बागलुङ/ काठेखोला गाउँपालिकाले मगरभाषा संरक्षणका लागि अभियान थालेको छ । आदिवासी जनजातीमध्येका मगर समुदायले बोल्ने मगर खाम र मगर ढुट भाषा लोप हुन थालेपछि संरक्षणका लागि प्रशिक्षण अभियान थालिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पहिलो चरणमा काठेखोला–१ का मगर समुदायलाई एकमहिने मगर भाषा (ढुट) तालिम दिएको छ । परापूर्वकालमा मगर खाम भाषा र मगर ढुट भाषा बोल्दै आएका गाउँवासीलाई मगर ढुट भाषासम्बन्धी एकमहिना लामो प्रशिक्षण दिइएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
उहाँले काठेखोला–१ बाट थालेको मगर भाषा प्रशिक्षण तामिललाई गाउँपालिकाभर अभियानका रुपमा चलाइने बताउनुभयो । उहाँले आफ्नो भाषा संस्कृति र संस्कारलाई जोगाउनु गाउँपालिकाको कर्तव्य रहेको जनाउँदै गाउँपालिका भरका मगर समुदायलाई मगर भाषा सिकाइने बताउनुभयो ।
पछिल्लो समय चलनचल्तीको भाषाका रुपमा मगर ढुटलाई लिनेगरी अभियान थालिएको छ । पहिलोपटक गाउँपालिकाले करिना, धिमी र दोबिल्लाका ७५ जनालाई एकमहिने मगर भाषा प्रशिक्षण सम्पन्न गरिएको थापाको भनाइ छ ।
‘पछिल्ला पुस्ताले मगर भाषा बोल्नै जान्दैनन्, भाषाको पुस्तान्तरण गर्न आवश्यक देखियो, त्यसैले भाषामा दख्खल राख्ने प्रशिक्षकले एक महिना लामो मगर भाषा प्रशिक्षण दिनुभएको छ ।
दोस्रो चरणमा अर्को वडामा समेत प्रशिक्षण गर्नेछौँ’, थापाले भन्नुभयो, ‘प्रशिक्षणमा सहभागी स्थानीयले कम्तीमा मगर भाषामा सामान्य कुराकानी गर्न सिक्नुभएको छ, सिकेको भाषालाई परिवारका सदस्यलाई सिकाउन आग्रह गरिएको छ ।’
एक महिना लामो तालिमले मगर भाषाको विषयमा सामान्य जानकारी र कुराकानी गर्न सिकेको तालिममा सहभागी स्थानीय पूर्णबहादुर थापा मगरले बताउनुभयो । तालिममा ७५ महिला, पुरुष तथा युवा सहभागी रहेका थिए । सामान्य घरायसी कामकाजका लागि मगर भाषामा कुराकानी गर्न सक्ने भइएको भए पनि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयको माग छ ।
गलकोट राज्यको पालामा तामाखानी खन्ने क्रममा यस वडाका मगर समुदायलाई खाम भाषा बोल्न रोक लगाइएपछि भाषा बिस्तारै लोप भएको किंवदन्ती रहेको काठेखोला–१ का वडाध्यक्ष खडक थापाले बताउनुभयो ।
यहाँका मगरहरुले गलकोट राज्यअन्तर्गत पर्ने विभिन्न खानीमा काम गर्ने र खाम भाषा बोल्ने गरे पनि अरूले खाम भाषा नबुझ्दा समस्या भएको भन्दै खानी खन्ने क्रममा खाम भाषा बोल्न नपाइने नियम लगाइएपछि मगर भाषा बिस्तारै लोप भएर जान थालेको र पछि मगर भाषा तालिम दिइएकोे वडाध्यक्ष थापाले बताउनुभयो ।
दुई पुस्तालाई एकै ठाउँमा राखेर प्रशिक्षण दिइएको थापाले बताउनुभयो । ७५ जनालाई तालिम दिइएको प्रशिक्षक तनहुँको घिरिङ निवासी दिलीप थापा मगरले बताउनुभयो । आफूले सिकेका कुरा स्थानीयले घरमा मात्रै लागू गरेमा भाषा संरक्षणमा समस्या नहुने उहाँको भनाइ छ ।
एक महिना पाँच दिनसम्म सञ्चालनमा आएको तालिममा धिमिका १८, दोबिल्लाका १८ र करिनाका ३९ मगर समुदायलाई तालिम दिइएको थियो । तालिमको प्रशिक्षण खर्च एक लाख रुपैयाँ गाउँपालिकाले उपलब्ध गराएको र अन्य खर्च स्थानीयले गरेका थिए ।
तालिमपश्चात् मगर भाषामा सामान्य कुराकानी गर्न थालिसकेको वडाध्यक्ष थापाले बताउनुभयो । नेपाली मगर माषामा (ढुट, खाम, काइके र पोइके) प्रचलित भाषा हुन् ।
–रासस
प्रतिक्रिया दिनुहोस