२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

चैतसम्मका अधिकांश आर्थिक तथा वित्तीय सूचक सकारात्मक



  • आफ्नै खबर
  • ३० बैशाख २०८१ आईतबार (१२ महिना अघि)
  • पाठक संख्या १३३
  • काठमाडौं/  नेपाल राष्ट्र बैंकले चालू आव ०८०/८१ को ९ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिलगायतका आर्थिक सूचकहरू सकारात्मक र सुधारोन्मुख देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा रहेको विवरण सार्वजनिक गरेको हो । 

    राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको तथा शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ । चैतमा वाार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति अघिल्लो आवको त्यसै अवधिको भन्दा ३.१५ प्रतिशत सुधार देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ७.७६ रहेकोमा चालू आवको त्यही अवधिमा ४.६१ प्रतिशत रहेको उल्लेख छ । 

    खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ

    । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २२.६४, तरकारीको १६.९९, दाल तथा गेडागुडीको १०.९४, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ । घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १०.१० प्रतिशतले घटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको छ ।

    गत चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६, तराईको ४.५८, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । यो अवधिसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.८ प्रतिशतले बढेर १०

    खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख २९ हजार ४ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार सात सय २१ रहेको छ ।

    चैत मसान्तसम्ममा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले र चालू खाता १ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको छ । ०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई गत चैत मसान्त सम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ वर्ष ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    यो अवधिमा सरकारको कुल खर्च ९ खर्ब ९ अर्ब ३९ करोड र राजस्व परिचालन ७ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

    चैतमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत छ ।

    तेस्रो त्रैमासिक अवधिसम्ममा आयात २.८, निर्यात ३.७ र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।