काठमाडौं/ गोकर्णेश्वर नगरपालिकाले नगरभित्र स्थायी बसोवास गर्दै साहित्यमा साधनारत सर्जक तथा समाजसेवी विद्वान्लाई सम्मान गरेको छ । नगरपालिका प्रमुख दीपककुमार रिसालले प्रा.डा. ऋषिराम पोखरेल र गीतकार एवं वरिष्ठ कवि कञ्चन पुडासैनीलाई गोकर्णेश्वर साहित्य पुरस्कार २०८० ले सम्मान गर्नुभएको हो ।
सम्मानित व्यक्तित्वहरूलाई एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गर्दै नगर प्रमुख रिसालले भौतिक विकासले मात्र शान्ति र सन्तुष्टि ल्याउन नसक्ने भएकाले पहिलेदेखि नै नगरपालिका साहित्य क्षेत्रको विकासमा योजनाबद्ध हिसाबले लागेको बताउनुभयो । कुनै पनि समुदाय र राष्ट्रियताको पहिचान, संस्कृति, सोच पछिल्लो पुस्तामा सार्न साहित्यको महत्वपूर्ण योगदान हुने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, ‘गोकर्णेश्वर नगरपालिका वरिष्ठ साहित्यकार रमेश विकल, वरिष्ठ हास्यव्यंग्यकार भैरव अर्यालजस्ता चर्चित र सम्मानित साहित्यकारहरूको जन्मभूमि हो । उहाँहरूको योगदानलाई बिर्सनुहुँदैन । त्यसैले यस पालिकामा पनि साहित्य क्षेत्रमा योगदान पुर्याउन चाहनेलाई नगरपालिका तपाईंहरूसँगै छ भन्ने भावना विकास गराउने उद्देश्यका साथ यो पुरस्कार वितरण सुरु गरिएको हो ।’
नगर उपप्रमुख सान्नानी लामाले स्वागत मन्तब्य राख्दै साहित्यको क्षेत्रमा काम गर्न नगरपालिकाको सिंगै परिषद् एकजुट भएर लागिरहेको बताउनुभयो । साहित्यले सिर्जनशीलता बढाउने र भौतिक विकासमा सहज हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा पुरस्कार चयन समितिका साहित्यकारहरु गोविन्द घिमिरे वेदमणि (अभिनव साहित्य समाज), विजय चालिसे (रमेश विकल साहित्य प्रतिष्ठान) र बाजुराम पौडेल (सुरभि साहित्य प्रतिष्ठान) तथा समालोचक युवराज मैनाली आदिबाट गोकर्णेश्वर नगरपालिकाले साहित्य क्षेत्रको विकासमा गरेको प्रयासको प्रशंसा गरिएको थिए ।
पुरस्कारले सम्मानित व्यक्तित्व प्रा.डा. ऋषिराम पोखरेलले आफू जन्मे–हुर्केको नगरपालिकाले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै भन्नुभयो, ‘मलाई अप्ठ्यारो लागेको छ । नगरपालिकाले साहित्य क्षेत्रमा गरेको योगदान हेर्दा हामीलाई सम्मानभन्दा पनि देशभरिका साहित्यिक संस्थाहरूले मिलेर नगरपालिकाका प्रमुखलाई सम्मान गर्नुपर्ने देखिएको छ ।’ गोकर्णेश्वर नगरपालिकाले साहित्य क्षेत्रको विकासका लागि गरेको कामबाट बाँकी सात सय ५२ पालिकाले केही सिक्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदीले यो नगर धार्मिक महत्त्व, पर्यावरण महत्त्व, पानीका स्रोत सहित साहित्यका महारथी जन्मिएको भूमि हो भन्दै पुरातात्विक महत्त्वका सम्पदा बचाउन सघाउने साहित्यकारलाई अभिनन्दन गर्नु जरुरी भएको बताउनुभयो ।
को हुन् सम्मानित व्यक्तिहरू ?
प्रा.डा. ऋषिराम पोखरेल
प्रा.डा. पोखरेल पिता श्री पं. दोहनाथ पोखरेल र माता श्रीमती रमादेवी पोखरेलका सुपुत्रको रूपमा ८२ वर्षअघि सुन्दरीजल, काठमाडौंमा जन्मनुभएको हो । उहाँले मृगस्थली ब्र्रह्मचर्याश्रम, रानीपोखरी संस्कृत प्रधान पाठशाला, नेपाल राजकीय संस्कृत महाविद्यालय र त्रिविसमेतमा अध्ययन गरी प्रथम श्रेणीमा वेदाचार्य र वैदिक राजतन्त्र विषयमा विद्यावारिधिको उपाधि हासिल गर्नुभएको छ । ०२५ सालदेखि उपप्राध्यापकको रूपमा सेवा प्रवेश गरी प्राध्यापकसमेत भई त्रिवि र म. वि.वि.मा सेवारत रहँदैको अवस्थामा उहाँले ०६१ सालमा स्वेच्छाले अवकाश लिनुभएको थियो ।
अवकाशपछि विभिन्न सामाजिक तथा धार्मिक कार्य गर्दै देशको विभिन्न स्थानमा धान्यचल यज्ञ, सार्वजनिक रूपमा श्रीमद्भागवतको वाचन, विश्व तथा शिव शान्ति कोटिहोम आदि ठूलाठूला महायज्ञको सञ्चालन गरी सहयोगार्थ उठेका रकमवाट अनेकौँ सामाजिक, शैक्षिक तथा धार्मिक संरचनाहरूको निर्माणमा योगदान पुर्याउँदै आउनुभएको छ । संस्कृत तथा वैदिक वाङ्मयको विकासमा टेवा पुर्याउने उद्देश्य लिएर गोकर्णेश्वर नगरपालिका– ४ अन्तर्गत उत्तरवाहिनी क्षेत्रमा श्री कान्तिभैरव गुरुकुल विद्यालयको स्थापना र व्यवस्थापन गरिरहनुभएको छ ।
उहाँ सनातन धर्म सेवा समिति नेपालको संस्थापक तथा आजीवन सदस्यबाट सुरुवात गरी ४२ भन्दा बढी संघसंस्थाको आजीवन सदस्य, अध्यक्ष, निर्देशक र सल्लाहकारजस्ता पदमा रही सेवा गर्नुका साथै विभिन्न प्राज्ञिक तथा अनुसन्धान परिषद्मा रहँदै विविध कार्यक्रमहरूमा सहभागी, मूल्यांकनकर्ता, कार्यपत्र लेखक तथा प्रस्तुतकर्ता, समीक्षक र प्रवक्ता आदिको भूमिका पनि निर्वाह गर्दै आउनुभएको छ ।
यस्तै, १६ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा सेमिनारहरूमा कार्यपत्र प्रस्तुतकर्ता भएर योगदान गर्नुभएको छ । त्यस्तै, विविध लेख–रचना प्रकाशित गराउँदै ‘सिक्री खण्डकाव्य’, मनकामना पूजाविधि, वैद्यनाथ पूजाविधि, ध्रुव चरित्र खण्डकाव्य, युवाप्रति कवितासंग्रह जस्ता अनेकौँ ग्रन्थको प्रकाशन, शुक्ल यजुर्वेदको अनुवाद, नेपालको समन्वयात्मक दर्शनसंग्रह २०२६, चरित्रविज्ञान प्रथम संस्करण, नयराज पन्तको जीवनी व्यक्तित्व र कृतित्व, धर्म सन्देश, मर्यादा, बालक, वैद्यनाथ क्षेत्रजस्तो पत्रपत्रिकाहरू र अनेकौँ स्मारिकाको सम्पादनसमेत गर्नुभएको छ ।
उहाँले सुप्रबल गोरखा दक्षिणबाहु, महेन्द्र विद्याभूषणजस्ता पदकका साथै २९ भन्दा बढी संस्थाहरूले प्रदान गरेका सम्मान र पुरस्कारसमेत ग्रहण गर्नुभएको छ ।
कञ्चन पुडासैनी
उहाँ पिता चन्द्रशेखर पुडासैनी र माता विष्णुमाया पुडासैनीको पुत्रको रूपमा १९९५ सालमा काठमाडौंको गोठाटारमा जन्मनुभएको हो । बाल्यकालमा रामकृष्ण पुडासैनीको नामले साहित्यिक क्षेत्रमा कलम चलाउनुभएका उहाँ पछि कञ्चन पुडासैनीको नामले परिचित हुनुभयो । उहाँ नेपाली, संस्कृत, हिन्दी र अंग्रेजीलगायतका भाषामा स्वध्ययन गर्दै निरन्तर साहित्य तथा समाजसेवामा सक्रिय हुनुभयो ।
एक समय महाकबि देवकोटाको सानिध्य प्राप्त गर्नुभएका पुडासैनीले २०२० देखि २०६० सालसम्म अक्षरहरू, सम्भावना, प्रस्थान, कवितै–कविता चालीस पुकार, अनन्त आकाश, एकाउन्न पुकारलगायतका सातवटा कवितासंग्रह, प्रेम २०१२ देखि प्रत्यागमन २०४१ सम्म ६ वटा खण्डकाव्य, अधिकारी (२०२२) नाटक, स्मृतिको यात्राः मनका डोब (२०४५) निबन्धसंग्रह प्रकाशित गर्नुभएको छ । त्यस्तै, नारायणगोपाललगायत २५ गायक–गायिकाले गाएका ३१ भन्दा बढी प्रसारित गीतहरू, अधुरो उपन्यासः अधुरा इच्छा (२०६५), गीत र विवाह (गीतिसंग्रह), प्रेमी–प्रेमिकाको भागाभाग र नेताको भाषणः थानेदारको शासन गरी दुईवटा गीतिनाटक र केही सिर्जनाः केही समीक्षा (२०७१) समेत १९ भन्दा बढी कृति प्रकाशन गर्नुभएको छ । आस्थाको पुकारअन्तर्गत ३८ कविका कविताको सम्पादन, एकताका महानायक शीर्षकको (४६ कविका पृथ्वीनारायण शाहसम्बन्धी कविताहरू) कवितासंग्रहको सम्पादन तथा अंग्रेजीमा अनुवादसमेत गराउनुभएको छ । पुडासैनीले इमर्जिङ भ्वाइसेज र नेपाली भाषाका एक सय ३५ कविका दुई सय ५५ कविताको अनुवादसंग्रहको सम्पादन र प्रकाशन गर्नुभएको छ ।
उहाँका कविताले तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव २०२३ र २०२४ मा पुरस्कार प्राप्त गरेका थिए । उहाँले २०४१ सालमा मदन पुरस्कार पाउनुभएको थियो । त्यस्तै, छिन्नलता गीत पुरस्कार, देवकोटा काव्य सम्मान, महाकवि देवकोटा शताब्दी सम्मान, भानुभक्त पुरस्कार, हरि अभिनव विद्वत् प्रतिभा सम्मानलगायत १२ भन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ ।
साझा प्रकाशनको पूर्वअध्यक्ष र तत्कालीन नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञसभाको पूर्वसदस्यसमेत भएर जिम्मेवारी निर्वाह गर्नुभएको छ । उहाँले विष्णु–चन्द्र पुडासैनी वाङ्मय मन्दिरको स्थापना गरेर धेरैलाई सम्मानित पनि गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस