काठमाडौँ आर्थिक सर्वेक्षण २०८०/ ८१ का अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार २ सय ६७ किलोमिटर पुगेको छ । पछिल्लो दशकमा सडकको विकास एवं विस्तारमा उल्लेख्य उपलब्धि हासिल भएको सर्वेक्षणमा उल्लेख छ ।
अर्थमन्त्री वर्षमान पुनले आइतबार प्रतिनिधिसभामा सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म १८ हजार २ सय ४१ किलोमिटर कालोपत्र, ७ हजार ६ सय ९७ किलोमिटर खण्डास्मित र ८ हजार ३ सय २९ किलोमिटर कच्ची गरी हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार २ सय ६७ किलोमिटर पुगेको हो । सर्वेक्षणअनुसार कूल सडकमध्ये कालोपत्र ५३ दशमलव २ प्रतिशत, खण्डास्मित २२ दशमलव ५ प्रतिशत र कच्ची सडक २४ दशमलव तीन प्रतिशत रहेको छ । २०८० असारसम्म सडकको कूल लम्बाइ ३४ हजार दुई सय ३९ किलोमिटर रहेको थियो । सरकारको ८ महिनामा २८ किलोमिटर मात्रै सडकको लम्बाइ विस्तार भएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म १ सय ८९ किलोमिटर सडक कालोपत्र स्तरमा र १ सय ९० किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको छ भने २८ किलोमिटर थप नयाँ सडक निर्माण भएको छ । साथै, ७ हजार ८ सय २१ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको तथा ९९ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ । यस अवधिमा ६७ सडक पुल निर्माण भएको समेत आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७९८० मा ८ सय २० किलोमिटर सडक कालोपत्र स्तरमा र ६ सय २८ किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको थियो भने दुई सय ४३ किलोमिटर थप नयाँ सडक निर्माण भएको थियो ।
राजमार्गमा पर्ने एक सय ३७ पुलमध्ये २०८० फागुनसम्म १ सय २ पुल निर्माण भएको तथ्याङ्कमा उल्लेख छ । सर्वेक्षणअनुसार हुलाकी राजमार्गको कूल लम्बाइ १ हजार ८ सय ५७ किलोमिटर (लिङ्क सडकसहित) मध्ये २०८० असारसम्म १ हजार १ सय ७९ किलोमिटर कालोपत्र भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप ३२ किलोमिटर सडक कालोपत्र भई १ हजार २ सय ११ किलोमिटर पुगेको छ । राजमार्गमा पर्ने २ सय ५० पुलमध्ये २०८० असारसम्म १ सय ३२ पुल निर्माण भएकामा २०८० फागुनसम्म यस्तो सङ्ख्या एक सय ३५ पुगेको छ ।
उत्तर–दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोरको कूल लम्बाइ ४ सय ४७ किलोमिटरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको २ सय ४५ किलोमिटर सडक खण्डमध्ये २०८० फागुनसम्म १ सय ८४ किलोमिटर सडक कालोपत्र भएको सर्वेक्षणमा उल्लेख छ । यस कोरिडोरअन्तर्गत २०८० असारसम्म मालढुङ्गा–बेनी–जोमसोम–कोरला खण्डअन्तर्गत २ सय २ किलोमिटर सडक खण्डमध्ये ३३ किलोमिटर सडक कालोपत्र र १ सय किलोमिटर सडक खण्डास्मित भएको छ भने पाँच पुल निर्माण भएको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणअनुसार कर्णाली कोरिडोरको २ सय ६९ किलोमिटरमध्ये २०८० असारसम्म २ सय ६३ दशमलव ५ किलोमिटर ‘ट्र्याक’ निर्माण सम्पन्न भएकामा २०८० फागुनसम्म ४.५ किलोमिटर थप भई हालसम्म २ सय ६८ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ ।
कोशी कोरिडोरको लम्बाइ १ सय ६२ किलोमिटरमध्ये २०८० असारसम्म ७४ किलोमिटर सडक खण्डास्मित भएकामा २०८० फागुनसम्म ७८ किलोमिटर सडक खण्डास्मित भएको छ । त्यसैगरी, हालसम्म २ किलोमिटर सडक ढलान र ११ पुल निर्माण भएका छन् । काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत २०८० फागुनसम्म सुरुङमार्गको कूल लम्बाइ ६ हजार ४ सय १५ मिटरमध्ये चार हजार ६ सय १३ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
मदन भण्डारी राजमार्गको कूल लम्बाइ १ हजार ३ सय ९० किलोमिटरमा आयोजनाको कार्यक्षेत्रभित्र पर्ने ७ सय ४० किलोमिटरमध्ये २०८० असारसम्म २ सय ६८ किलोमिटर सडक कालोपत्र भएको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म २६ किलोमिटर थप भई हालसम्म २ सय ९४ किलोमिटर सडक कालोपत्र भएको छ । सर्वेक्षणअनुसार यस राजमार्गमा पर्ने १ सय ८५ पुलमध्ये २०८० असारसम्म १ सय ८ पुल निर्माण भएकामा २०८० फागुनसम्म १ सय २७ पुल निर्माण भएका छन् ।
सर्वेक्षणअनुसार पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गर्ने कार्यअन्तर्गत नारायणघाट–बुटवल सडकको १ सय १३ किलोमिटर सडकमध्ये २०८० फागुनसम्म १७ दशमलव ४१ किलोमिटर सडक ४ लेनमा र १४ दशमलव ६९ किलोमिटर सडक २ लेनमा कालोपत्र भएको छ ।
प्रतिक्रिया दिनुहोस