आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

बेसहारा बालबालिकाका लागि गाउँपालिकाको आफ्नै बालगृह


  • आफ्नै खबर
  • २०८१ बैशाख २८, शुक्रबार मा प्रकाशित १ साल अघि
  • २ पाठक संख्या
  • बागलुङ/  यही वैशाख १४ गते तमानखोला गाउँपालिकामा गाउँनजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा वडा नम्बर २ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ३३ वर्षीय प्रेमबहादुर घर्तीमगर घाइते हुनुभयो । 

    घाइते बुढामगर र घर्तीमगर अहिले पनि अस्पतालमै उपचाररत हुनुहुन्छ । आगलागीमा परी मृत्यु हुनुभएका देवसिंहको आर्थिक अवस्था निकै कमजोर छ । ज्याला–मजदुरी गरी परिवारको लालनपालन गर्दै आउनुभएका कामीको मृत्युले यतिबेला उहाँको परिवार विक्षिप्त छ ।

    समस्यामा परेको कामी परिवारलाई तमानखोला गाउँपालिकाले देवसिंहको मृत्यु भएको केही दिनमै घरमै पुगेर १ लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो । घाइते दुवैजनाको उपचारका लागि ७५ हजार रुपैयाँका दरले सहयोग गरेको छ । 

    मृतक कामीको आर्थिक अवस्था कमजोर भएको हुँदा गाउँपालिकाले उहाँका कान्छा छोरा टोपबहादुर विकलाई कक्षा १२ सम्म बालगृहमा राखेर पढाउने भएको छ । टोपबहादुर अहिले कक्षा ९ मा पढ्दै छन् । देवसिंहको परिवारमा २ छोरा, २ छोरीसहित श्रीमती हुनुहुन्छ । जेठो छोरा र छोरीले केही वर्षअगाडि नै पढाइ छोडेका थिए । कान्छी छोरी अझै विद्यालय जान थालेकी छैनन् । 

    गाउँपालिकाले ३ वर्षदेखि वडा नम्बर ३ तमानगाउँमा बालगृह सञ्चालन गरेर अनाथ तथा बेसहारा बालबालिकाको पालनपोषण र पढाउने काम गर्दै आएको छ । आर्थिक अवस्था कमजोर भई पढ्नबाट वञ्चित भएका बालबालिकालाई पनि गाउँपालिकाले बालगृहमा आश्रय लिई पढाउने जिम्मा लिएको छ । 

    बुबाको मृत्युपछि परिवारको नाजुक अवस्थाका कारण पढ्नबाट वञ्चित हुने अवस्थामा पुगेका टोपबहादुर पालिकाले आफ्नो सम्पूर्ण जिम्मा लिएपछि खुसी छन् । अब आफूलाई कक्षा १२ सम्म पढ्नलाई कुनै समस्या नहुने उनको बुझाइ छ । 

    ‘बाबाले अरूको ज्याला–मजदुरी गरेर हामीलाई पाल्नुभएको थियो, जसोतसो पढाउँदै आउनुभएको थियो, उहाँको मृत्यु भएपछि अब पढ्न नपाउने भएँ भन्ने चिन्ता लागेको थियो, तर गाउँपालिकाले मेरा लागि ठूलो योगदान गर्ने भयो,’ विकले भने, ‘मैले मिहिनेत गरेर पढ्नुपर्छ, बाबाले देखेको सपना पूरा गर्नेछु, पढ्न नपाइएला कि भन्ने डरबाट मुक्त भएँ ।’

    गाउँपालिकाले तमानगाउँमा घर भाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने २९ जना बालबालिका रहेका छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले आर्थिक अभावमा अब कुनै पनि बालबालिकाले पढ्नबाट वञ्चित हुनु नपर्ने बताउनुभयो । स्थानीय सरकार नागरिकको सुखदुःखमा साथ दिने सरकार भएको हुँदा कोही पनि शिक्षादीक्षा र भोको पेट बस्न नपर्ने उहाँको भनाइ छ । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने एवं विभिन्न किसिमका सीपमूलक तालिम दिने र रोजगारीको व्यवस्थासमेत मिलाउने अध्यक्ष बुढामगर बताउनुहुन्छ । गाउँपालिकाले ‘तमानखोला विकास कोष’ स्थापना गरेर बालगृह सञ्चालन गरेको छ । 

    रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु