२५ बैशाख २०८२ बिहिबार | 08 May 2025 Thu

एचआइभी सङ्क्रमितलाई पालिकाको सहयोग



  • आफ्नै खबर
  •     (१५ घण्टा अघि)
  • पाठक संख्या ३३
  • गुल्मी/  सत्यवती गाउँपालिकामा एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो । 

    एचआइभी सङ्क्रमितको पारिवारिक अवस्था अत्यन्तै कमजोर, न्यून आम्दानी एवं आर्थिक अभावका कारण एआरटी केन्द्रसम्म पुग्न नसक्दा कतिपयले औषधि लिन तथा स्वास्थ्य जाँच गराउन नसकेर बीचमा छोड्नुपर्ने अवस्था थियो । 

    उक्त समस्या समाधान गर्न गाउँपालिकाले सङ्क्रमितको जीवनशैलीमा परिवर्तन ल्याउनाका साथै पोषण स्थितिमा सुधार ल्याउन वार्षिक रूपमा यातायात खर्चबापत लाग्ने रकम सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताउनुभयो ।   

    जिल्लामा लामो समयदेखि एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्दै आएको ‘हाम्रो जीवन प्लस’द्वारा सङ्कलित तथ्याङ्क र व्यक्तिले दिएको निवेदनका आधारमा यातायात खर्चको रकम सम्बन्धित व्यक्तिको बैङ्क खातामा पठाइदिने व्यवस्था गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । 

    गाउँपालिकाले यस वर्ष २५ जना सङ्क्रमितका लागि उक्त रकम उपलब्ध गराइसकेको पालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल भण्डारीले बताउनुभयो । एचआइभी सङ्क्रमित हरेक तीनतीन महिनामा स्वास्थ्य जाँच र औषधिका लागि अनिवार्य रूपमा एआरटी केन्द्रसम्म पुग्नुपर्ने भएकाले कोही पनि उपचारबाट वञ्चिन नहुन् भनेर आर्थिक सहयोग गरिएको उहाँको भनाइ छ ।

    सत्यवती गाउँपालिकामा हाल ३६ जना एचआइभी सङ्क्रमित रहेपनि २५ जनाले मात्र उक्त सहयोग लिएका पालिका कार्यालयले जनाएको छ । कतिपय सङ्क्रमित समाजमा खुल्न र सम्पर्कमा आउन नचाहेकाले रकम उपलब्ध गराउन नसकिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताउनुभयो । 

    हाम्रो जीवन प्लसले एचआइभी सङ्क्रमितका लागि घर समुदायमा आधारित हेरचाह कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत सेवाग्राहीको घरसम्म पुग्ने, नियमित औषधि खाए÷नखाएको हेर्ने, परामर्श दिने, प्रेषण गर्ने (रिफर)लगायत काम गर्दै आएको संस्थाकी अध्यक्ष जुना ज्ञवालीले बताउनुभयो । 

    संस्थाले जन्मेदेखि १८ वर्षसम्मका एचआइभी सङ्क्रमित बालबालिकाका लागि शिक्षा र स्वास्थ्यमा राहत पुगोस् भन्ने उद्देश्यले मासिक दुई हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।   

    अध्यक्ष ज्ञवालीका अनुसार घर समुदायमा आधारित कार्यक्रमअनुसार हाल २७ जना सङ्क्रमित बालबालिकालाई उक्त सुविधा प्रदान गरिएको छ । उहाँले जिल्लामा सञ्चालनमा आइरहेको सामुदायिक हेरचाह केन्द्र बन्द भएपछि सङ्क्रमित सेवाग्राहीको अवस्था समस्यामा परेको बताउनुभयो ।

    –रासस