२३ कात्तिक २०८२ आईतबार | 09 Nov 2025 Sun

प्रकृतिको अलौकिक उपहारले सजिएको राइनास नगरपालिका



तस्विर श्रोत: राइनास नगरपालिका
  • आफ्नै खबर
  •     (२ बर्ष अघि)
  • पाठक संख्या १९९
  • नेपालको करिब मध्य भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका २०७३ सालमा साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलाई समेटेर बनाएको हो ।

    लमजुङ जिल्लाका ८ स्थानिय तहमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् । जसमा भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू–भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ । नगरपालिका आफैँमा भौगोलिक विविधताले सम्पन्न त छँदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर, भैरवदेवी मन्दिर, सालमेडाँडा, सिमघारी गाउँ आदि रहेको छ ।

    ‘हाम्रो राइनास नगरः कृषि, पर्यटन शिक्षा र वातावरण मैत्री शहर’ भन्ने नाराका साथ अघि वढेको यो नगरपालिकालाई अनेकौ डाँडाकाँडा, पहाड, लेक, वेसी, खहरे, नदीनाला, खोल्सा खोल्सी, उकाली ओराली, भज्याङ देउराली, थुम्काथुम्की, कोट गढी, मठ मन्दिर, हरिया वन जंगल आदिले रोमाञ्चकता प्रदान गरिरहेका छन् । यिनै प्राकृतिक परिदृश्यमा यसले आफ्नै मौलिक अस्तित्व बोकेको छ । लमजुङ गोर्खा भएर बग्ने पवित्र र स्वच्छ एंव निर्मल जलले बोराङ्खोला देखि साहिलीटार, टिमुरे, सातविसे, अल्कटार, तीनपिप्ले, स्याउली, धमिलीकुवा, गरमवेशी हुँदै चेपेघाट सम्म समथर खेतबारी र ठूला ठूला टारहरु सिंचित भएका छन् । यो फाँट तथा टारहरुमा बाह्रै महिना हराबरा बालीहरु लहराईरहेका हुन्छन् ।

    यसकारण चम्पावती नदीलाई यस नगरपालिकाको महत्वपूर्ण गहनाका रुपमा लिन सकिन्छ । अझै उच्च तर्फ हेर्ने हो भने राइनासकोट र यसको अगलवगलमा जति हेरे पनि नअघाइने प्रकृति र विविध सँस्कृतिका गाँउ बस्तीहरु एंव हिमशृङ्खलाहरु देख्न पाइन्छ ।