तनहुँ/ व्यास नगरपालिका– २ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ लगाउने (पेन्टिङ) थियो । विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उहाँ अहिले तरकारी व्यापारमा लाग्नुभएको छ ।
आर्थिक मन्दीले घर निर्माण ठप्प भएपछि घर बनाउने र रङ लगाउने सेन्चुरीजस्ता मजदुर जीविकाका लागि वैकल्पिक पेसा अपनाउन बाध्य छन् । ‘पेन्टिङको काम पाउन छोडेपछि तरकारी व्यापारमा लाग्नुपर्यो,’ मोटरसाइकलमा तरकारी बेच्दै हिँड्नुभएका सेन्चुरीले भन्नुभयो, ‘अहिले बिहानदेखि बेलुकासम्म टोलबस्तीमा तरकारी बेच्न थालेको छु ।’
पहिले प्रत्येक टोलमा दुई–तीनवटा नयाँ घर बन्ने गर्थ्यो । पेन्टिङको काम भ्याइनभ्याई हुने गरेकामा करिब २ वर्षदेखि घर बन्न छाडेको छ । त्यसपछि विकल्पका रूपमा तरकारी व्यापार गर्नुपरेको उहाँको भनाइ छ ।
घर निर्माणमा मिस्त्री काम गर्दै आउनुभएका व्यास– १० दुम्सीचौरका राजु दरै राहदानी बनाएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा हुनुहुन्छ । ‘पहिले दुईजना ठेकेदारको सम्पर्कमा कुनै दिन कामविहीन हुनुपरेको थिएन,’ दरैले भन्नुभयो, ‘एक वर्षदेखि बेरोजगार भएपछि घरमै कति बस्नु भनेर विदेश जाने सोचले राहदानी बनाएँ ।’
व्यास– १ गल्बुबेँसीका घर निर्माण ठेकेदार सन्तबहादुर तामाङले पनि घर बन्न छोडेपछि धेरै मजदुर बेरोजगार भएको बताउनुभयो । ‘पहिले वर्षमा १२–१५ वटा घर सजिलै बनाइन्थ्यो । त्यसका लागि २०–२२ जना मजदुर नियमित खटाउँथेँ,’ तामाङले भन्नुभयो, ‘तर अहिले वर्षमा एउटा पनि घरको ठेक्का पाएको छैन ।’
दमौली बजारमा पेन्टिङको काम गर्ने दर्जनौं पेन्टर खाडी मुलुक गइसकेको उहाँले बताउनुभयो । आर्थिक गतिविधि सुस्ताएपछि सबैभन्दा बढी असर घर निर्माणमा खटिँदै आएका ठेकेदार र मजदुरलाई परेको निर्माण व्यवसायी संघ तनहुँका पूर्वअध्यक्ष टीकानिधि पौडेलले बताउनुभयो ।
व्यास नगरपालिकाबाट घरनक्सा पास गर्ने क्रम घटेको छ । आर्थिक वर्ष ०७६/७७ मा वार्षिक ४ सय ५० वटा घरनक्सा पास भएकामा आर्थिक वर्ष ०७७/७८ मा वार्षिक २ सय ६० वटा र आर्थिक वर्ष ०८०/८१ को पछिल्लो ९ महिनामा जम्मा २ सय घरको नक्सा पास भएको इन्जिनियर केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस