६ साउन २०८२ मंगलबार | 22 Jul 2025 Tue

मनाङ पुगे ३८ हजार विदेशी



  • आफ्नै खबर
  • ५ साउन २०८२ सोमबार (१ दिन अघि)
  • पाठक संख्या ६१
  • मनाङ/  हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ । मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको सँख्या वार्षिकरूपमा बढ्दै गएको हो ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २२ हजार चार सय ७७ पुरुष, १५ हजार दुई सय ४९ महिला र अन्य ६ गरी ३७ हजार सात सय ३२ विदेशी पर्यटकको आगमन भएको छ । 

    उक्त इलाकाअन्तर्गत धारापानी पर्यटक चेकपोष्टको तथ्याङ्कअनुसार तीमध्ये दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका दुई हजार पाँच सय ५४ र अन्य राष्ट्रका ३५ हजार एक सय ७८ पर्यटकले मनाङ भ्रमण गरेको कार्यालयका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । यो अवधिमा एक सय ३४ देशका पर्यटकले मनाङ भ्रमण गरेको उहाँले जानकारी दिनुभयो । 

    यस आर्थिक वर्षमा सबैभन्दा बढी इजरायलका चार हजार तीन सय ५८ नागरिकले मनाङ भ्रमण गरेका भुजेलले बताउनुभयो । फ्रान्सका तीन हजार ६ सय १६ र जर्मनीका दुई हजार आठ सय ४२ नागरिकले भ्रमण गरेका छन् । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १० राष्ट्रका पर्यटकको आगमन वृद्धि भएको उहाँले बताउनुभयो । 

    आर्थिक वर्ष २०८०/८१ मा एक सय २४ राष्ट्रका २२ हजार तीन सय ७१ पर्यटकले मनाङ भ्रमण गरेका थिए । उक्त वर्ष फ्रान्सका नागरिक सबैभन्दा बढी आएको तथ्याङ्कमा उल्लेख छ ।

    उहाँले भन्नुभयो, ‘यहाँ आउने पर्यटकको आगमन बढ्ने क्रममा छ । यहाँका स्थानीय कृषि र पर्यटन व्यवसायमा निर्भर छन् । पर्यटकको आगमनले यहाँको आर्थिक स्तर वृद्धि हुनाका साथै राष्ट्रकै अर्थतन्त्रमा सुधार गरिरहेको छ ।’

    विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गका रूपमा रहेको अन्नपूर्ण पदमार्ग मनाङमा नै पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको छ ।

    उहाँले भन्नुभयो, ‘अन्य देशबाट पर्यटक आउने भए पनि इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक बढी आउने गरेका छन् । सङ्ख्याका आधारमा यी राष्ट्रबाट धेरै हुन् । अमेरिका, चीन, रसिया, भारतीय पर्यटक आउने क्रम बढ्दै गएको तथ्याङ्क हामीमा दर्ता भएका छन् ।’

    मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ । 

    आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय मनाङका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘तीन/चार दिन लगातार बिदा परेको बेलामा मनाङमा आन्तरिक पर्यटकको आगमन बढी भएको पाएका छौँ । भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बिस्तारै बढ्दै गएको छ । विशेषगरी हाल मनाङ भ्रमणका लागि आन्तरिक पर्यटकको रोजाइ बनेको छ ।’

    आन्तरिक पर्यटकको भने अभिलेख राखिँदैन । तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेका उहाँको भनाइ छ ।

    मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताउनुभयो ।

    लगातार बिदा भएको समयमा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका पाइएको उहाँले बताउनुभयो । 

    दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । कोभिडको सङ्क्रमण र २०७८ सालको बाढीपहिरापछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदै गएको छ ।

    हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आकर्षण र आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । 

    अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरूआत गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ ।

    काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन् ।

    –रासस