९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

हिमताल विस्फोटबाटै रसुवामा बाढी



  • आफ्नै खबर
  • २६ असार २०८२ बिहिबार (५ महिना अघि)
  • पाठक संख्या १८२
  • काठमाडौँ/  जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । 

    विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएकोे छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियर’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ ।  हिम नदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेशियर ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ ।’

    उहाँका अनुसार उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । अध्ययनले  उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ । 

    पराजुलीका अनुसार यस सम्बन्धमा चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले थप पुष्ट्याइँ दिन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने उहाँको भनाई छ । 

    उहाँले भन्नुभयो, ‘बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ । जसअनुसार उक्त हिम तालबाट पानी निकास भएको देखिन्छ ।’ 

    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले  चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियर ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् ।

    –रासस