कास्की/ गुल्मीबाट पढ्नका लागि पोखरा आउनुभएकी दृष्टिविहीन रिता ज्ञवाली सेतोछडी लिएर फटाफट आफ्नो बाटो हिँड्न सक्नुहुन्छ । ठाउँठाउँमा बाटो सोध्दै हिँड्नुपर्ने, बाटो पार गराइदिन आग्रह गर्नुपर्नेलगायतका समस्याबाट उहाँ मुक्त हुनुभएको छ ।
‘पहिलादेखि नै हामीलाई सेतोछडी लिएर हिँड्ने बानी पर्योे । त्यसरी हिँड्दा बाटो देखाइदिन ठाउँठाउँमा सोध्नुपथ्र्यो, त्यसबेला नबोल्ने, बाटो कटाइदिन आग्रह गर्दा वास्ता नगर्ने, कहिलेकाहीँ त ‘ह्यारेसमेन्ट’ पनि झेल्नुपरेको थियो,’ उहाँले भन्नुभयो, ‘प्रविधि हाम्रा लागि पनि बनेको छ । हामीले चलाउन जान्ने हो भने समस्या आफैँ समाधान हुन्छ । प्रविधिमा पहुँचयुक्त गमनशीलता र तालिममा सिकेको सीपले हामीलाई सहज भएको छ ।’
रिताजस्तै अरू दृष्टिविहीन पनि अबका दिनमा अरूको सहाराबिना हिँडडुल गर्नेमा विश्वस्त हुनुहुन्छ । उहाँहरूका लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की नेत्रहीन सङ्घले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम दिएको छ ।
तालिममा भाग लिनुभएकी दृष्टिविहीन रोजिना घिमिरेले पनि तालिम निकै फलदायी भएको बताउनुभयो । ‘हामीलाई आवश्यकताले सञ्जाल चिनाएको छ । सञ्जालले सञ्चार चिनाएको छ र सञ्चारले संसार चिनाएको छ,’ रोजिनाले भन्नुभयो, ‘प्रविधिले अपांगता भएका व्यक्तिलाई सहज बनाउँदै हाम्रा लागि त असम्भवलाई सम्भव बनाएको छ । दृष्टिविहीनलाई यसले दृष्टियुक्त बनाउन मद्दत गरेको छ ।’
गुगल नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ, बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा सहज भएको रोजिनाले बताउनुभयो । मोबाइल भएपछि सहयोगी आवश्यक नपर्ने अनुभव उहाँले संगालिसक्नुभएको छ ।
तालिमका प्रशिक्षक तथा राष्ट्रिय अपांग महासंघ, गण्डकीका अध्यक्ष खोमराज शर्माले तालिममा दृष्टिविहीनलाई ‘गुगल म्याप’सँगै ई–सेवा, इन्ड्राइभ, पठाओजस्ता ‘एप्लिकेसन’ चलाउन पनि सिकाइएको जानकारी दिनुभयो । यसले उनीहरूको दैनिकीमा सहयोग पुगेको उहाँको भनाइ छ ।
प्रविधिको अधिकतम प्रयोग गर्न सके दृष्टिविहीनतालाई अवसरका रूपमा लिन सकिने उहाँले बताउनुभयो । प्रशिक्षक शर्माले भन्नुभयो, ‘अझै पनि एप चलाउँदा विभिन्न समस्या त छन् नै, यसको समाधान न हाम्रो सरकारलाई थाहा छ न एप्लिकेसन डेभलपरलाई थाहा छ । यो चुनौती चिर्न स्थानीय, प्रदेश र संघ सरकारले लगानी गर्न जरुरी छ ।’
कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले संघले दृष्टिविहीनका लागि विभिन्न कार्यक्रम र तालिम गरिरहेको बताउनुभयो । ‘हामीले नेपालमै पहिलोपटक सेतोछडी प्रयोग गरेर कसले राम्रोसँग हिँड्न सक्छ भनेर गमनशीलता प्रतियोगिता गर्यौँ । त्यसपछि सेतोछडी लिएर हिँड्न गमनशीलता तालिम पनि दियौँ,’ अध्यक्ष सापकोटाले भन्नुभयो, ‘अब नयाँ ढंगले जाऊँ भनेर अहिले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम आयोजना गरेका हौँ ।’
कास्कीमा १ हजार ५ सयको हाराहारीमा दृष्टिविहीन रहेको कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिनुभयो । जस मध्ये संघमा १ सय ५० जना आबद्ध रहेको र प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा २४ जना सहभागी भएको उहाँले जानकारी दिनुभयो ।
रासस
प्रतिक्रिया दिनुहोस