३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६५ योजना



  • आफ्नै खबर
  • १२ माघ २०८१ शनिबार (६ महिना अघि)
  • पाठक संख्या ११९
  • म्याग्दी/  म्याग्दीमा यसवर्ष गण्डकी प्रदेश सरकारमार्फत खानेपानी र सिँचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणसम्बन्धी ६५ वटा योजना सञ्चालन भएका छन् । 

    खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले १४ करोड ३८ लाख ५० हजार रुपैयाँ बजेटमा खानेपानीका ३६, सिँचाइका २०, नदी नियन्त्रणका ६, ऊर्जाका दुई र सर्वेक्षणसम्बन्धी एक वटा योजना सञ्चालन गरेको हो । 

    कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जिनियर झलकमोहन ओझाले २६ वटा योजनाको सम्झौता भइसकेको र ३८ वटा योजनाको लागत अनुमान तयार पारेर कार्यान्वयनको प्रक्रीयामा रहेका जानकारी दिनुभयो । 

    ‘प्रदेश सरकारको नीतिअनुसार उपभोक्ताको प्रत्यक्ष सहभागिता हुन नसक्ने योजनालाई ठेक्कामार्फत कार्यान्वयनमा लगिएको छ’, उहाँले भन्नुभयो, ‘आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल बजेटको १८.१९ प्रतिशत वित्तीय र ४८ प्रतिशत भौतिक प्रगति भएको छ ।’

    चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म पँुजीगततर्फ दुई करोड ५८ लाख १९ हजार रुपैयाँ बजेट खर्च भएको कार्यालय प्रमुख ओझाले बताउनुभयो । सङ्घीय शसर्तका पाँच वटा खानेपानी योजनामा ५१ लाख रुपैयाँ र सङ्घीय विशेष अनुदानको रत्नेचौर लिफ्ट खानेपानी योजनाका लागि ६५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । 

    प्रदेश सरकारका ३० वटा खानेपानी, २० वटा सिँचाइ, ६ वटा नदी नियन्त्रण र ऊर्जाका दुई वटा योजनाका लागि १३ करोड ८७ लाख ८५ हजार रुपैयाँ बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । गत वर्ष १७ करोड ६५ लाख १० हजार रुपैयाँ पुँजीगत बजेट भएको कार्यालयले सञ्चाल गर्ने योजनामा यसपालि तीन करोड रुपैयाँ बजेट घटेको हो ।

    बादुक, घोरेनी कोत्रवाङ, खोप्ती, सामतुङ सोता सिँचाइ र तातोपानी नदी नियन्त्रण योजना कार्यान्वयनका लागि निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको छ । चालु आर्थिक वर्षमा सम्पन्न हुने चरणमा रहेका केही योजनाका लागि बजेट अभाव भएकाले थप बजेटका लागि मन्त्रालयमा प्रस्ताव गरिएको कार्यालय प्रमुख ओझाले बताउनुभयो । 

    कार्यालयमार्फत गत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका १७ वटा खानेपानी आयोजनामार्फत सात सय २७ घरमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण भएको इञ्जिनियर शिवशङ्कर शाहले बताउनुभयो । एक्काइस सिँचाइ आयोजनामार्फत ८९ हेक्टर थप जमिनमा सिँचाइ सुविधा विस्तार भएको थियो । 

    म्याग्दीका २८ हजार आठ सय ३० घरपरिवारमध्ये ९५ प्रतिशतमा खानेपानी, ९५.१ प्रतिशतमा केन्द्रीय लाइन र लघुजलविद्युत् परियोजनाको बिजुली, १९ हजार चार सय १९ हेक्टर खेतीयोग्य जमिनमध्ये ३२ प्रतिशतमा सिँचाइ सुविधा पुगेको तथ्याङ्क छ ।

    –रासस