पाल्पा/ तानसेन नगरपालिका–९ डाँडाडुमका महिला घरबास (होमस्टे) पर्यटन विकाससम्बन्धी तालिम लिएपछि स्वरोजगारका लागि पहल गर्न थालेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समिति काठमाडौँद्वारा दिइएको घरबास पर्यटन विकाससम्बन्धी आधारभूत तालिमबाट सीप र ज्ञान प्राप्त गरेपछि गाउँमा होमस्टे सञ्चालन गरी आर्थिक समृद्धि हासिल गर्नेतर्फ यहाँका महिला लागेका हुन् ।
तालिममा पर्यटन र होमस्टे, होमस्टेको अवधारणा, कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार, पाहुनाको स्वागत र बिदाइ, घर कोठाको सजावट, खाना र खाजाका परिकार निर्माण, स्थानीय कला र संस्कृतिको प्रदर्शनलगायत विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।
तालिम लिएपछि सरिता आलेले नेपालका सफल होमस्टेको कथा सुन्दा आफ्नो गाउँलाई पनि त्यस्तै बनाउन सकिन्छ भन्ने आत्मबल र उत्साह जागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गाउँमै बसेर आफैँले उत्पादन गरेका वस्तु र आफ्नै रहनसहन बेचेर मनग्य आम्दानी गर्न सकिँदो रहेछ । हामीलाई तालिमले आम्दानीको मार्ग खोलिदिएको छ । सिकेको ज्ञान, सीपको प्रयोग गरेर स्थानीयस्तरमा स्वरोजगार बन्ने र पर्यटन प्रवर्द्धनमा समन्वय गर्ने योजना बनाएका छौँ ।’
नौमति बाजा समूहका अध्यक्ष ईश्वरी पृथीले आफूसँग भएका सांस्कृतिक सीप र दक्षतालाई पाहुनाको स्वागत र मनोरञ्जनमा लगानी गर्ने बताउनुभयो । यहाँका ६६ मध्ये सुरुमा ११ घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
पहिलो चरणमा ११ वटा घरबाट होमस्टे सञ्चालन गर्ने योजना अनुसार प्रारम्भिक तयारी थालिएको मदनपोखरा सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गाहाले बताउनुभयो । होमस्टे सञ्चालनका लागि तालिमले महत्त्वपूर्ण र सहयोगी भूमिका खेलेको तालिममा सहभागी सरस्वती पचभैयाले विश्वास व्यक्त गर्नुभयो ।
पर्यटनका लागि आवश्यक सडक पूर्वाधार, मनोरम दृष्य, समुदायको एकता र मौलिक संस्कृति डाँडाडुममा रहेकाले यहाँ होमस्टे सञ्चालन गर्न उपयुक्त मानिएको स्थानीय राजनीतिज्ञ ओमबहादुर घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समुदायको आत्मसम्मान र आर्थिक उपार्जनका लागि घरबास पर्यटन महत्त्वपूर्ण हुनेछ ।’
डाँडाडुमका स्थानीयको सेवासत्कार, मौलिक संस्कृति र स्थानीय अर्गानिक उत्पादनका परिकारलाई घरबास कार्यक्रममार्फत बजारीकरण गर्न सकिने तानसेन–८ का वडाध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो ।
सामुदायिक घरबास कार्यक्रमले सामूहिक भावना, इमानदार र मर्यादित अतिथिसत्कार र सुसंस्कृतिको सम्मान हुने तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले उल्लेख गर्नुभयो ।
‘घरबास कार्यक्रमले गाउँमा रोजगारी सिर्जना गर्ने, युवाको विदेश पलायनदर घटाउने र महिलाको सक्रियता बढाउने विश्वास गर्दै यहाँ होमस्टेमार्फ पर्यटन प्रवर्द्धन हुनेछ’, उहाँले भन्नुभयो, ‘होमस्टे केवल पर्यटक बस्ने ठाउँ मात्र होइन, यो त हाम्रो संस्कृति, जीवनशैली र अतिथिसत्कार देखाउने स्थान पनि हो ।’
तालिमका प्रशिक्षक मनिसा श्रेष्ठले यहाँका समुदायको जागरुकता, जनप्रतिनिधिको सहयोग र पर्यटनमैत्री संस्कृति हेर्दा सञ्चालनको छोटो समयमा लोकप्रिय र सफल होमस्टे बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस