नेपालको सुदूरपूर्व इलामको पूर्वीभागमा रहेको रोङ गाउँपालिका चुरिया तथा मध्यपहाडी महाभारत क्षेत्रमा अवस्थित छ । रोङ गाउँपालिका साविकको जिर्मले, कोल्बुङ, इरौटार र शान्तिपुर गाविस भित्रका वडाहरु समायोजन भएर स्थापना भएको हो ।
यो क्षेत्र भौगोलिक, सांस्कृति तथा प्राकृतिक रुपमा समेत विविधता बोकेको गाउँपालिका हो । यो क्षेत्र आदिकालदेखि लेप्चा÷लाप्चा जातिको मौलिक थलोका रुपमा रहेको थियो । नेपाल एकीकरण हुनुअघि यस क्षेत्रको शासन प्रणालीमा यिनै लाप्चा जातिहरुको महत्त्वपूर्ण भूमिका रहेको थियो । हालको राज्य पुनर्संर
चनाका क्रममा यस क्षेत्रमा आदिकालदेखि बसोबास गर्दै आएका लाप्चा जातिहरुको ऐतिहासिक थातथलो भएकाले यस गाउँपालिका क्षेत्रलाई रोङ नामाकरण गरिएको हो ।
लेप्चाहरुको भाषा तथा लिपीलाई रोङ भनिन्छ । लेप्चा भाषा अनुसार शाब्दिक रुपमा रोङको अर्थ अग्लो स्थान वा रुङ्ने स्थान भन्ने हुन्छ । यस क्षेत्र तराईबाट क्रमशः माथि उठ्दै अग्ला डाँडा भएको हुनाले यस भूभागलाई लेप्चा भाषाबाट रोङ भनिएको हो ।
रोङ गाउँपालिका साविकका ४ गाविसका ३६ वडालाई हाल ६ वटामा समेटिएको छ । यसको प्रशासनिक केन्द्रका रुपमा साविक कोल्बुङ गाविसको कार्यालय भवन रहेको छ । यो गाउँपालिका २६ डिग्री ४४ मिनेट ४२ सेकेण्ड देखि २६ डिग्रि ५१ मिनेट ५४ सेकेण्ड उत्तरी अक्षांशसम्म र ८७ डिग्री ५७ मिनेट ५४ सेकेण्ड देखि ८८ डिग्री ११ मिनेट ११ सेकेण्ड पूर्वी देशान्तरमा रहेको छ । कुल क्षेत्रफल १ सय ५५ दशमलव ०६ वर्गकिलोमिटर रहेको गाउँपालिकाको पूर्वमा भारत, पश्चिममा सूर्योदय नगरपालिका, उत्तरमा सूर्योदय नगरपालिका तथा दक्षिणमा झापा जिल्ला पर्दछ ।
रोङ गाउँपालिका दक्षिणमा तराई अर्थात् झापा जिल्लासँग जोडिएको तथा उत्तरमा महाभारत पहाडसम्म फैलिएकाले यहाँको भौगोलिक स्वरुपमा समेत विविधता पाइन्छ । यहाँ उत्पन्न भएका खोला तथा खोल्सी क्रमशः उत्तरबाट दक्षिणतर्फ विभिन्न जलाधारमार्फत मेची नदी, विरिङ, हडिया हुँदै कन्काई नदीमा मिसिन्छ । यस गाउँपालिकाका केही क्षेत्र चुरे भूभागअन्तर्गत पर्दछन् । भौगोलिक विविधताले गर्दा यहाँ पाइने वनस्पति तथा जैविक विविधतामा समेत एकरुपता देखिँदैन ।
यस गाउँपालिकाको भौगोलिक अवस्थति अनुसार क्रमश दक्षिणी तथा पूर्वी मोहडा क्षेत्रबाट उत्तरतर्फ भिरालोपना बढ्दै गएको छ । यस गाउँपालिकाको न्यूनतम उचाइ २ सय ७५ मिटर मेचीखोला पूर्वीसिमाना र अधिकतम उचाइ १हजार ८ सय ३९ मिटर हाँसपोखरी उत्तरी सिमानासम्म रहेको छ ।
गाउँपालिका क्षेत्रभित्र रहेका अन्य साविक गाविस क्षेत्र तथा वडा कार्यालय रहेको स्थानको नामकरण सम्बन्धमा विभिन्न धारणा तथा जनश्रुतिसमेत रहेको पाइन्छ । जस अनुसार वडा नं. ५ को केही भूभागसमेत रहेको इरौटार रहनका पछाडि झापाको शान्तिनगरका सहयोगी भूमिका रहन गएको छ । हाल झापा जिल्लाअन्तर्गतको शान्तिनगर क्षेत्र पहिला इलाम जिल्ला अन्तर्गतको भू–भागमा थियो । औलो रोगको डरले उक्त क्षेत्रमा मानव बस्ति पनि बस्न नसकेको वेला समथल भ–ू भागमा घना जगंल र एकप्रकारको लहरेविरुवा धेरै देखिन्थ्यो । पशुबस्तुले पनि रुचाउने पोसिलो घाँस हुने इरु नामको एक प्रकारको लहराले सम्पूर्ण शान्तिनगर र आसपासका पाखालाई समेत ढाकेको थियो । इरु लहराले ढाकिएको टारबाट इरुटार नाम रहन गयो र कालान्तरमा उक्त शब्द अपभ्रंश हुँदै इरौटार बन्न पुगेको हो ।
नेपाललाई ७५ जिल्लामा विभाजन गर्दा यहाँ पर्ने समतल भूभाग जति झापा जिल्लामा र पहाडी भूभाग जति इलाम जिल्लामा गाभियो । त्यसैबेला उक्त इरुटारलाई झापामा गाभी शान्तिनगर नामाकरण गरियो भने त्यसका आसपासका पहाडी भागलाई इरौटार भन्न थालियो ।
त्यस्तै, पालिकाको सुदूरपर्वी सिमानामा पर्ने हालको वडा न. ६ जिर्मले भारतीय सीमा मेची नदीसँग जोडिएको छ । परापूर्व कालमा यस क्षेत्रमा लाप्चा जातिहरुको बसोबास र सामाजिक अगुवाइ रहेको भन्ने भनाइ छ । यस क्षेत्रको नामकरण सम्बन्धमा रहेका जनश्रुति अनुसार जिर्मले जसको प्रादुर्भाव लेप्चा भाषाको जिर्मा ले–ले अर्थात् अतिथि सत्कारका लागि ग्रामीण क्षेत्रमा श्रद्धापूर्वक दिइने एक पदार्थको नसालु पदार्थ जाँड भन्ने शब्दबाट भएको हो । यसबाट शुरुमा यहाँ लेप्चा जातिको बाहुल्य रहेको थाहा हुन्छ ।
गाउँपालिकाको विशेष गरी वडा न. ३ र ४को क्षेत्रलाई कोल्बुङ नामकरण गरिएको छ । नामकरणका विषयमा आउने विभिन्न किंवदन्ती अनुसार स्थानीय क्षेत्रको जङ्गलमा धेरै पाइने एक प्रकारको रुख चिउरीको नामबाट चिउरीबोटे भन्ने आसयले कोल्बुङ भनिएको भन्ने भनाइ छ । अर्कोथरि भनाइ अनुसार मलातो प्रजातिको रुख प्रशस्त पाइने हुनाले लाप्चा भाषामा मलतो लाई कोहलकुञ भनिन्थ्यो अपभ्रंश भई कोल्बुङ नामकरण भएको भनाइ रहेको छ ।
यस गाउँपालिकाको वडा न. १ र २ को समेत भूभाग पर्ने शान्तिपुर नामकरण गरिएको छ । यस सम्बन्धमा विभिन्न भनाइहरू रहेको पाइन्छ । आजभन्दा लगभग साढे पाँच दशक पूर्व शान्तिपुरको लगभग बिच भागमा अवस्थित फलैचे गाउँमा भएको चौतारी र वरपिपलको वृक्षको शीतल छहारीमा रहँदा वा बस्दा असीम आनन्द एवं शान्तिको अनुभूति प्राप्ति भएको महसुुस हुने हुँदा नै यस सुन्दर ठाउँलाई शान्तिपुर भनी नयाँ नामकरण गरिएको हो भन्ने जनश्रुति रहेको छ ।
स्रोत : रोङ गाउँपालिका
प्रतिक्रिया दिनुहोस