२  २०८२ शुक्रबार | 16 Jan 2026 Fri

देशभर विकराल बन्दै डढेलो, ५० जिल्लाका वन क्षेत्रमा फैलियो



  • आफ्नै खबर
  • १४  २०८१ शुक्रबार (२ बर्ष अघि)
  • पाठक संख्या २११
  • काठमाडाैं सुख्खायामसँगै लागेको डढेलोले विकराल रुप लिएको छ। वन तथा भू-संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ। अहिलेसम्म तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो। त्यसमध्ये ५९ डढेलोका घटना संरक्षित क्षेत्रमा भएको उहाँको भनाइ छ।

    ‘बिहीबारको तथ्याङ्कमा सबैभन्दा बढी प्रभावित जिल्ला प्यूठान देखिएको छ,’ वन अधिकृत श्रेष्ठले भन्नुभयो, ‘संरक्षण क्षेत्रअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बढी प्रभावित छन्।’ बिहीबार सात वटा संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको विभागले जनाएको छ। 

    डढेलोको क्षेत्रफल र वनमा पुगेको क्षति भने आकलन बाहिर छ। आगलागी र डढेलोका घटनामा परी ज्यानै जानेसम्मका घटना भएका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष डढेलोका घटना बढ्ने देखिएको विभागको भनाइ छ। 

    वर्षेनी औसतमा ४ हजार स्थानमा डढेलो लाग्ने गरेको पाइएको छ। ‘दुई वर्षअघि झण्डै ६ हजार स्थानमा डढेलोको प्रकोप देखिएको थियो, अहिले पनि डढेलो फैलँदो क्रममा छ,’ उहाँले भन्नुभयो, ‘वर्षा नभए जेठसम्मै डढेलोको जोखिम रहन्छ।’

    वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले फागुनदेखि जेठसम्म डढेलोको प्रकोप रहने बताउनु भयो। डढेलोले वन विनाश मात्रै नभई धनजनको समेत क्षति हुने गरेको उहाँको भनाइ छ।

    वनजङ्गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई समेत असर पारिरहेको उहाँले बताउनु भयो। मानवीय कारणले नै डढेलो लाग्ने गरेको उहाँको भनाइ छ।

    आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछन् भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यसले अनियन्त्रित भई डढेलोको रुप लिने गरेको उहाँको भनाइ छ। 

    डढेलोले माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तिने गरेको उहाँको भनाइ छ। डढेलोले भू–क्षय, बाढीजस्ता प्राकृतिक विपद्का घटना पनि बढाउने विभागको भनाइ छ।