बागलुङ/ रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ । छिनछिनमै लुकामारी गर्ने बादल । त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौरीखर्कसम्म तान्न पर्याप्त छन् । स्थानीयहरु यो ठाउँलाई चुङ्री भन्छन् । यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ ।
हरिया डाँडामा सुस्ताउँदै प्राकृतिक सुन्दरतामै झुम्न रमाउनेका लागि यो अनुपम थलो हो भन्दा फरक पर्दैन । उत्तरतर्फ फैलिएका हिमशृङ्खला र भेडीगोट पर्यटकका लागि भुल्ने बाहना बनिदिन्छन् ।
बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्रका गोठाला र भेडा डुल्ने समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइको चौरीखर्क गत वर्षसम्म धेरैका लागि अपरिचित जस्तै थियो । तर, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थालेपछी बाहिरी मानिसका लागि यो परिचित बन्दै गएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत दुई जिल्लाको सिमाना पातीहाल्नेदेखि सहज रुपमा चौरीखर्कमा पुग्न सकिने हुँदा पछिल्लो समय दैनिक पर्यटक आउने गरेका छन् ।
लेकाली हावापानी र पोषिलो घाँस पाइने हुँदा वर्षौँदेखि बागलुङ, पूर्वीरुकुम, रोल्पा र म्याग्दीका गोठालाहरू बर्खाको समयमा यहाँ आउने गर्छन् । पातीहाल्नेदेखि करिब आधा घण्टा गाडीको यात्रा र साढे दुई घण्टा पैदल यात्रापछि चौरीखर्क लेकमा पुग्न सकिन्छ ।
दुई जिल्लाको सङ्गमस्थलका रुपमा रहेको चौरीखर्कमा पर्यटकको चहलपहल हुन थालेपछी गोठालाहरू अहिले दङ्ग छन् । पहिले सुनसान हुने उक्त ठाउँमा अहिले डाँडैभरी पर्यटक भरिने गरेको बागलुङको निसीखोला गाउँपालिका–६ का गोठाला भागविर घर्ती मगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गत वर्ष भदौमा हो जस्तो लाग्छ १२/१५ जनाको टोली चौरीखर्कमा आएको थियो । त्यसपछिका दिनमा यहाँ आउनेहरू बढ्दै गरेको देखिन्छ ।’ आफू जेठको अन्तिम साता गोठ लिएर चौरीखर्क आएको र असार महिनामै सयौँ पर्यटक लेकमा आइसकेको घर्ती मगरले बताउनुभयो ।
‘यो लेक त गोठालाका लागि प्यारो थियो । तर, अहिले त घुम्न आउने मान्छेहरूलाई पनि राम्रो लाग्न थालेछ । कोही बिहान आएर साँझ फर्किन्छन् त कोही एक/दुई दिन टेन्ट टाँगेरै बस्छन्’, घर्ती मगरले भन्नुभयो, ‘अहिले दैनिक एक सय मान्छे आउने गरेका छन् । बिदा हुँदा त यहाँको डाँडाहरु सबै मान्छेले भरिन्छन् । उनीहरुले भेडाका बथान, फूल, गोठ र हामी गोठलाहरुसँग फोटो खिच्न रुचाउँदा रैछन् ।’
पर्यटकलाई लक्षित गरी यहाँ अघिल्लो वर्ष पदमार्ग निर्माण भएको छ । बर्खाको समयमा चारैतिर हरियाली देखिने, वनफूल फूल्ने र भेडीगोठ भेटिने हुँदा पर्यटक बढ्न थालेको पूर्वीरुकुमको भूमे गाउँपालिका–१ का गोठाला नमसिंह गुरुङले बताउनुभयो ।
पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख टङ्कनाथ खनालले अघिल्लो वर्ष १० लाख रुपैयाँमा रुकुमपूर्वको रानीबास–पाइपा हुँदै चौरीखर्क जोड्ने गरी करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरेको बताउनुभयो । यसवर्ष पनि पदमार्गसहित थप पूर्वाधार निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरेको उहाँको भनाइ छ ।
खनालले भन्नुभयो, ‘गत वर्षदेखि यहाँ आउने पर्यटक बढेका छन् । यस क्षेत्रलाई प्रवर्द्धन गर्न लम्बिनी प्रदेश सरकारले पनि ध्यान दिएको छ । अघिल्लो वर्ष कोइपामा जलाकी निर्माण भएको छ । त्योसँगै पदमार्ग पनि बनेको छ । यसको प्रचारप्रसार गर्ने, पूर्वाधार थप्ने र चौरीखर्कलाई उत्कृष्ट गन्तव्य बनाउने गरी काम भइरहेको छ ।’
तुल्सीपुर दाङबाट घुम्न आएका पारस न्यौपानेले चौरीखर्क लेक निकै मनमोह रहेको प्रतिक्रिया दिनुभयो । दाङबाट बुटवल, गुल्मी, बागलुङको बुर्तिवाङ र निसीखोला हुँदै यहाँ आएको उहाँको भनाइ छ ।
यो याममा दाङमा निकै गर्मी रहेको भन्दै चौरीखर्क आएपछि निकै आनन्द आएको न्यौपानेले अनुभव सुनाउनुभयो । सरकारले पातीहाल्नेदेखि चौरीलेकसम्म पुग्ने विभिन्न ठाउँमा बोर्ड र ठाउँठाउँमा विश्रामस्थल बनाउन सके पर्यटकलाई सहज हुने उहाँको बुझाइ छ ।
–रासस
प्रतिक्रिया दिनुहोस