडक भएकाले तमोर करिडोरलाई त्रिदेशीय सडकमार्ग पनि भन्ने गरिएको छ । भारतसँगको सिमाना विराटनगरको रानीबाट धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङलिङ–ओलाङचुङगोला–टिप्तालासम्म सडकको दूरी २ सय ९९ किलोमिटर रहेको बताइएको छ ।
करिडोर सडकअन्तर्गत रानीदेखि मूलघाटसम्म कालोपत्र भइसकेको र मूलघाटबाट सुभाङखोलासम्म कालोपत्र गर्ने क्रम जारी रहेको छ । बाँकी सडकमा पनि स्तरोन्नति र स्तरवृद्धिको काम निरन्तर अघि बढ्ने उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजनाले जनाएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस