म्याग्दी/ एक दशक अघिसम्म अनकन्टार लेकाली गाउँ भनेर चिनिएको म्याग्दीको टिकोट गाउँ अहिले सबैको आकर्षणको केन्द्र बनेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकको आकर्षण केन्द्रविन्दु बन्दै गएको हो ।
पर्वत र म्याग्दीका पर्यटकीयस्थललाई समेटिएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गसँग जोडिएको टिकोट गाउँ सम्भावनायुक्त क्षेत्र हो । गुजुमुजुक्क रूपमा परम्परागत ढुङ्गे घर मिलेर बनेको टिकोट गाउँबाट देखिने मनोरम हिमशृङ्खलाले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्दछ ।
सामाजिक कार्यकर्ता महावीर पुनको पहल तथा लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई गाविसका ग्रामीण भेगलाई समेटेर सञ्चालनमा ल्याइएको पदमार्गमा जर्मनी, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, फ्रान्सलगायत देशबाट पर्यटक बढी आउने गरेका छन् ।
धौलागिरि रेञ्जका सबैजसो हिमशृङ्लालाई एकैठाउँबाट अवलोकन गर्न पाइने यहाँको प्रमुख आकर्षण हो । वरिपरि जङ्गलले घेरिएको छ भने अहिले वरिपरि राताम्मे फुल्ने लालिगुराँस थप आकर्षण बनेका छन् ।
यहाँ आउने पर्यटकको सुविधाका लागि टिकोटबासीले व्यवस्थित खाना खाने कक्ष र घरघरमा सञ्चालन गरिएका होमस्टे (घरबास) मा बस्ने व्यवस्था गरेका छन् । यहाँ करिब एकसय घर छन् ।
जिल्लाको घुमाउनेतालबाट सुरु हुने अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत बासखर्क–डाँडाकटेरी, नागी, मोहरेडाँडा पुगेका पर्यटक फूलवारी हुँदै टिकोट पुग्ने गर्छन् । टिकोट पुग्न बेनी–जोमसोम खण्डअन्तर्गत बैसरी र तिप्ल्याङबाट समेत सजिलैसँग पुग्न सकिन्छ ।
मगर समुदायको बाहुल्यता रहेको टिकोटका बासिन्दाले परम्परागत घरमा पर्यटकका लागि कोठाको व्यवस्थापन गरेर होमस्टे सञ्चालन गरेका छन् भने पर्यटकको मनोरञ्जनका लागि पुख्र्यौली नृत्य प्रस्तुत गर्दछन् ।
म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने विदेशी तथा आन्तरिक पर्यटकका कारण दुर्गम टिकोट पर्यटकीय गाउँमा परिणत भएको छ ।
अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले भन्नुभयो, ‘पदमार्गले नछोउन्जेलसम्म विदेशी पर्यटक भनेका कस्ता हुन्छन् भन्ने देख्नै नपाएका यहाँका बासिन्दा अहिले दिनहुँजसो पर्यटकलाई स्वागत गर्न पाउँदा उत्साहित छन् ।’
गाउँमा होमस्टे सञ्चालन हुँदा आउजाउ बढ्नुका साथै स्थानीय उत्पादनको बिक्री पनि बढेको उहाँले बताउनुभयो । आठ वर्षदेखि इको पदमार्गका रूपमा सञ्चालनमा ल्याइएको यस पदमार्गमा भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको पदमार्गका व्यवस्थापक चित्र तिलिजा पुनले बताउनुभयो ।
सामाजिक कार्यकर्ता महावीर पुनको पहल तथा लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई गाविसका ग्रामीण भेगलाई समेटेर सञ्चालनमा ल्याइएको पदमार्गमा जर्मनी, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, फ्रान्सलगायत देशबाट पर्यटक बढी आउने गरेका व्यवस्थापक पुनले जानकारी दिनुभयो ।
पदमार्ग हुँदै देखिने धौलागिरि, अन्नपूर्ण, मनास्लु, लाङटाङलगायत हिमालको मनोरम हिमशृङ्खला, प्राकृतिक सौन्दर्यता, मगर समुदायको रहनसहन, सामुदायिक भाव, पदमार्गमा भेटिने चौँरी, भेँडापालनलगायत व्यवसायले पर्यटकलाई थप आकर्षित गरेको पुनले बताउनुभयो ।
पर्यटकबाट भित्रिएको आम्दानीबाट गाउँको सामुदायिक विकास, विद्यालय, स्वास्थ्य संस्था सञ्चालन, पर्यटन पूर्वाधार निर्माणलगायत क्षेत्रमा खर्च गरिने उहाँको भनाइ छ । एक सातादेखि १० दिनसम्म पूरा गर्न सकिने पदमार्ग पिप्लेको घुमाउने तालबाट सुरु भई पर्वतको बाँसखर्क, डाँडाकटेरी हुँदै म्याग्दीको नागी, हम्पाल डाँडा, महरेडाँडा, टिकोट हुँदै खिवाङ र मोहरेडाँडा, घोरेपानी, खोप्रालेक, नारच्याङ हुँदै भुरुङ तातोपानी पुगेर टुङ्गिन्छ ।
‘गाउँमा सडक आएपछि गाउँलेलाई सुविधा भएको छ भने घुम्न आउने पर्यटक पदमार्गमार्फत आवतजावत गर्दछन्’, स्थानीय ६४ वर्षीया गङ्गा पुनले भन्नुभयो, ‘गाउँमा यस्तो परिवर्तन आउला भन्ने लागेको थिएन । पर्यटकको आगमन बढेसँगै स्थानीयको आम्दानी पनि बढेको छ ।’
–रासस
प्रतिक्रिया दिनुहोस