२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र निष्कासन



  • आफ्नै खबर
  • १४ फागुन २०८१ बुधबार (२ महिना अघि)
  • पाठक संख्या ७०
  • काठमाडौं/  सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब रुपैयाँको नागरिक बचतपत्र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ ।

    कार्यालयले आज सूचना जारी गर्दै ‘नागरिक बचतपत्र–२०८६’ र ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासनसम्बन्धी जानकारी दिएको हो । पाँच वर्ष अवधिका नागरिक बचतपत्रमा सात प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज उपलब्ध गराइने कार्यालयले जनाएको छ । 

    यहि फागुन १५ गतेदेखि आगामी चैत १५ गतेसम्म बचतपत्रका बिक्री खुला रहने र उक्त अवधि अगावै निष्कासित रकम बराबरको आवदेन परेमा बन्द गरिने जनाइएको छ ।

    यी बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुनेछ । घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने कार्यालयले जनाएको छ । पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन् ।

    बचतपत्रमा गरिने लगानीबारे सर्वसाधारणलाई जानकारी नहुँदा निष्कासन गरिएको रकमभन्दा न्यून आवेदन पर्ने गरेका छन् । यसअघि कार्यालयले गत मङ्सिर १२ गतेदेखि निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्र, २०८६ (क) मा करिब १२ प्रतिशत बराबर मात्रै बचतपत्र खरिदका लागि आवेदन परेको थियो । 

    सहज र सुरक्षित तबरले आकर्षक प्रतिफल दिने सरकारी उपकरण बचतपत्रको ब्याजदर अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिइरहेको ब्याजदरभन्दा दुईदेखि साढे दुई प्रतिशत बिन्दुले बढी हो । यसमा सरकारले मूलधनको सुनिश्चत गरेको हुँदा सुरक्षित लगानी मानिन्छ । 

    साथै, बचतपत्रको ब्याज रकम हरेक ६ महिनामा खरिदकर्ताको बैंक खातामा सिधै जम्मा हुनेछ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यी बचतपत्रको सहजै कारोबार गर्न सकिन्छ ।

    –रासस