कञ्चनपुर/ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई हजार तीन सय ८८ पर्यटकले भ्रमण गरेका छन । त्यसमा एक हजार एक सय ६० महिला र एक हजार दुई सय २८ पुरुष रहेका गरेका छन् । जसमा आन्तरिक पर्यटको सङख्या दुई हजार एक सय ८१ रहेको छ ।
सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो । उहाँका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी एक सय १७ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सबैभन्दा बढी चैतमा पाँच सय २० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।
कात्तिकमा तीन सय १६, मङसिरमा तीन सय ८९, पुसमा चार सय ३२, माघमा दुई सय ७१, फागुनमा चार सय ६० पर्यटकले निकुञ्ज घुमेका छन् । उहाँका अनुसार साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ ।
आव २०८०/८१ मा निकुञ्जमा चार हजार पाँच सय ७४ पर्यटक निकुञ्ज घुमेका थिए । त्यसमा एक हजार सात सय ७० महिला र दुई हजार आठ सय चार पुरुष पर्यटक रहेका थिए ।
आन्तरिक पर्यटक चार हजार दुई सय ९४, सार्क मुलुकका पर्यटक एक सय ३७ र विदेशी पर्यटक एक सय ४३ ले निकुञ्जमा घुमफिर गरेका थिए । २०३१ सालमा स्थापना भएको निकुञ्ज तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको छ । थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रुपमा निकुञ्ज परिचित छ ।
दुर्लभ वन्यजन्तु, पंक्षी तथा वनस्पतिका लागि प्रसिद्ध उक्त निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गे पाइन्छ । नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठुलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिङ्गेको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ ।
निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एक सिङ्गे गैंडा, चितुवा, घोडगधा, बाह्रसिङ्गे, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन् ।
निकुञ्जभित्र रहेका रानी ताल लगायतका अन्य तालमा मगर गोही पाइन्छन् । रैथाने र बसाइ सरी आउने गरी चार सय ४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । निकुञ्जमा १२ प्रजातीका घस्रने वन्यजन्तु, २० प्रजातीका उभयचर, २४ प्रजातीका माछा र ३५ प्रजातीका पुतली पाइन्छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस