८ साउन २०८२ बिहिबार | 24 Jul 2025 Thu

लौटैया तालले तान्दैछ पर्यटक



  • इन्द्राकुमारी केसी
  • ७ साउन २०८२ बुधबार (९ घण्टा अघि)
  • पाठक संख्या ४९
  • कैलाली/  भजनी नगरपालिका–२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा रहेको लौटैया ताल केही वर्ष अगाडिसम्म अस्तित्वमा थिएन । सुकुम्बासीले अतिक्रमण गरी बस्ती बसेको यस क्षेत्रमा अतिक्रमित संरचना हटाएर सामुदायिक वनका रूपमा संरक्षण गर्दै ताल निर्माण गरेपछि यो क्षेत्र पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै गएको छ ।

    घामले पानीमा तरङ्ग खेलाइरहेको छ । तालको वरिपरि हरियाली वातावरणले अझै सौन्दर्य थपेको छ । आन्तरिक पर्यटक बोटमा चढेर तालमा रमाइरहेका छन् ।

    यसरी रमाउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । सामुदायिक वनका अगुवाहरूले एक दशकअघि अतिक्रमण हटाएर ताल निर्माण गरेपछि अहिले आन्तरिक पर्यटकका लागि यो ताल पर्या–पर्यटनको नयाँ गन्तव्य बन्दै गएको राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘तत्कालीन समयमा अतिक्रमण हटाउन त्यति सहज थिएन । अतिक्रमण हटाएको भन्दै मरणासन्न हुनेगरि कुटपिट गरेको याद ताजै छ ।’

    खड्काले सुकुम्बासीलाई किन हटाएको भन्दै घरमा आएर आफूमाथि कुटपिट भएको स्मरण गर्नुभयो । उहाँ यस सामुदायिक वनको स्थापना (२०५६) देखि अध्यक्षका रूपमा हुनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘सुरुआतमा म अध्यक्ष भएँ । बीचमा अरू पनि आए तर गाउँलेले फेरि मलाई अध्यक्ष बनाउनुभयो ।’

    वन संरक्षणप्रतिको निरन्तर पहलका कारण तीन दशकदेखि वनमा कार्यरत रहेको खड्काले जानकारी दिनुभयो । अतिक्रमण, छाडा चरिचरन र बर्सेनि वन डढेलोका कारण वारिपारि गाउँ देखिने वन अहिले घना हरियालीमा परिणत भएको उहाँको भनाइ छ । 

    अहिले यो वनमा भारतको दुधुवा हुँदै आउने पाटेबाघले डमरुहरू हुर्काउने गरेका अध्यक्ष खड्काले जानकारी दिनुभयो । अहिले वनमा चित्तल, बँदेल, गोहोरो, अजिङ्गरलगायत विभिन्न चराचुरुङ्गीको सुरक्षित बासस्थान हुनुका साथै लौटैया तालमा यी वन्यजन्तु पानी पिउन आउने गरेका उहाँले उल्लेख गर्नुभयो ।

    उहाँका अनुसार समूहले वनका खाली ठाउँमा बर्सेनि वृक्षारोपण गर्दै आएको छ । वनमा बाँस, कुरिलो, सर्पगन्धालगायतका गैरकाष्ठ प्रजातिको रोपण गरिएको जनाउँदै उहाँले संरक्षणप्रतिको गहिरो लगाव र निरन्तरताको पहलका कारण सन् २००३ मा आफूलाई ‘अब्राहम कन्जरभेसन अवार्ड’ पनि प्राप्त भएको बताउनुभयो । 

    उक्त सम्मानले आफूलाई वन संरक्षणमा थप उत्साहित बनाएको उहाँले धारणा राख्नुभयो ।

    खाली गरिएको उक्त क्षेत्रमा सानो ड्याम बनाएर प्राकृतिक रूपमा पानी जम्मा गर्नेगरी ताल बनाइएको खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पहिले यहाँ माछापालनमा मात्रै प्रयोग हुन्थ्यो । तर हामीले ताललाई जगेर्ना गर्ने र पर्यटनसँग जोड्ने सोच बनाएर योजनाबद्ध विकास गरेका छौँ ।’

    तालको किनारैकिनार तारबार गरिएको छ । अहिले तालमा तीनवटा डुङ्गा (बोट) सञ्चालित छन् । यो ताल विद्यार्थी, स्थानीय बासिन्दा, वृद्धवृद्धा सबैको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ । 

    विद्यार्थीका लागि १५ रुपैयाँमा डुङ्गा चढ्न पाउने व्यवस्था गरिएको जनाउँदै पार्क निर्माण समितिका अध्यक्ष अर्जुन सोबले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सुविधा दिने गरिएको बताउनुभयो । उहाँका अनुसार अन्य व्यक्तिलाई ३० रुपैयाँ शुल्क तोकिएको छ । 

    सोबले भन्नुभयो, ‘दैनिक दुई सयभन्दा बढी पर्यटक यहाँ आउँछन् । सबैले पालो पाउँदैनन् । कहिलेकाहीँ डुङ्गा चढ्न नपाएर फर्किनेहरू पनि हुन्छन् ।’ डुङ्गा सञ्चालन पछि दैनिक तीन हजार रुपैयाँसम्म आम्दानी भइरहेको जनाउँदै उहाँले डुङ्गा शयर गर्न बढी विद्यार्थी आउने गरेका बताउनुभयो ।

    सामुदायिक वनको आम्दानी बढेसँगै स्थानीयलाई रोगजारीको अवसर पनि सृजना भएका वनका अध्यक्ष खड्काले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘वनभित्र फोटो खिच्नका लागि फोटोग्राफरलाई महिनाको दुई हजार एक सय रुपैयाँ लिनेगरी व्यवस्था गरिएको छ । नगरपालिका र वडामा दर्ता गरी फोटोग्राफरले फोटो खिच्न पाउने निर्णय गरिएको छ । जसका कारण स्थानीय युवाले रोजगारी पाएका छन् ।’ 

    थारू सङ्ग्रहालयको बढायो महत्व
    तालको नजिकै बन्न थालेको थारू सङ्ग्रहालयले लौटैया तालको महत्व बढाएको छ । सङ्घीय सरकारले ९० लाख रुपैयाँ र प्रदेश सरकारले १० लाख रुपैयाँ बजेटमार्फत सङ्ग्रहालयको संरचना निर्माण गरेको भजनी नगरपालिका–२ का वडाध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘वडा कार्यालयमार्फत पनि केही रकम सहयोग गरेका छौँ । डुङ्गा शयरको सुविधासहित पार्क सञ्चालनमा आइसकेको छ । सङ्ग्रहालयको घर बन्न बाँकी छ ।’

    पर्या–पर्यटनसँगै थारू कला, संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको भजनी–२ का वडाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार हाल सङ्ग्रहालयको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । 

    ‘भवन बन्दै छ, तर भित्र राखिने परम्परागत सामग्री, थारू जीवनशैली झल्काउने पुराना औजार र लुगाकपडा अझै सङ्कलन हुन बाँकी छ’, वडाध्यक्ष पुनले भन्नुभयो, ‘सङ्ग्रहालय बनेपछि लौटैया ताल आउनेहरूले डुङ्गा शयरका साथै थारू संस्कृति पनि नजिकबाट देख्न पाउनेछन् । यसले पर्यटकको चहलपहल झन् बढाउने छ ।’

    वनका अध्यक्ष खड्काले अहिले ताल ६ बिघा क्षेत्रमा फैलिएको जनाउँदै सामुदायिक वन समितिले यसलाई २० बिघासम्म विस्तार गर्ने योजना अघि सारेको बताउनुभयो । कैलालीको यो सानो ताल आजभोलि सामुदायिक वनहरूमा पर्या–पर्यटनको सफल उदाहरण बन्दै गएको छ ।

    –रासस