२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

मोरङमा बढ्दो वन, यस वर्ष रोपियो ५७ हजार बिरुवा



  • आफ्नै खबर
  • ३१ असार २०८१ आईतबार (१० महिना अघि)
  • पाठक संख्या ८२
  • मोरङ/ जिल्लाको डिभिजन वन कार्यालयले यस वर्ष ३६ हेक्टर बाँझो जमिनमा ५७ हजार ६ सय बिरुवा रोपेको छ । ‘जहाँ बाँझो त्यहाँ वृक्षरोपण, जहाँ वन त्यहाँ व्यवस्थापन’ भन्ने नाराका साथ सरकारले सुरु गरेको वृक्षरोपण अभियानलाई सफल बनाउन कार्यालयले विभिन्न प्रजातिका ५७ हजार ६ सय बिरुवा रोपेको हो ।

    जिल्लाको कूल १ लाख ८५ हजार ५ सय ५० क्षेत्रफलमध्ये हाल ४४ हजार ५ सय ४० हेक्टर जमिनमा वन रहेको कार्यालयका सूचना अधिकृत रामलखन ठाकुरले जानकारी दिनुभयो । १ सय ३७ सामुदायिक, ४ साझेदारी, १२ धार्मिक र ६ सय १८ वटा निजी वन रहेका छन् ।

    नदी उकास क्षेत्रमा खयर र बाँस, चुरे महाभारत क्षेत्रमा तेजपात, टिमुर, हर्रो, बर्रो, सहरी क्षेत्रमा कल्की, अशोक, अमला र अम्बक, सामुदायिक वनमा साल, सतिसाल, कर्मा र किसानको निजी वनमा मसला, टिक, टाँकीलगायत बिरुवा लगाइएको सूचना अधिकृत ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार वनको विकास र विस्तार गर्न मोरङमा २२ स्थानमा उत्पादन गरिएका बिरुवा वितरण गरी लगाइएको हो ।

    वनले ९० प्रजातिका बिरुवा उत्पादन गरेको छ । लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति बेलबारीद्वारा बेलबारी नगरपालिका–११ को लक्ष्मीमार्गमा ५.५ हेक्टर जग्गामा विभिन्न प्रजातिका ८ हजार बिरुवा रोपिएको समितिका अध्यक्ष सुजय गौतमले जानकारी दिनुभयो ।

    जिल्लामा ९६ प्रतिशत वन पूर्वपश्चिम राजमार्गदेखि उत्तरतर्फ छ । राजमार्गको दक्षिणी क्षेत्रमा वन क्षेत्र बढाउन वृक्षरोपण गर्नुपर्ने आवश्यकता भएकाले मठमन्दिर, नदी किनार, गौचरन र सार्वजनिक एवं खाली जग्गामा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लामा पछिल्लो चार वर्ष क्रमशः उत्पादित काठको बिक्री घटेको तथ्याङ्क रहको छ ।’

    आर्थिक वर्ष २०७७/७८ मा १ लाख ५४ हजार २ सय ३८ घनफिट काठ बिक्री भएको थियो । आव २०७८/७९ मा ९८ हजार ५ सय २५ घनफिट, २०७९/८० मा ६६ हजार ६१ घनफिट र २०८०/८१ मा अनुमानित ३५ हजार ४ सय घनफिट काठ बिक्री भएको तथ्याङ्क रहेको वन कार्यालयका वन अधिकृत घनश्यामकुमार यादवले जानकारी दिनुभयो । काठको उत्पादनमा वार्षिक रुपमा कमी आएकाले बिक्री घटेको उहाँले बताउनुभयो । 

    वनजङ्गलमा देखिएका निकै पुराना रूखले गर्दा नयाँ बिरुवा हुर्कन नसक्ने र पछि जङ्गल पातलिने  भएकाले वनलाई घना बनाई व्यवस्थित गर्न सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेको थियो । विसं २०७७ माघदेखि उक्त कार्यक्रम बन्द भएको छ । उक्त कार्यक्रम बन्द भएपश्चात् क्रमशः काठको उत्पादन घटेको वन अधिकृत यादवले बताउनुभयो ।

    वर्षमा ३ पटकसम्म काठ बिक्रीका लागि निवेदन माग गर्दा विगतका वर्षहरुमा ३ सयभन्दा बढी निवेदन आउने गरेकामा पछिल्लो समय ५० को हाराहारीमा मात्र निवेदन पर्ने गरेको वन अधिकृत यादवले जानकारी दिनुभयो । उहाँको अनुसार ‘ए’ ग्रेडको सालको मूल्य १ हजार २ सय ५० रुपैयाँ प्रतिघनमिटर, ‘बी’ ग्रेडको १ हजार रुपैयाँ, ‘सी’ ग्रेडको ६ सय रुपैयाँ र ‘डी’ ग्रेडको ३ सय ५० रुपैयाँ प्रतिघनमिटरका साथै भ्याट शुल्क, सङ्कलन बापतको शुल्क र प्रतिघनमिटरको ७ रुपैयाँ प्रदेश सेवा शुल्क जोडेर बिक्री हुने गरेको छ । 

    हाल करिब ९० हजार घनमिटर काठ घाटगद्दीमा भण्डारणमा रहेको भन्दै काठको उत्पादन घटेसँगै माग नबढेको वन प्रमुख घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपभोक्ताबाट काठको मागमा कमी आएको छ । नयाँ घर निर्माणमा कमी, वैकल्पिक निर्माण सामग्रीको प्रयोगलगायत कारणले माग घटेको हुनसक्छ ।’

    -रासस