७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

गर्मीयामको प्रिय ‘कोल्ड ड्रिंक्स’ कति स्वस्थकर ?

बिहान उठ्नेबित्तिकै चिनी नहालेको कागती चिया खान्छु । दालमा मिलाएर खान्छु । यसैले मैले कहिले पनि भिटामिन ‘सी’को गोली खान परेको छैन ।



  • आफ्नै खबर
  • ४ हप्ता अघि
  • पाठक संख्या १०९
  • गर्मीयाम सुरु भएसँगै तिर्खा मेट्नका लागि विभिन्न चिसो पेयपदार्थ (कोल्ड ड्रिंक्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिस स्वस्थकर तथा पोषिला स्थानीय पेयपदार्थको सट्टा बजारिया पेयपदार्थको स्वादमा लट्ठ पारिरहेका छन् । मानिस ले दुध, दहीजस्ता पोषिला पेयपदार्थ बेचेर विभिन्न ब्रान्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ । चिसो पेयपदार्थहरू सहरमा मात्र नभई गाउँघरमा पनि छ्यापछ्याप्ती पाइन्छ । यस्ता वस्तुहरू अहिले शान, मान र सगुनका सामग्री नै बनिसकेको देखिन्छ । यी पेयपदार्थहरूले मोही, सर्वतजस्ता नेपाली शैलीका कैयौँ पेयपदार्थलाई विस्थापन गर्दै लगिरहेका छन् ।

    अति गुलिया र रसायन मिसिएका यी पदार्थका कारण भविष्यमा उपभोक्ताले दाँत, पेट, हाडजोर्नीलगायत शरीरका अन्य अंगहरूमा लाग्ने रोगको सामना गर्नुपर्ने अवस्था आउँछ । यी पेयपदार्थहरूले मोटोपनको समस्या निम्त्याउँछ । जतिजति यी पेयहरूको उपभोग बढ्दै जान्छ, त्यति नै तिनीहरूको सेवनबाट हुने स्वास्थ्य समस्याहरू पनि थपिँदै गएको छ । तर, उपभोक्ताले आफूलाई भएको स्वास्थ्य समस्याको कारण खुट्याउन सकिरहेका हुँदैनन् ।

    जहाँ दुधका पाकेट र औषधिहरू पनि पुग्न सकेका छैनन्, त्यहाँ पेयपदार्थ सहजै पुगिरहेका छन् । यी वस्तुहरूको तडकभडकयुक्त प्रचारप्रसार र पहुँचका कारण दुर्गम ग्रामीण क्षेत्रका मानिसले पनि अहिले यी वस्तुहरूलाई फेसन र आधुनिकताको प्रतीकका रूपमा स्वीकार गरिरहेका छन् । अधिकांश उपभोक्तालाई ती चिसो झोलमा भएका तत्वहरू र तिनीहरूले शरीरलाई पार्ने हानिबारे कुनै जानकारी नै भएको हुँदैन । वास्तवमा यी पेयपदार्थहरू रङ, बास्ना, गुलियो, अमिलो स्वाद घोलेर फिँज उठ्ने बनाई आकर्षक बोतलमा बन्द गरेर मनमोहक देखिए पनि यी धेरै महँगा र हानिकारक हुन्छन् ।

    सायदै कुनै स्वास्थ्यकर्मीले कागतीको रस भोजनसँग मिसाएर खानु भन्ने गर्छन् । मासको वा कुनै दालसँग कागतीको रस वा गोलभेँडाको अचार खाँदा दालमा रहेको लौहतत्व राम्रोसँग सोसिन्छ ।

    यस्ता चिसो पेयमा चिनीको मात्र अति नै बढी हुन्छ । भविष्यमा विभिन्न स्वास्थ्य समस्याका कारण पनि बन्न सक्छन् । ती तत्वहरूले मानिसको हाड कमजोर हुने, शरीर मोटो पार्ने, दाँत खियाउने र क्यान्सरजस्ता रोगहरू लगाउन सक्छन् । अमेरिकन डायबिटिज एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसनले चिनी भएको सोडाको हाल भइरहेको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायबिटिज एसोसिएसनले डायबिटिज भइसकेको छ वा हुने जोखिम छ भने पिउनका लागि पानी, बिनाचिनीको चिया, कफी वा अरू कुनै कम क्यालोरी भएको पेयपदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ ।

    विज्ञापनको पछि दौडँदा
    रेडियो, टेलिभिजन र ठाउँठाउँमा राखिएका विज्ञापन बोर्डहरूमा गरिएका भ्रम पार्ने विज्ञापनहरूका कारण उनीहरू त्यस्ता पेयले आपूmलाई राम्रै गरिरहेको होला भन्ने विश्वासमा हुन्छन् । यसरी पिउँदापिउँदै कतिपयलाई त नसालु पदार्थजस्तै लत नै लागिसकेको हुन्छ । प्रसिद्ध खेलाडीले आफ्नो सफलतापछि विभिन्न ब्राण्डका पेयपदार्थ घ्वाटघ्वाट पिएर आनन्द लिएको देखाउने टेलिभिजनको आकर्षक विज्ञापनले युवायुवतीलाई हरेक खुसीमा यसै गर्न प्रेरित गरिरहेको हुन्छ । अर्धनग्न नर्तकीले डान्सबार वा डिस्को थेकमा पसिना पुछ्दै बोतलबाट हल्का पेय पिइरहेको देखेपछि यो पिउनैपर्ने पेयपदार्थ रहेछ भन्ने युवा मस्तिष्कमा छाप बस्छ । वास्तवमा उपभोक्तालाई आकर्षित गर्ने यस्ता चिसो पेयको विज्ञापनले धेरैलाई झुक्याइरहेको छ । 

    कोल्ड ड्रिंक्समा हुने हानिकारक तत्वहरू 
    यी पेयहरूमा एकक्षणका लागि मात्र स्फूर्ति दिने र लत बसाउने तत्वहरू पनि हुन्छन् । ती तत्वहरूले हाम्रो स्वास्थ्यमा दीर्घकालीन रूपमा विभिन्न असरहरू पार्छन् । केटाकेटीहरूलाई यस्तो पेयपदार्थ दिँदा यी झोलहरूमा हुने चिनीले मोटो बनाउँछ । चिसो झोलमा फोस्फोरिक अम्ल धेरै मात्रामा हुन्छ र यस अम्लले केटाकेटीको हाडलाई कमजोर पार्छ । 

    यस्ता पेयमा पाइने क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो । यसले कृत्रिम रूपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगति बढाउँछ । यस्तो उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको र थकाइ मेटिएको अनुभव हुन्छ । तर, यस्तो अवस्था क्षणिक हुन्छ । यति मात्र होइन, चिसो पेयपदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन् । 

    चिसो पेयहरूलाई ताजा राख्न र स्वादिलो बनाउन साइटिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक र टारटारिक अम्लहरू राख्ने गरिन्छ । यी अम्लहरूले झोललाई सड्नबाट रोक्दछन् र मिठासलाई सन्तुलनमा राख्ने मद्दत गर्छ । अम्लहरूको कारणले नै चिसो पेय पिउँदा तिर्खा मेटिएको महसुस हुन्छ । चिसो पेय पिउँदा माथि तैरिएका फोका तथा फिँजले नै आनन्द दिन्छ । यी फोका र फिँज फोस्फोरिक अम्ल र कार्बनडाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्दछन् । यी तत्वहरूका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ । फोस्फोरिक अम्ललाई क्रोम धातुको खिया र मोटरको ब्याट्री सफा गर्न प्रयोग गरिन्छ । यो कुराले नै यो अम्ल निकै पोल्ने खालको छ भन्ने स्पष्ट गर्दछ । धातुको खिया पखाल्ने अम्लले हाम्रो शरीरको मासुलाई सजिलै पोल्न सक्दछ । 

    विकल्पमा कागती पानी 
    गर्मीयाममा तिर्खा मेट्नका लागि वर्षैभरि पाइने कागती गर्मी वा जाडो जुनसुकै बेलामा, तातो वा चिसो जे पदार्थमा मिलाएर खान सकिन्छ । स्वाद र स्वास्थ्यका दृष्टिकोणले पनि यो अति राम्रो तत्व हो । म व्यक्तिगत रूपमा कागतीलाई ‘औषधिको डल्लो’ भन्छु । बिहान उठ्नेबित्तिकै चिनी नहालेको कागती चिया खान्छु । दालमा मिलाएर खान्छु । यसैले मैले कहिले पनि भिटामिन ‘सी’को गोली त खानै परेको छैन । कागतीमा पाइने एउटा महत्वपूर्ण तत्व हो भिटामिन ‘सी’ । विज्ञानले पुष्टि गरेको छ कि भिटामिन ‘सी’ले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । 

    हाम्रो भान्छामा खाइने अचार पनि भिटामीन ‘सी’ले युक्त हुन्छ । गर्मी सुरु हुने बेलामा पर्ने अक्षयतृतीया तिथिमा कागतीको सर्वत र जौको सातु खान दिने हाम्रा पुर्खाहरूले चलाएका चलन पनि कागतीको महत्व बुझेर नै होला । गर्मीको बेलामा कागतीसँग सातु पिउँदा पेट भरिन्छ र गर्मीको बेलामा हुने विभिन्न पेटको गडबडीबाट बच्न सकिन्छ । गर्मीमा शरीरलाई चाहिने ऊर्जा पनि पर्याप्त हुन्छ । सातु र कागती सर्वत पिउने प्रचलन हराउँदै गएर आजभोलि त अक्षयतृतीयाको दिनदेखि जन्मदिनमा पनि प्याकेटका फलफूलको महँगो, तर स्वास्थ्यलाई हानि गर्ने फलफूलको नक्कली रस, चिसो पेयपदार्थहरू खाइन्छ । यसले नेपाली संस्कृतिलाई नष्ट गर्छ, स्वास्थ्य नष्ट गर्छ, पैसा नष्ट गर्छ । यस्तो चलन कम गर्न नक्कली रसको सट्टा कागतीको रस प्रयोग गर्न सकिन्छ । 

    नेपालको प्रायः सबै ठाउँमा कागती फल्छ । विभिन्न प्रकारको कागतीको स्वाद भिन्दै भए पनि पौष्टिकता भने सबैमा हुन्छ । कागतीको महत्व कति छ भन्ने कुरा आयुर्वेद किताबमा लेखिएको छ, ‘कागती र अदुवा दिनदिनै खाने व्यक्तिको घरमा रोगले प्रवेश पाउँदैन ।’ 

    नेपालमा महिलाहरूलाई रगतको कमी भयो भनेर अनेक औषधि दिइन्छ । तर, कागतीमा रहेको भिटामिन ‘सी’ले भोजनमा रहेको लौह तत्वलाई शोषण गर्नमा मद्दत गर्छ भन्ने कुरा प्रचार भएको छैन । कतिपय स्वास्थ्यकर्मीले रक्तअल्पता भएका महिलालाई भिटामिन ‘सी’को चक्की दिएर खानासँग खानु भन्छन् । सायदै कुनै स्वास्थ्यकर्मीले कागतीको रस भोजनसँग मिसाएर खानु भन्ने गर्छन् । मासको वा कुनै दालसँग कागतीको रस वा गोलभेँडाको अचार खाँदा दालमा रहेको लौहतत्व राम्रोसँग सोसिन्छ । फलामको भाँडोमा पकाएको कुनै पनि दाल, तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवती महिलालाई रगतको कमीबाट रोक्न प्रोटिन प्राप्त हुन्छ । 

    शरीरको अतिरिक्त क्रियाकलापहरूलाई सञ्चालन गर्न साइट्रिक एसिडको महत्व छ र कागतीमा यो सहजै पाइन्छ । आजकल कागतीको रस हालेर चिया, सर्वत खान वा पाहुनालाई सत्कार गर्ने चलन बढेको छ । गर्मीको बेलामा पनि स्वस्थकर कागतीको सर्वत दिन हामी हिचकिचाउनु पर्दैन । 

    यति मात्र होइन, कागतीको रसको प्रयोगले दाँतको गिजाबाट रगत बग्ने समस्यालाई कम गर्न पनि मद्दत गर्छ । त्यसैले, गर्भवतीलाई कागती खाने सल्लाह दिने चलन गाउँघरमा अझै पनि छ । रुघाखोकी लाग्दा कागतीपानी र मह खानुपर्छ भनेर धेरैले थाहा पाएका छन् । 

    नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानबाट गरिएको अनुसन्धानमा ‘कागतीको रसले हैजाको कीटाणु वृद्धि हुन रोक्छ’ भनेर पुष्टि भएको छ । तर, यो अनुसन्धानको व्यावहारिक प्रयोग हुन सकेको छैन । यसको बोक्राको उपयोगिताबारे पनि कमैलाई मात्र थाहा हुन सक्छ । केही अनुसन्धानले कागतीको बोक्राको नियमित प्रयोगले कब्जियतको समस्या समाधान गर्छ भनेर देखाएको छ । 

    कागतीसँगै गर्मीमा प्रयोग गर्नुपर्ने बाबरी वा पुदिना पनि हो । बाबरी (मधेशतिर पुदिना पनि भन्छन्) को अचार बनाएर खाने चलन त पहिलेदेखि नै हो । गर्मीको बेलामा त यो पानीमा हालेर खाए हुन्छ । जुन तरिकाले खाए पनि राम्रो गर्छ । बिरेनुन र कागती हाली पिसेर बनाइएका पुदिनाले खाना रुचाउनुका साथै पाचन प्रक्रियामा पनि सहयोग गर्दछ । पानीमा बाबरी र कागतीको टुक्रा भिजाएर राख्ने र त्यो पानी पिउनाले धेरै नै लाभ पुग्दछ । 

     

    रासस

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?