भक्तपुर/ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा. डा. महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिनुभयो । जसमा उतीर्ण भएकामध्ये १ सय ८६ जनाले ४ जीपीए ल्याएको बताउनुभयो ।
परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । जसमा १ लाख १४ हजार ४८ छात्र र १ लाख २८ हजार २ सय ५७ छात्रासहित कुल २ लाख ४२ हजार ३ सय १३ परीक्षार्थीको ‘एनजी’ अर्थात् ‘ननगे्रडेड’ आएको छ ।
बोर्डका अध्यक्ष प्रा. डा. शर्माले एउटा विषयमा एनजी आउने ६७ हजार ७ सय ९३ र २ विषयमा एनजी आउने ४८ हजार ३८ विद्यार्थी रहेका छन् । यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । सैद्धान्तिक ७५ पूर्णाङ्क विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । १ सय पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने अन्यथा त्योभन्दा कम अङ्क आएमा ‘एनजी’ ननग्रेडेड आउँछ ।
गणितमा देखियो वढी समस्या
यस वर्षको एसइईमा सबैभन्दा बढी विद्यार्थीको गणितमा एनजी आएको छ । गणित विषयमा १ लाख ७७ हजार ९ सय ८५ विद्यार्थीको एनजी आएको छ । यस्तै विज्ञानमा १ लाख २६ हजार ९ सय ३३ तथा अङ्ग्रेजीमा १ लाख १ हजार ३ सय ८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष प्रा. डा. शर्माले बताउनुभयो ।
त्यस्तै, सामाजिकमा ७३ हजार ८ सय ७७, नेपालीमा ६९ हजार ५ सय ३२, अर्थशास्त्रमा ६९ हजार ४ सय १६ तथा ऐच्छिक गणितमा २० हजार २ सय ५२ विद्यार्थीको एनजी आएको छ । २ विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पुरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ ।
साउनमा परीक्षा गरेर भदौमा नतिजा सार्वर्जनिक गर्ने र यसैवर्ष उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउने गरी व्यवस्था गरिएको छ । पुरक परीक्षामा पनि उत्तीर्ण हुन नसक्ने विद्यार्थीको हकमा र २ भन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले आउँदो नियमित परीक्षामा एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
प्रदेशको नतिजा
आज सार्वजनिक भएको नतिजा अनुसार यसवर्षको एसइई परीक्षामा सबैभन्दा राम्रो नतिजा बागमतीमा देखिएको छ । बागमती प्रदेशबाट ९९ हजार ८ सय ७२ विद्यार्थी सहभागी भएकामा ३३ हजार ८ सय ४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट ८० हजार तीन सय २७ विद्यार्थी सहभागी भएकामा ४९ हजार २ सय २४ जनाको ननग्रेड (एनजी) आएको छ । मधेश प्रदेशमा ७९ हजार पाँच सय ९२ विद्यार्थी सहभागी भएकामा ४२ हजार २ सय ८६ जनाले ननग्रेड (एनजी) तथा कोशी प्रदेशमा ७५ हजार ९ सय ८८ जना सहभागी भएकामा ३९ हजार ८ सय ९५ जनाको ननग्रेड (एनजी) आएको छ ।
गण्डकी प्रदेशमा ४० हजार पाँच सय २६ विद्यार्थी सहभागी भएकामा २० हजार २ सय ७५ जनाको ननग्रेड (एनजी) आएको छ भने कर्णाली प्रदेशबाट परीक्षामा ३५ हजार ३४ जना सहभागी भएकामा २० हजार ३ सय ८० जनाको ननग्रेड आएको छ । सुदूरपश्चिम प्रदेशमा भने ५३ हजार ४ सय ४६ विद्यार्थी सहभागी भएकामा ३६ हजार ४ सय १० जनाको ननग्रेड आएको छ ।
प्रतिक्रिया दिनुहोस