१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

टुँडिखेलमा २ दिन माघी महोत्सव हुने



  • आफ्नै खबर
  • २६ पुष २०८१ शुक्रबार (११ महिना अघि)
  • पाठक संख्या १७०
  • काठमाडौं/  थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एव थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिनुभएको हो । 

    उहाँले भन्नुभयो, ‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौं । थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौं । पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौं भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौं ।’

    उहाँका अनुसार माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएको छ । यसवर्ष ’थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको हो ।

    माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ । २० भन्दा थारू संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सव २०८१ मा थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब एक सय भन्दा बढी स्टलहरू रहने उनले बताए ।

    प्रचार प्रसार गर्ने उद्देश्यका साथ र्याली पुस २७ गते शनिबार बिहान ७ बजे मोटरसाईकल र्याली तीनकुनेबाट सुरु भई भृकुटीमण्डपमा समापन हुने जनाइएको छ । माघ १ गते बिहान १० बजे थारू संस्कृति, भेष भूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहित न्यूरोड, बसन्तपुरमा जम्मा भई झाँकी र्याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडिखेलमा सरिक हुने उहाँको भनाइ छ ।

    महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतहरुको धमाकेदार प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिनुभयो । 

    महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन् ।

    बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटीलगायत विभिन्न परिकारहरुको राखिने छ ।