१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

सेवा विस्तारसंगै प्रादेशिक अस्पतालमा बिरामीको घुइँचो



  • आफ्नै खबर
  • १८ साउन २०८१ शुक्रबार (४ महिना अघि)
  • पाठक संख्या ५०
  • चितवन/  बागमती प्रदेशअन्तर्गतको बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गरेसँगै सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएको छ । अस्पतालले भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा विस्तार गरेपछि बिरामी घुइँचो बढ्न थालेको हो । 

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा अस्पतालबाट २ लाख ५४ हजार ८ सय ३० जना बिरामीले सेवा लिएका छन् । आव २०७९/८० मा यो सङ्ख्या २ लाख ४ हजार ५ सय ६ र आव २०७८/७९ मा १ लाख ५२ हजार ५ सय २७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको सङ्ख्या थपिँदै गएको उहाँले जानकारी दिनुभयो ।  

    अस्पतालमा गत आवमा बहिरङ्ग विभागबाट २ लाख ४६ हजार ७ सय २३, आव २०७९/८० मा २ लाख ३ हजार १ सय १० आव २०७८÷७९ मा १ लाख ४२ हजार ८ सय ८ र आव २०७७/७८ मा ८५ हजार ५ सय ५२ जनाले सेवा लिएका ज्ञवालीले बताउनुभयो । अस्पतालमा आकस्मिक सेवा लिनको सङ्ख्या पनि बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । 

    मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञवालीका अनुसार गत आवमा १८ हजार १ सय ७ जनाले आकस्मिक सेवा लिएका छन् । आव २०७९/८० मा १३ हजार ९७, आव २०७८/७९ मा ९ हजार सात सय १९ र आव २०७७/७८ मा ५ हजार ४ सय १४ ले आकस्मिक सेवा लिएका उहाँले जानकारी दिनुभयो ।

    प्रयोगशाला र रेडियोलोजी सेवा लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा १ लाख ५ हजार २१ जनाले प्रयोगशाला र रेडियोलोजी सेवा लिएका छन् । यो सेवा लिनेको सङ्ख्या आव २०७९/८० मा ९८ हजार ४ सय २४, आव २०७८/७९ मा ४४ हजार ७ सय ८४ र २०७७/७८ मा ३३ हजार १ सय १२ थियो ।

    अस्पतालमा भर्ना भएर उपचार लिने बिरामीको सङ्ख्या गत आवमा ३ हजार ९ सय ८०, आव २०७९/८० मा ३ हजार ८ सय ५९ र आव २०७८/७९ मा २ हजार ३ सय १४ थियो । 

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञवालीले अहिले पनि पर्याप्त स्थान नभएकाले भर्ना गरेर बिरामीको उपचार सेवा दिन कठिन भइरहेको बताउनुभयो । पछिल्ला वर्षमा भर्ना भई उपचार गराउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको बताउँदै सेवालाई थप प्रभावकारी बनाउन सङ्घीय र प्रदेश सरकारले नीतिगत तहबाटै सुधारका योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    अस्पताललाई गत आर्थिक वर्षदेखि सरकारले १ सय शय्याको स्वीकृत प्रदान गरेको बताउँदै ज्ञवालीले अहिले ९० शय्या सञ्चालन भइरहेको जानकारी दिनुभयो । ५ शय्याको सघन उपचार कक्ष र ८ शय्याको बालसघन उपचार कक्षका लागि छुट्याइएको उहाँले उल्लेख गर्नुभयो । 

    अस्पतालमा विशेषज्ञ चिकित्सक २५, दन्त चिकित्सक चार, मेडिकल अधिकृत १७ सहित २ सय ४० जना जनशक्तिले सेवा दिइरहेका डा. ज्ञवालीले जानकारी दिनुभयो । न्यून जनशक्तिले धेरै बिरामीलाई सेवा दिँदै आइएको बताउँदै पर्याप्त जग्गा नहुँदा भौतिक पूर्वाधारका काम गर्न कठिन भएको, मिर्गौलाको डायलासिस उपकरण अभावमा बिरामीले धेरै समय कुर्नु परिरहेकाले समस्या भइरहेको उहाँको भनाइ छ । 

    पछिल्ला दिनमा बिरामीको सङ्ख्या वृद्धि भएसँगै शय्या, शल्यक्रिया कक्ष, फार्मेसीको सुदृढीकरण गर्ने तयारी गरिरहेको डा. ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार मातृ शिशु भवन निर्माण अन्तिम चरणमा पुगेको छ । 

    अस्पतालमा ८० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउने गर्दछन् । मुख्यगरी पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिकाका बिरामी आउने यस अस्पतालमा मकवानपुर, धादिङ, नवलपरासी र भरतपुरबाट बिरामी उपचारका लागि आउने गर्दछन् । 

    विशेषगरी छालासम्बन्धी समस्या भएका बिरामी बढी आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञवालीले जानकारी दिनुभयो । यहाँबाट मेडिसिन, सर्जिकल, छाला, बालबालिका, नाक–कान–घाँटी, मनोरोग, हार्डजोर्नी, प्रसूति तथा स्त्री, दन्त चिकित्सालगायत सेवा प्रदान हुँदै आएको छ । 

    -रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?