काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र सुधार गर्न सोचेजस्तो असहज नभएको बताउनुभएको छ । उद्योग वाणिज्य दिवस एवं नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ साधारणसभामा अध्यक्ष ढकालले राजनीतिक नेतृत्व र निजी क्षेत्रले सकारात्मक सोचका साथ गर्ने साना, तर सकारात्मक प्रयासहरूले पनि ठूलो प्रतिफल दिने बताउनुभएको हो ।
आफू व्यक्तिगत रूपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रूपमा हेर्ने व्यक्ति भएको र सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग नगर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी आफैँमा सम्पन्न र सक्षम छौँ । हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरू कुनै बाहिरी प्रभावभन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति–परिस्थिति सुहाउँदो हुनुपर्छ ।’
छरिएर रहेको सानो बचत कम्पनीमा लगानी गर्न मिल्ने गरी महासंघको पहलमा लगानी कम्पनी स्थापना गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । स्थापना हुने कम्पनी महासंघको नभई सबै व्यवसायीलाई जोडेर सुरुमा सहजीकरण गर्ने मात्र रहेको र स्वतन्त्र रूपमा सञ्चालन हुने उहाँको भनाइ थियो ।
देशको अर्थतन्त्र धेरै अघिदेखि रेमिट्यान्सले थेगेको भन्दै उहाँले अब सधैँ यो सम्भव नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘निर्यात, लगानी, सहायता सबै कम हुँदा पनि बाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्ने आधार बनेको दशकौँ भइसकेको त हामीलाई विदितै छ । रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्यून हुन्छ । विगतमा बढ्दो रेमिट्यान्सले माग बढाउँदा सरकारको राजस्व पनि बढेको थियो । अहिले, राजस्व अपेक्षित रूपमा बढ्न सकेको छैन । न्यून पुँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ ।’
नेपाली युवाहरूका सपना खाडीमा खेर जान नदिई उनीहरूलाई मोहरलाई रुपैयाँ बनाउने अवसर प्रदान गर्नुपर्ने अध्यक्ष ढकालले बताउनुभयो । उहाँले जोड दिनुभयो, ‘रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भूकम्पपछि कसरी उठ्यौँ ? अनि कोभिडपछि कसरी तंग्रियौँ ? यी दुःखबाट पनि हामीले प्रेरणा लिन सक्छौँ । देशको निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।’
भुक्तानी सन्तुलन र चालू खातासमेत बचतमा हुँदा सकारात्मक सन्देश जानुपर्नेमा यसै अवधिमा १ खर्ब रुपैयाँको निर्यात हुँदा ८० अर्ब रुपैयाँ विद्यार्थी विदेश जाँदा बाहिरिएको बताउनुभयो । नेपाल विश्व व्यापार संगठनको सदस्य बनेयता निर्यात ३ गुणासम्म बढे पनि आयात १० गुणा बढेको उहाँको भनाइ थियो ।
वैदेशिक अनुदान निरन्तर घट्दो र वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झन्डै दोब्बर भएको हुनाले आन्तरिक स्रोत बढाउन नसकेमा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको ढकालले बताउनुभयो । करिब २ वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या बल्झिँदै गएको उहाँले ठोकुवा गर्नुभयो । निजी क्षेत्रले अर्थतन्त्रका रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गर्दा पनि राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा अवस्था जटिल बन्दै गएको उहाँको गुनासो थियो ।
अध्यक्ष ढकालले प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै भन्नुभयो, ‘यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेस हुँदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् । साना उद्यमीको सहुलियतपूर्ण कर्जा रोकिएको छ । निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । न्यून पँुजीगत खर्च भइरहेको छ । यस्तो अवस्थामा उत्पादन बढाउने र बजारमा रकम प्रवाह गर्ने उपायको खोजी गरिनुपर्छ । सेवा निर्यातको सम्भावना देखिएकाले त्यसतर्पm पनि हाम्रा नीतिहरू निर्देशित हुनुपर्छ । राजस्व कम भएकाले अनावश्यक अनुगमनका कारण व्यवसायी समस्यामा छन् । सबै मिलेर यही वातावरण निर्माण गरौँ र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔँ भनेर सभामै पाँचबुँदे प्रतिबद्धतापत्र पेस गरेका छौँ । यसमा हामी यहाँहरूको प्रतिबद्धताको अपेक्षा गरेका छौँ ।’
महासंघले राख्दै आएको द्विपक्षीय लगानी सम्झौता बिआइएको खाका मन्त्रिपरिषद्बाट पारित भएकोमा खुसी व्यक्त गर्दै उहाँले छिट्टै महासंघले सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस