२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

ट्राउट माछाको हब बन्दै रयालेको मानेदोभान



  • आफ्नै खबर
  •     (१२ महिना अघि)
  • पाठक संख्या १६०
  • काभ्रेपलाञ्चोक/  पनौती नगरपालिका– १ रयालेका उपेन्द्र कारञ्जितले फुल्चोकी रेन्बो ट्राउट कृषि फार्म सञ्चालन गरेको ५ वर्ष भयो । पहिलादेखि नै होटेल व्यवसायमा लाग्दै आउनुभएका उहाँले रयालेको मानेदोभानमा सम्भावना देखेपछि ‘फुल्चोकी रन्बो ट्राउट फार्म’ सञ्चालन गर्नुभयो । 

    उक्त व्यवसाय सञ्चालन गरेर कारञ्जितले मासिक १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म बचत गर्ने गरेको बताउनुहुन्छ । सपरिवार नै मिलेर सञ्चालन गरेको व्यवसायमा अन्य ६ जनाले रोजगारीसमेत पाएका छन् । मूलको सफा पानीमा औषधिबिना उत्पादन हुने र खानाका लागि स्वादिलो हुने भएकाले सबैको रोजाइमा ट्राउट माछा पर्ने गरेको कारञ्जितले बताउनुभयो । 

    ‘माछा खान आउनेको अत्यधिक घुइँचो लाग्छ, अब त्यससँगै खोलेसाग, लोकल कुखुरा, ढिँडोलगायतका परिकारको स्वाद लिन पाउने गरी सेवा थालेका छौँ,’ कारञ्जितले भन्नुभयो, ‘एक रात बाहिरै बिताउने चलन बढ्दै गएकोले १ वर्षदेखि फुल्चोकी होटेल एन्ड लज सञ्चालन गर्दै आएको छु । त्यहाँ एकपटकमा ३० देखि ३५ जनासम्म बस्ने व्यवस्था गरिएको छ ।’

    सोही ठाउँमा ‘बिहाबर खोला रेन्बो ट्राउट एन्ड हाम्रो खाजाघर’ सञ्चालन गर्दै आउनुभएका दिनेश तामाङले व्यवसायबाट मनग्य आम्दानी भएको बताउनुभयो । धेरैजसो ग्राहक ट्राउट माछा रुचाएर आउने गरेको र सँगै लोकल कुखुरा र अर्गानिक तरकारी, ढिँडोको स्वाद लिन रयाले मानेदोभान पुग्ने गरेको उहाँको भनाइ छ । ३ वर्षदेखि सञ्चालित व्यवसायमा ४ जनाले रोजगारीसमेत पाएका छन् । 

    यस्तै, पनौती नगरपालिका– १ पर्खालचौरका केदारनाथ सापकोटाले मानेदोभान बचत तथा ऋण सहकारीले करिब १८ वर्ष अगाडि संस्थागत रूपमा ट्राउट माछापालन व्यवसाय सुरु गरे पनि घाटामा गएपछि व्यक्तिलाई नै जिम्मा दिएर सञ्चालन हुँदै आएको बताउनुभयो । व्यक्तिगत रूपमा व्यवसाय सञ्चालन गर्न थालेपछि बिस्तारै ट्राउटको हब बन्दै गएको उहाँको भनाइ छ । अहिले त्यस क्षेत्रमा ५ वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । ट्राउट माछाका कारण चिनिएको मानेदोभानलाई थप परिचित बनाउन स्थानीय परिकार, दुधको विभिन्न परिकार निर्माण गर्ने उद्योग, स्विमिङ पुल, मिनरल वाटर उद्योग सञ्चालन गर्ने र व्यवस्थित सडक सुविधा पुर्याउन सके यहाँको थप विकास हुने सापकोटाले बताउनुभयो ।

    पनौती– १ का वडाध्यक्ष जयकुमार तामाङले रयालेको मानेदोभान ट्राउट माछाको हबको रूपमा विकास हुँदै गएपछि विभिन्न सरकारी निकायसँग यहाँको आर्थिक, सामाजिक र पर्यटकीय विकासमा समन्वय र सहजीकरण गर्नका लागि समेत टेवा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आन्तरिक तथा बाह्य पर्यटकको आवागमनसँगै विभिन्न क्षेत्रका जनप्रतिनिधि र कर्मचारीको समेत उत्तिकै आवतजावत बढेको छ । यही क्षेत्र हुँदै प्रसिद्ध धार्मिक पर्यटकीय मन्दिर फुल्चोकी माईको समेत दर्शन गर्न सकिन्छ ।’ 

    रासस