लमजुङ/ जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका हुन् ।
लमजुङ विद्युत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईका अनुसार जिल्लामा उत्पादित उक्त सङ्ख्याका आयोजनाबाट करिब ३०० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । उक्त केन्द्रका अनुसार जिल्लामा सबैभन्दा बढी मर्स्याङदी नदीमा निर्माण भएको ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना रहेका छन् ।
त्यस्तै, ५० मेगावाटको अपर मस्र्याङ्दी, ३० मेगाावट क्षमताको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, ७ मेगावाटको उपर मिदिम, पाँच मेगावाटको सिउरीखोला तथा ४.४ मेगावाटको राँधीखोला आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ ।
त्यसैगरी चार–चार मेगावाट क्षमताको खुदीखोला साना जलविद्युत् आयोजना र अपर छन्दीखोला, तीन मेगावाटको मिदिमखोला, २.४ मेगावटको अपर स्याँगे खोला, दुई मेगावाटको छन्दीखोला, एक सय ८३ किलोवाटको स्याँगे माइक्रो हाइड्रो र ८० किवाको मिदिम माइक्रो हाइड्रोबाट विद्युत् उत्पादन भइरहेको छ ।
जिल्लामा ४० हजार पाँच सय ४२ ग्राहक रहेको उक्त केन्द्रले जनाएको छ । केन्द्रीय विद्युत् लाइन केहीकेही भागबाहेक जिल्लाको अधिकांश भागमा पुगेको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म दुई करोड ३९ लाख नौ हजार युनिट बिजुली बिक्री भएको छ । त्यसबाट १९ करोड ५३ लाख ५४ हजार रुपैयाँ उठेको छ । केन्द्रका अनुसार जिल्लामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
त्यसमध्ये मस्र्याङ्दी बेँसी ५० मेगावाट, सुपर न्यादी हाइड्रो ४०.२७, अपर खुदी २१.२१, न्यादी फिदी २१ मेगावाट, मिदिमखोला–१ आयोजनाबाट १३.४२४ रहेका छन् ।
१२.६ मेगाावट क्षमताको लोअर न्यादी, ६.८२ मेगावाट क्षमताको हिदीखोला, ४.८ मेगावाट क्षमताको मिडिल मिदिम, दुई मेगावाट क्षमताको चेपेखोला क्यास्केड, १.६ मेगावाटको लोदोखोला साना आयोजना र ०.९९६ मेगावाट क्षमताको लोअर मिदिम आयोजना निर्माणाधीन छन् । लमजुडमा दुई हजार पाँच सय मेगावाट क्षमता विद्युत् उत्पादन हुनसक्ने अनुमान छ ।
–रासस
प्रतिक्रिया दिनुहोस