२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

हिमालबाट नाम जुरेको सिलिचोङ गाउँपालिका

भौगोलिक रूपमा विकट भए तापनि सामाजिक, सांस्कृतिक र रहनसहनले भरिपूर्ण यस गाउँपलिका वातावरणीय दृष्टिकोणले बसोवासका लागि उत्कृष्ट छ



  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या २२३
  • सिलिचोङ गाउँपालिका नेपालको कोशी प्रदेशअन्तर्गत संखुवासभा जिल्लामा रहेको छ । भौगोलिक हिसाबले विविधतायुक्त रहेको यो गाउँपालिका हिमाली भेगमा पर्दछ । यहाँको हावापानी मध्यमखालको रहेको छ । पर्यटकीय हिसाबले अन्यन्तै महत्व बोकेको यो क्षेत्र अन्यन्त सुन्दर एवं मनमोहक देखिन्छ ।

    यस गाउँपालिकाको दक्षिण सिमानामा अरुण नदी पर्दछ भने मुख्य नदीको रूपमा संखुवाखोला रहेको छ । यसका अलावा सिसुवा र नेवाखोला पनि रहेका छन् । पूर्ण भूभाग मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस पालिकाको उत्तरी सिमानामा चाम्लाङ, दिग्लिङ संखुवासिर र नौलेखजस्ता रमणीय हिमाल रहेका छन् । 

    यस गाउँपालिका क्षेत्रभित्र हिन्दु, बौद्ध, क्रिश्चियन र किराँत धर्मका मानिसको बसोवास रहेको छ । यस गाउँपालिका क्षेत्रभित्र दसैँ, तिहार, साउनेसंक्रान्ति, संसारीपूजा, ल्होसार, चाकचाकुर, उँधौली, उँभौली र आइतबारे पूजालगायतका चाडपर्वहरू मनाउने गरिन्छ । विविध चाडपर्वहरू यस क्षेत्रको परिचायक भए पनि मुख्य रूपमा कुलुङ, मेवाहाङ, थुलुङ, दुमी, चाम्लिङ, दाछिरिङ, खालिङ राईलगायत शेर्पा, तामाङ, विश्वकर्मा र दमाईं जातिहरूको बाहुल्य रहेको छ । यस क्षेत्रमा क्षेत्री र ब्राह्मण जातिहरू भने नगन्य रूपमा रहेका छन् । 

    नामकरण

    भौगोलिक रूपमा विकट भए तापनि सामाजिक–सांस्कृतिक रहनसहनले भरिपूर्ण यस गाउँपालिकाको तल्लो क्षेत्र वातावरणीय दृष्टिकोणले बसोवासका लागि सामान्य रहेको छ भने माथिल्लो क्षेत्रमा बसोवास गर्न कठिन छ । यस क्षेत्रमा पर्ने रमणीय सिलिचोङ हिमालको नामबाट यस गाउँपालिकाको नाम सिलिचोङ रहन गएको हो । 
    जिल्लाको सुदूरउत्तरका साविका सिसवाखोला, बाला, माङ्तेवा, ताम्कु र याफु गाविसहरूको संयोजन भई सिलिचोङ गाउँपालिका गठन भएको हो । भौगोलिक रूपमा विकट भए तापनि सामाजिक, सांस्कृतिक र रहनसहनले भरिपूर्ण यस गाउँपलिका वातावरणीय दृष्टिकोणले बसोवासका लागि उत्कृष्ट रहेको छ । 

    पर्यटकीय क्षेत्रहरू

    यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक सबै हिसाबले पर्याप्त सम्भावना रहेको स्थानीय तह हो । यहाँका मेरापिक पदमार्ग, न्युसिरी पर्यटक स्थल, बाला, चित्रेगुम्बा, नागीटार, रमितेडाँडा, दोबाटोगुफा, साइसीमा भ्याली, चोंग्रे, सोह्रसय धाम, अरुण भ्याली, वावाप्ती पोखरी, खेम्पालुङ गुफालगायतका स्थानमा पर्यटकीय सम्भावना रहेको छ । 

    सबल पक्ष

    यो गाउँपालिका संखुवासभा जिल्लाको आर्थिक समृद्धि बोकेको सम्भावनायुक्त गाउँपालिकामध्ये एक हो । यस क्षेत्रको जडीबुटी तथा वन–पैदावारको संकलन र प्रशोधन गरी प्रसस्त मात्रामा आयआर्जज गर्न सकिने अवस्था रहेको छ । भौगोलिक विकटता यसको पर्याय रहे तापनि पर्याप्त जलस्रोत, जैविक विविधता, पर्या–पर्यटनको सम्भावना, पूर्वाधार विकासमा तीव्रता, विकासमा जनचासो अभिवृद्धि, कृषि तथा वनजन्य उत्पादन र प्रशोधन एवं बजार विस्तारको सम्भावनालगायत गाउँपालिकाको सबल पक्ष हो । 

    अवसर

    सिलिचोङ गाउँपालिका खुइसी मन्दिर, न्यु रिरी पोखरी, नीलगुफा, खेम्पालुङ गुफा, गोवित्ताधामलगायतका धार्मिक क्षेत्र तथा कालपोखरी, एक्लेपोखरी, चीनपोखरी, वावाप्ती पोखरी, सोह्रसय साल्पाधाम, नागीटारजस्ता क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने अवसर छ । त्यस्तै, रुद्राक्ष, अलैँची, सुन्तला, चिराइतो, यार्चागुम्बा, सतुवा, पाखनवेद, ठूलो ओखती, अल्लो, अदुवा, अम्लिसो, लोक्ता, अर्गेली, लप्सी, कुरिलो, मजितो, इन्द्रेणी, चाँबो र पिप्ला खेतीलाई व्यावसायिक रूप दिई आयआर्जन गर्न सक्ने अवसर रहेको छ । दुर्लभ वन्यजन्तु जस्तैः काँडेभ्याकुरको संरक्षण तथा रेडपाण्डा, हिमाली भालुको संरक्षण गरी पर्यटनको प्रवद्र्धन गर्न सक्ने अवसर रहेको छ ।