१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

ठुलो इतिहास बोकेको सानो जिल्लाको ‘मुटु’ अर्थात् सांस्कृतिक नगर भक्तपुर



  • आफ्नै खबर
  • २८ फागुन २०८० सोमबार (९ महिना अघि)
  • पाठक संख्या ४४
  • स्थानीय नेवारी भाषामा ख्वप नामले चिनिने भक्तपुर काठमाडौं उपत्यकाको पुरानो नेवारी सांस्कृतिक केन्द्र हो । यो नगर नेपालको राजधानी काठमाडौंबाट १५ कि.मि. पूर्वमा अवस्थित छ । भक्तपुरको पूर्वमा काभ्रे उत्तर पूर्वमा काठमाडौं जिल्ला र दक्षिणमा ललितपुर जिल्ला पर्दछ । यो नगर समुद्री सतहबाट १४०१ मिटरमाथि अवस्थित छ । यस नगर ६.८८ वर्ग कि.मि. फैलिएको छ । यस नगरमा ९० प्रतिशतभन्दा बढी नेवार र बाँकी ब्राम्हण, मुस्लिम र अन्य जाति बसोबास गर्छन् । वि.सं. २०७८ सालको जनगणना अनुसार भक्तपुर जिल्लामा ४,३२,१३२ र ऐतिहासिक नगरी भक्तपुरमा महिलाः ३९,३८१ र पुरुष ३९,७५५ गरी ७९,१३६  जनसंख्या बसोबास गर्दछन् । नगरको जनघनत्व ११४८६ रहेको यस नगरमा औसत परिवार संख्या ४.१७ छ भने जनसंख्या वृद्धिदर –०.५३ रहेको छ ।  यहाँका सम्पदा संरक्षणलाई प्रशंसा गर्दै युनेस्कोले यस शहरलाई सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको होे । नेपालको लिखित इतिहास भक्तपुरको चाँगुनारायणबाट सुरु हुन्छ । जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी, माटोको भाँडाकुँडा र हस्तकला आदिले भक्तपुर नगरको परिचय र मौलिकता झल्काउँछ ।

    इतिहास
    नेपालको लिखित इतिहास भक्तपुरको चाँगुनारायणमा रहेको पाँचौं शताब्दीको लिच्छबीकालीन शिलालेखबाट प्रारम्भ भएको हो । भक्तपुर नगर सर्वप्रथम आठौं शताब्दीमा राजा आनन्द देवले स्थापना गरेका थिए । यहाँको सबै भन्दा पूरानो मन्दिर दत्तात्रयको मन्दिर १५ औं शताब्दीमा राजा यक्षमल्लको पालामा बनेको थियो । यो नगर बाह्रौं शताब्दीदेखि पन्ध्रौं शताब्दीसम्म नेपालको राजधानी नगरका रुपमा रहेको थियो । यो नगर १८ औं शताब्दीसम्म एउटा स्वतन्त्र राज्यको रुपमा रहेको थियो ।

    भूगोलः
    राजनैतिक रुपमा भक्तपुर नगरपालिका बागमती प्रदेशअन्तर्गतको भक्तपुर जिल्लाको ४ स्थानीय तहमध्येको एक र सबैभन्दा पुरानो नपा हो । यो नपा १० वडा र २४ वटा टोलमा विभाजित छ । भौगोलिक रुपमा यो नगर उडिरहेको परेवाको आकारमा पूर्व पश्चिम ४.५ कि.मी.  लम्बाइ र उत्तर दक्षिण १.५ कि.मी. चौडाइमा फैलिएको छ । यस नगरको उत्तर र दक्षिणमा दुई वटा नदी र नगरभर पोखरीह छरिएका छन् ।

    हावापानीः
    भक्तपुर नगर काठमाडौं उपत्यकाको एक भाग हो । त्यसैले यस नगरको हावापानी काठमाडौं उपत्यकाको हावापानीसँग मिल्दोजुल्दो छ । यस शहरको तापक्रम गर्मी याममा अधिकतम ३५ डिग्री सेल्सियस र हिउँदमा न्युनतम –३ डिग्री सेल्सियससम्म पुग्दछ । यहाँको औसत वर्षा १३६२.२ मिलिमिटर र ९० प्रतिशत वर्षा मनसुनमा (जेठ महिनादेखि भदौसम्म) हुन्छ ।

    अर्थव्यवस्थाः
    यस सहरको आर्थिक वृद्धि विस्तारै बढ्दै छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो भने पर्यटन तीब्र रुपमा विकास हुँदै गरेको उद्योग हो । घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय र हस्तकलाका सामग्री यहाँको आम्दानीको मुख्य स्रोत हुन् । २०६८ सालको जनगणनाअनुसार यस नगरको  व्यक्ति आम्दानी ७४२ डलर रहेको छ ।

    पर्यटनः
    यस शहरको आर्थिक विकासमा पर्यटन उद्योगले ठूलो योगदान गरिरहेको छ । अक्टोबर र नोभेम्बर महिना भक्तपुरमा पर्यटन आगमनको मुख्य सिजन हो । आ.व. २०५०।५१ देखि २०७९।०८० असारमसान्तसम्ममा कूल ४५ लाख ५२ हजार ८२७ जना विदेशी पर्यटकहरुले भक्तपुर नगरको अवलोकन गरे ।आ.व. २०७९।८० मा मात्र चीन र सार्क मुलुकका ८१३१८ जना तथा गैर सार्क मुलुकका ८६३३४ गरी कूल १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरुले साँस्कृतिक नगर भक्तपुरको अवलोकन गरेका थिए ।


    कृषिः
    भक्तपुर शहरमा केही हेक्तर जमीनमात्र कृषि उत्पादनको लागि प्रयोग हुन्छ । यहाँको मुख्य उत्पादनमा धान, गहुँ, मकै, हरियो सागसब्जी र गेडागुडी हुन् । कुखुरा पालन व्यवसायमा यो शहर आत्मनिर्भर छ ।

    उद्योगः
    भक्तपुर शहरमा एउटा साना औद्योगिक क्षेत्र छ जहाँ कपडा, डेरी, काष्ठकला, रंग, सेरामिक्स, बुनाइ, नेपाली कागज र धातुका सामग्रीका उद्योग सञ्चालित छन् । यस शहरको पर्यटन उद्योगको विकासको लागि औद्योगिक क्षेत्रलाई स्थानीय सीपमा आधारित हस्तकला औद्योगिक क्षेत्रमा परिणत गर्नु पर्ने देखिन्छ । धान, चिउरा, काष्ठकला उद्योग र फर्निचर उद्योग, सिलाइ र बुनाई, पौभा र थाङ्का लेखन, गलैंचा, धातुको सामग्री, माटोको भाँडाकुँडा आदि यस शहरका अन्य औद्योगिक उत्पादन हुन् ।

    हस्तकलाः
    यो सहरको हस्तकला उत्पादन उच्च गुणस्तरका लागि प्रख्यात छ । काष्ठकला, थाङ्का र पौभाचित्र, नेपाली कागजका सामग्री, पुतली, ऊनको सामग्री, धातुकला, गहना, प्रस्तरकला, मृतिका कला आदि यहाँका प्रमुख हस्तकलाका उत्पादन हुन् ।

    शिक्षाः
    यस सहरमा १३ वटा प्राथमिक विद्यालय, १३ वटा निम्न माध्यमिक विद्यालय, ६० वटा माध्यामिक विद्यालय, १० वटा उच्च माध्यमिक विद्यालय, ७ वटा कलेज र दुई वटा प्राविधिक शिक्षण संस्था छन् । यी संस्थामा विभिन्न संकायहरुमा हजारौं विद्यार्थी अध्ययनरत छन् । भक्तपुर नगरपालिका आफैंले ७ वटा कलेज र एउटा बहुप्राविधिक अध्ययन संस्थान सञ्चालन गरिरहेको छ । यी शैक्षिक संस्थामा नेपालका ७७ जिल्लाबाट ७ हजारभन्दा बढी विद्यार्थी विभिन्न संकाय र विषयहरुमा न्युन शुल्कमा अध्ययनरत छन् ।

    स्वास्थ्यः
    हाल यस शहरमा ४ वटा अस्पताल र ३ वटा जनस्वास्थ्य केन्द्र छन् । यीमध्ये एउटा बालबालिका र महिला रोग सम्बन्धित छ, एउटा अर्बुद्ध रोगसँग सम्बन्धित र बाँकी २ सामान्य रोगको उपचारसँग सम्बन्धित छन् । नगरपालिकाले नगरका विभिन्न ठाउँमा जनस्वास्थ्य केन्द्र पनि सञ्चालन गरिरहेको छ । हाल आकस्मिक सेवा प्रदान गर्दै नगरपालिकाले अस्पतालसमेत सञ्चालनमा ल्याएको छ ।

    संस्कृतिः
    ‘जीवित सम्पदा’ र जीवित संग्रहालयको रुपमा रहेको भक्तपुरले नेवारी संस्कृतिको विविध आयामलाई प्रस्तुत गर्दै आएको छ । नेवारहरुको महान चाडपर्वहरु, मौलिक जीवनशैली, संस्कार, दाफाभजन, गुठी, परम्परागत बाजागाजा र नृत्य समूहले यहाँको अमूर्त कलालाई जीवन प्रदान गरिरहेको छ ।
    विस्केट जात्रा, गाई जात्रा, दशैं, तिहार, आदि यो शहरका प्रमुख जात्रा हुन् । भक्तपुर आउने सबै पाहुनाहरुले यहाँका दैनिक सांस्कृतिक गतिबिधि जस्तै दाफाभजन, पूजाआजा, सांस्कृतिक नाचगान, संस्कार मौलिक नेवारी पोशाक र जीवनशैली आदि प्रत्यक्ष अनुभव गर्न सकिन्छ । यी जीवित सम्पदा पुस्तौंदेखि एक पुस्ताबाट अर्को पुस्तामा नटुटिने गरि सीप हस्तान्तरण हुँदै आएको छ ।
     
    यस्तो छ भक्तपुर नगरको ऐतिहासिक परिचय

    •     भक्तपुर ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय नगर
    •     “नेपालको रोम शहरको रुपमा परिचित”, स्थानीय भाषामा “ख्वप”
    •    “संस्कृतिको नगर”, “जीवित सम्पदा”, “नाँचगानको राजधानी” र “नेपालको साँस्कृतिक रत्न” को रुपमा परिचित 
    •    “जुजु धौ”, भादगाउँले टोपी तथा हाकु पटासी
    •     १२औं शताब्दीमा राजा आनन्द मल्लबाट स्थापित
    •     १५औं शताब्दीसम्म मल्ल राज्यको राजधानी शहर
    •     १८औं शताब्दीको शुरूवातमा हालको भौगोलिक स्वरूप लिएको
    •     यूनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचीकृत

    महत्त्वपूर्ण तथा पर्यटकीय स्थल 
    क) दरवार क्षेत्र : विश्व सम्पदामा समावेश भएको पच्चपन्न झ्याले  दरबार, स्वर्णद्वारसमेत
    ख) टौमढी क्षेत्र : विश्व प्रसिद्ध पाँच तले मन्दिर र भैरवनाथ मन्दिर
    ग) दत्तात्रय क्षेत्र : मठैमठले घेरिएको दत्तात्रय मन्दिर र पुजारी मठ
    घ) तालाक्व क्षेत्र : परम्परागत माटाको भाँडाकुँडा बनाउने ठाउँ 
    ङ) पोखरी : सिद्धपोखरी, कमलविनायक पोखरी

     

                                                                                                                                                                                                                    स्रोत : भक्तपुर नगरपालिका

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?