कञ्चनपुर/ कृष्णपुर नगरपालिका–२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ । पाहुनालाई थारु समुदायको परम्परागत मौलिक खानाको जोहो गर्ने, पकाउने, खुवाउनमै दिन बितेको उहाँलाई पत्तै हुँदैन ।
उहाँले नौ वर्षदेखि यही काम गर्दै आउनुभएको छ । उहाँ जस्तै मुक्त कमैया परिवारका पाँच महिला मिलेर गाउँमा विजयसाल घरबास सञ्चालन गरेका छन् । घरबास सञ्चालन गरेपछि उनीहरुले पैसाका लागि श्रीमान्को मुख ताक्नु परेको छैन ।
घरबासमा विदेशीदेखि स्वदेशी पाहुना थारु परिकार चाख्न आउँछन् । घरबासमा आउने विदेशीको तुलनामा स्वदेशी पाहुनाको सङ्ख्या अधिक रहने उहाँ बताउनुहुन्छ ।
थारु समुदायको मौलिक खान्कीका रूपमा पतौला, मिसौला, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिका माछा, ढिक्री, अन्तीधानको भात, हरियो सागसब्जी, लसुनको चटनी, घाँेगीलगायत परिकार पाहुनाको रोजाइमा पर्ने गर्दछ ।
‘घरबासको कमाइ पाहुनामा निर्भर हुन्छ’, चौधरीले भन्नुभयो, ‘कुनै महिना धेरै कमाइ हुन्छ, कुनै महिना थोरै ।’ औसतमा मासिकरु ३० देखि ३५ हजार रुपैयाँसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो ।
पाहुना बस्नका लागि थारु शैलीका सुविधा सम्पन्न पाँच घर निर्माण गरिएका छन् । एक घरमा दुईदेखि चार जनासम्म पाहुना राख्न सकिने व्यवस्था छ ।
‘घरबासमा पाहुना आएमा पालो मिलाएर राख्छौँ’, उहाँले भन्नुभयो, ‘पाहुनाको सेवा सत्कारमा एकले अर्कालाई सहयोग गर्छौँ ।’
उहाँका अनुसार पाहुनाको मागअनुसार परम्परागत पहिरन र आभूषणमा सजिएर पौराणिक नृत्य सखिया, झुम्रा, हुरदङ्गवा, लठ्ठि, दिन नचवालगायत देखाउने गर्दछन् । त्यसका लागि नृत्य टोलीनै गठन गरिएको छ । नृत्य देखाए बापत् एक हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ ।
उनीहरुले प्राङ्गारीक मल प्रयोग गरी उत्पादन गरेको तरकारी, अन्ती धानको चामल, स्थानीय जातका कुखुरा, बङ्गुर घरबासमा बस्न आउने पाहुनालाई खुवाउने गर्दछन् । तरकारी, अन्न उत्पादनसँगै कुखुरा र बङ्गुरपालनमा घरका पुरुषले सहयोग गर्ने गरेको चौधरीले बताउनुभयो ।
घरबास सञ्चालित गाउँमा नगरपालिकाले प्रवेशद्वार र गोलघर निर्माण गरेको छ । वडा कार्यालयले प्रत्येक घरमा ‘वाइफाइ’ जडान गरेको छ भने ताल नामक गैरसरकारी संस्थाले घरबास सञ्चालकलाई फर्निचर र होर्डिङ बोर्ड राख्न सहयोग गरेको छ ।
घुम्ने इच्छा भएका पाहुनालाई नजिकैको जनहित महाकाली सामुदायिक वनभित्रको सिस्ने सिमसार क्षेत्रमा घुमाउने प्रबन्ध गरिएको घरबास सञ्चालक राजकुमारी चौधरीले बताउनुभयो । धेरै पाहुना घरबासमा बसेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेका छन् ।
घरबासमा आउने पाहुना फर्किँदा विजयसालका भाँडा खरिद गरेर लैजाने गर्छन् । घरबासमा संलग्न महिलाले बहुऔषधीय गुणयुक्त विजयसाल संरक्षण गर्दै आएका छन् ।
सामुदायिक वनसँग समन्वय गरेर रोपिएका विजयसालका विरुवा, रुखका ‘प्लट’ पाहुनालाई अवलोकन गराउन छुटाउँदैनन् । २०७३ सालमा विधिवत रूपमा घरबास दर्ता गरी सञ्चालनमा ल्याइएको हो ।
घरबास सञ्चालन गर्नु अघि ती महिलाहरु श्रीमान्सँगै मजदुरी गरी जीविका चलाउँथे । घरबास सञ्चालनमा ल्याएपछि मजदुरी गर्नु नपरेको स्थानीय लीला चौधरी बताउनुहुन्छ ।
‘मजदुरी गरेर आउने रकमले परिवारको खर्च चलाउन धौ धौ हुन्थ्यो’, उहाँले विगत सम्झँदै भन्नुभयो, ‘घरबास सञ्चालनमा आएपछि ती दुःखका दिनको अन्त्य भएको छ । पैसाका लागि अरुसँग हात थाप्नु परेको छैन ।’
घरबासबाट आएको आम्दानीको केही रकम महिलाले गाउँकै सहकारीमा बचत गर्ने गरेका छन् । प्रचार प्रसारमा जोड दिन सके घरबासमा धेरै पाहुना भित्र्याउन सकिने उक्त वडाका वडा अध्यक्ष अर्जुन साउद बताउनहुन्छ । प्रचार प्रचारसँगै मौलिकतालाई निर्खान थप काम अगाडि बढाउने योजना रहेको उहाँले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस