२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

बागलुङको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडेको यस सडकले भारतीय पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने



  • आफ्नै खबर
  •     (३ महिना अघि)
  • पाठक संख्या १०२
  • बागलुङ/  अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले विस्तारै सुगमतर्फ उन्मुख छ । 

    एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन् । सडकले प्रकृति र ढोरपाटनको सुन्दरतासँग रमाउन आउने पर्यटकलाई सामान्य भए पनि सहज भएको छ । कच्ची सडकका कारण बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब दुई घण्टामा उपत्यका पुग्न सकिन्छ ।

    राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन’ सडकले ढोरपाटन उपत्यका जोडिएको छ । रूपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएपछि अब विकट क्षेत्रमा समृद्धि आउने आश पलाएको छ । 

    २०६७ सालदेखि सुरू भएको सडक आयोजनाले ढोरपाटन उपत्यका जोडिएको हो । सडक आयोजनाको काम सुस्त गतिमा भए पनि ढोरपाटन तराईसँग सिधा जोडिएको छ । पहाडको एक कुनामा रहेको ढोरपाटन तराईसँग जोडिनु सिङ्गो बागलुङवासीका लागि ठूलो अवसर पनि हो ।

    रूपन्देहीको सालझण्डीदेखि सुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ गरी पाँच जिल्लालाई छिचोल्दै ढोरपाटन जोडेको छ । सालझण्डीदेखि ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो रहेको यस सडक बागलुङमा मात्रै ६१ किलोमिटर पर्छ । 

    बागलुङको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडेको यस सडकले भारतीय पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । 

    तराई र पहाडलाई जोडेको सालझण्डी–ढोरपाटन सडकले दुवै क्षेत्रमा उत्पादन हुने वस्तु बजारीकरण गर्न टेवा मिल्ने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताउनुभयो । ढोरपाटनमा बर्सेनि करोडौँको आलु र स्याउ उत्पादन हुने तर सडकको अवस्था खराब हुँदा बजार पुर्याउन समस्या भएको उहाँको भनाइ छ । 

    निर्माण कम्पनीले सडक स्तरोन्नति नगर्दा यहाँ हजारौँ नागरिक र पर्यटकले सास्ती खेप्नुपरेको भन्दै यसतर्फ माथिल्लो सरकारको ध्यान जान जरूरी रहेको उपाध्यक्ष कायत बताउनुहुन्छ । 

    उहाँले भन्नुभयो, ‘ढोरपाटन सिधा तराईसँग जोडिएको छ, यो हाम्रो लागि गौरवको विषय हो  । यो सडक कालोपत्र भयो भने यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने छ । यसै पनि ढोरपाटन चर्चित छ । भविष्यमा पर्यटनमार्फत नै यस क्षेत्रका नागरिकको जीवनस्तर उकासिन्छ भन्ने विश्वास छ । तराईसँग सिधै ढोरपाटन जोडिने हुँदा बसाइँसराइ पनि रोकिने छ ।’

    ढोरपाटन नगरपालिका–९ का खिमबहादुर पुन मगरले पहिले आफूहरू पैदल हिँडेर ११ दिनमा बुटवल पुगेर नुन, चमल र लत्ता कपडा ल्याउने गरेको स्मरण गर्दै अहिले सडक आएपछि गाउँभरि पसल खुलेको बताउनुभयो । 

    पछिल्लो दुई दशकमा ठूलो परिवर्तन आएको भन्दै कच्ची सडकका कारण ढुवानी र यात्रा गर्न असहज भएको उहाँको भनाइ छ । आफूहरूले यसरी विकास होला भन्ने कल्पना नगरेको पुन मगर बताउनुहुन्छ ।

    ‘बटौली पुगेर नुन बोकेको अस्ति भर्खरजस्तो लाग्छ । अहिले उ बेलाको जस्तो नुन चामल ल्याउन बटौली जानुपर्दैन । अचेल त घरै अगाडि गाडी गुड्छन् । चाहिने सामान सबै यही ल्याउँछन्’, उहाँले भन्नुभयो, ‘पहिले आलु, स्याउ र सिमी बिक्री हुँदैनथ्यो । अहिले गाडीमा हालेर बजार पठायो भने पैसा आउँछ । यो सडक (सालझण्डी–ढोरपाटन) पिच भयो भने सिधै तराईमा पठाउन सकिने छ । तराईको उत्पादन पनि ढोरपाटनमा सहजै आउने छ ।’

    सालझण्डी–ढोरपाटन सडकले प्रसिद्ध धार्मिकस्थल लुम्बिनी र ढोरपाटन जोडेको हुँदा अब पर्यटक आगमनमा वृद्धि आउने होटल व्यवसासी गङ्गाबहादुर भण्डारीले बताउनुभयो । 
    तराई र पहाड ओहोरदोहोर गर्न यो सडक निकै छोटो हुने हुँदा व्यापारिक तथा अन्य गतिविधि बढ्ने उहाँको भनाइ छ । अहिले ढोरपाटन उपत्यकादेखि बुकी पाटन जाने पर्यटक कम भएको भन्दै सडकको विस्तारपछि धेरै पुग्ने भण्डारी बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘ढोरपाटन नेपालमा मात्र नभएर विश्वमै परिचित छ, वन्यजन्तुको सिकार खेल्न अहिले धेरै जसो विदेशी पर्यटक आउँछन् । सडकको सहजता बढ्दै गयो भने नेपाल भरबाट सिकारीहरू यहाँ आउने छ । पर्यटकीय हिसाबले ठूलो सम्भावन बोकेको हुँदा केही वर्षपछि ढोरपाटनमा पर्यटकले गुल्जार बन्ने छ । लुम्बिनी, ढोर बराह दर्शन गरेर उत्तरगङ्गामा स्नान गर्ने बढ्ने छ ।’

    सालझण्डी–ढोरपाटन सडक आयोजानको काम कछुवा गतिमा हुँदा पर्यटक र स्थानीयले हैरानी खेप्नुपरेको छ । आयोजना सुरू भएको १४ वर्षमा ३० प्रतिशत मात्रै सकिएको छ । 

    पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि २०६७ सालदेखि सुरू भएको आयोजनालाई द्रुत गतिमा अगाडि बढ्न जरूरी छ । सिकार आरक्ष जोड्ने मुख्य मात्रका रूपमा रहेको यस सडक ट्रयाक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन । यस सडक हालसम्म १८ किलोमिटर मात्रै कालोपत्र भएको छ ।

    त्यसमध्ये रूपन्देहीमा साढे चार किलोमिटर र अर्घाखाँचीमा साढे १३ किलोमिटर मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिनुभयो । अहिले पाँच वटै जिल्लाको विभिन्न खण्डमा ग्राभेलिङसहितको काम भइरहेको उहाँको भनाइ छ । 

    बागलुङको बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रूपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलादेखि खुर्सानेसम्म साढे १३ किलोमिटर कालोपत्र भइरहेको थापाले बताउनुभयो । 

    पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पतौटसम्मको २२ किलोमिटर, अर्घाखाँचीको माटेदेखि भण्डारासम्म सात किलोमिटर र गुल्मीको पुर्कोटदहदेखि सिर्सेनीसम्मको १९ किलोमिटर कालोपत्र भइरहेको उहाँको भनाइ छ ।

    सिर्सेनीदेखि गुल्मीको अर्खबाङसम्मको ८ दशमलव २ किलोमिटर सडकसमेत कालोपत्र भइरहेको उहाँले बताउनुभयो । अब अर्घाखाँची खण्डमा १८ किलोमिटर, गल्मी र बागलुङखण्डमा सात÷सात गरी ३२ किलोमिटर सडक स्तरोन्नतिको काम अझै सुरू नभएको उहाँको भनाइ छ ।

    –रासस